बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वभन्दा निरीह कार्यकर्ता उत्पादन गर्ने कारखाना

बिहीबार, २८ साउन २०७८, ०९ : ५३
बिहीबार, २८ साउन २०७८

युवा समग्र जीवनको एउटा यस्तो उमेर अवस्था हो, जुन अवस्थामा व्यक्तिमा साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वास हुन्छ । युवाले यही उमेरमा आफ्नो फरक पहिचान निर्माण गर्न चाहन्छ । समाजमा आफूलाई अब्बल सावित गर्न संघर्षरत हुन्छ । युवा अवस्था मानव जीवनकै सर्वाधिक ऊर्जाशील समय हो ।

हरेक देशमा युवा नेतृत्वलाई समृद्धि र विकासको आधारका रुपमा व्याख्या गरिएको हुन्छ र हरेक परिवर्तनमा युवा आन्दोलन निर्णायक पनि भएको छ । तर, पनि राज्यको नीति निर्माणदेखि राज्य सञ्चालनसम्म युवाहरुको पहुँच, प्रतिनिधित्व र पहिचानको सवाल निकै कमजोर छ । नेपालको सन्दर्भमा पनि समृद्धि र विकासका लागि सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा युवाहरुको नेतृत्व आवश्यक भएको चर्चा हुने गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

कुन उमेर समूहलाई युवा भन्ने सन्दर्भमा सबैको एकमत छैन । विश्व श्रमिक सङ्गठनले १५–२९ वर्ष उमेर समूहका मानिसलाई युवा भनेको छ भने विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले १५–२४ वर्ष उमेर समूहलाई युवा भनेको छ ।

युवाको परिभाषा देशअनुसार फरक–फरक देखिन्छ । सार्क र अन्य देशको तुलनामा नेपालमा राष्ट्रिय युवा नीति २०६६ ले १६–४० वर्ष उमेर समूहलाई युवाका रुपमा परिभाषा गरेको छ, जुन अन्य देशको तुलनामा धेरै हो । तथ्याङ्कहरु हेर्दा भारतमा १५–३५, चीनमा १४–२८, बङ्गलादेश र फिलिपिन्समा १५–३०, हङ्गेरीमा १५–२९, जापान र जमैकामा १५–२४ वर्षलाई युवाको रुपमा परिभाषित गरिएको छ ।

सार्क र अन्य देशको तुलनामा नेपालको कुल जनसङ्ख्याको अधिकतम जनसङ्ख्या युवा उमेर समूहको भए पनि देशको विकास र समृद्धिमा परिचालन गर्न सकिएको छैन । गरिबी र आर्थिक पछौटेपनले गर्दा क्षमतावान युवाहरु युरोप र अमेरिकामा पलायन भइरहेका छन् भने सीप नभएका अशिक्षित युवाहरु ४० डिग्रीको तापक्रममा अत्यन्तै सस्तो मुल्यमा अरुको देश निर्माणमा श्रम गरिरहेका छन् ।

नेपालमा भएका युवाहरु पनि दुर्व्यसन र कुलतमा फसिरहेका छन् । प्रत्येक दिन हजारौंको सङ्ख्यामा युवाहरु रोजगारका लागि मुलुकबाट बाहिरिन्छन् भने दैनिक रुपमा कैयौँ बन्द बाकसमा फर्किएका छन् । बिडम्बना हाम्रो मुलुक तिनै प्रत्येक दिन बाहिरिने र बन्द बाकसमा भित्रिने सपनाहरुको रेमिट्यान्सले चलिरहेको छ ।

नेपालको शिक्षा देशका लागि योग्य नागरिक बनाउनु भन्दा पनि विदेशका लागि श्रमिक उत्पादन गर्ने कारखाना जस्तो भएको छ । नयाँ पुस्ताले नेपालमा सम्भावना नै देख्न छाडेका छन् । समृद्धिको सपना र उन्नति विदेशी भूमिमा पूरा गर्न परराष्ट्र मन्त्रालयमा राहदानीका लागि लाम लागिरहेका छन् । अहिले कतिपय गाउँ घरमा कसैको मृत्यु हुँदा काजक्रिया गर्ने सन्तानसमेत नभएको अवस्था छ । छोराछोरीको साथको अभावमा अन्तिम श्वास फेरेका बाबुआमा मृत्युपश्चात सन्तानको पर्खाइमा शवगृहमा राखिएका  तीतो सत्य हाम्रा सामु छन् ।

यसो हुनुको कारण उनीहरुले पाएको शैक्षिक प्रमाणपत्र र त्यसमा गरेको लगानी अनि उनीहरुले अपेक्षा गरेको काम र कमाइको सुनिश्चितता नहुनु हो । भनसुन, चाकडी र राम्राभन्दा पनि हाम्रा हुनेले अवसर पाउने र कथंकदाचित मिलेको रोजगारमा पनि प्रतिभा प्रस्फुटन हुने अवसर नहुने, कदर नहुने र आफ्नो पाखुराको सही मूल्याङ्कन नहुँदा निराशामा विदेशिनु परेको आजको युवाको यथार्थता हो । युवाहरुको धेरै सानो हिस्सामात्र उसको उर्जावान् समय राष्ट्र निर्माणमा लगाइरहेको यथार्थता हामी सबैमा छर्लङ्ग नै छ । 

यो नेपालका लागि सुभ संकेत पटक्कै होइन । देशमै उद्योगधन्दाको विकास गरी युवालाई उद्यमी बनाउने गरी ठोस कार्यक्रम बन्न नसक्नु, बनेका कार्यक्रम प्रभावकारी नहुनु निकै पीडादायी कुरा हो । राज्यको नेतृत्व गर्ने मान्छेले यो कुरालाई गम्भीर रुपमा मनन गर्नुपर्छ ।

नेपालमा २०६८ को जनगणनाअनुसार नेपालमा कुल जनसङ्ख्याको ४०.३४ प्रतिशत (१६–४० वर्ष) युवा छन् भने १५–२४ उमेर समूहका युवा कुल जनसङ्ख्याको १९.९६ प्रतिशत अथवा ५२ लाख ९० हजार देखिन्छ । कुल जनसङ्ख्याको करिब आधा युवाहरूको सङ्ख्या छ ।

जहाँ युवाको सङ्ख्या उल्लेख्य छ, त्यसलाई राष्ट्र विकासका लागि राम्रो सूचकाङ्कका रूपमा लिइन्छ । युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत तथा परिवर्तनका संवाहक हुन् ।

युवाको सहभागिता, युवा शक्तिको सकारात्मक प्रयोग र राष्ट्रिय आयमा योगदान दिनका लागि आजको दिनमा असल र सक्षम युवा नेतृत्वको खाँचो छ । संसारमै परीक्षण भइसकेको सत्य नयाँ सोच र सिर्जना भएका युवाहरुले मात्र समृद्ध मुलुकको सपना साकार पार्न सक्छन् भन्ने हो ।

युवा भविष्य मात्र होइन, वर्तमानको हिस्सेदार पनि हो । वर्तमानमा युवाको अस्तित्व स्वीकार गर्न नसक्नु भनेको युवालाई भविष्यकाे सपना देखाएर सधैं भूमिकाविहीन बनाउनु हो । युवाको क्षमताप्रतिको अविश्वास हो । त्यसैले नेपालमा पनि चाहे त्यो राजनीतिक होस् चाहे कमचारीतन्त्र वा सामाजिक क्षेत्रमा होस्, क्षमतावान र सृजनशील युवालाई नेतृत्व हस्तान्तरण गर्नु जरुरी छ । 

नेपालको सन्दर्भमा कुरा गर्दा बढी भन्दा बढी मात्रामा युवाहरु सधैं भर्याङ्ग भएको मात्र भान भएको छ । नेतृत्वभन्दा निरीह कार्यकर्ता उत्पादन गर्ने मनोविज्ञानले नयाँ पुस्तालाई माथि उक्लन दिएको छैन । वर्षौंदेखि सत्ताको स्वाद चाखिरहेका र राजनीतिलाई आफ्नो पैत्रिक सम्पत्तिजस्तो गरी उपयोग गरेका अनि गालामा चाउरी आउँदासम्म आफैंलाई युवा पिँढीमा राख्ने बानी परेका नेतृत्वले युवा पुस्तालाई यस म्यानका रुपमा आफ्नो तालमा नचाउन चाहेका छन् । उर्जाशील र नयाँ नेतृत्व निर्माणलाई कुनै पनि राजनीतिक पार्टीले एजेन्डा नै बनाउन चाहेका छैनन् ।

राजनीतिलाई सही दिशामा लैजान र देशले आर्थिक समृद्धि पाउनका लागि राजनीतिमा पनि रचनात्मक पाइला चाल्नुपर्छ । र, त्यो समय अनुसारको रचनात्मक पाइला चाल्नका लागि युवाहरु अगाडि बढ्नुपर्छ । युवाहरुले राजनीतिलाई आफ्नो करियर बनाउनुहुँदैन । राजनीतिलाई आफ्नो करियर बनाएका कारण नै देशमा भ्रष्टाचार र बेथिति बढेको हो । नेपालमा राजनीति आफ्नो र आफ्नाहरुको काम बनाउन र समाजमा प्रतिष्ठित बनी हैकम जमाउने लाइसेन्सजस्तो भएको छ । यसलाई कमाइ खाने र जीवन धान्ने बाटो नबनाई समाजसेवा बनाइनुपर्छ  । राजनीति समाज परिवर्तनको आधार बन्नुपर्छ भन्ने अबका युवाले बुझ्नुपर्छ ।

नेपालमा मात्र नभएर संसारभर नै नेपालजस्तै विकासोन्मुख राष्ट्रका युवाहरुको प्रमुख समस्या भनेको राजनीतिक रुपमा युवाहरुलाई क्रान्ति, आन्दोलन र परिर्वतनको अग्रमोर्चामा जोखिम मोल्न लगाउने तर आन्दोलन सफल भएपछि राज्यका निकायमा आउने अवसरमा पहुँच, प्रतिनिधित्व र पहिचान दिन नखोज्ने प्रवृत्ति छ । त्यसैले नेतृत्वको दास भएर बस्ने होइन, सङ्गठितरुपमा नेतृत्वलाई खबरदारी गर्नुपर्छ ।

विकास र समृद्धिका लागि प्रशस्त सम्भावना र स्रोत साधन हुँदाहुँदै पनि हरेक क्षेत्रमा नेतृत्वको कमजोरीले हामी पछि परिरहेका छौं । पेन्सन खाने उमेर भएकाले स–सम्मान बिदा हुने र नयाँ युवा पुस्तालाई नेतृत्व दिने बेला भइसकेको छ । सुगा रटान गरेर मात्र समृद्धि प्राप्त हुँदैन । समृद्ध नेपालको पूर्वशर्त भनेकै नयाँ सोच, उर्जाशील र क्रियाशील नेतृत्व हो ।

पछिल्लो समय नेपाल सरकारले राष्ट्रिय युवा नीति २०७२ र युथ भिजन २०२५ जारी गर्दै युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति र राष्ट्र निर्माणको प्रमुख स्रोत मानेको छ । नेपालको संविधान २०७२ ले पनि हरेक परिर्वतनमा युवाहरुको नेतृत्वदायी भूमिका रहेको उल्लेख गरेको छ । युवाहरुलाई स्वदेशमै उद्यम र रोजगारको  वातावरण बनाउने भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि युवा स्वरोजगार कोष, युवा किसान कार्यक्रमलगायत धेरै योजना बनेका छन् । तर, प्रभावकारी हुन सकेको छैन । यद्यपि यी प्रयासलाई सकारात्मक रुपमा लिनुपर्छ ।

युवाका यी र यस्तै विषयलाई सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४ औं  साधारण सभाले हरेक वर्षको अगष्ट १२ का दिनलाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । तत्पश्चात सन २००० देखि संसारभर प्रत्येक वर्ष अगष्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिएको छ ।

नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । दिवसलाई औपचारिक कार्यक्रममा मात्रै सीमित नराखी यसको लक्ष्य र उद्देश्यले सार्थकता पाउनु जरुरी छ । हरेक वर्ष अन्तराष्ट्रिय युवा दिवस मनाइरहँदा यसबाट युवा नेतृत्वलाई प्रोत्साहन पुगोस् युवामा थप सकारात्मक उर्जा थपियोस् । शुभकामना सबैमा । जय युवा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीमा बन
सीमा बन
लेखकबाट थप