मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

‘देउवा मनपर्छ’ भन्ने भिडियोको पक्षमा बोलेको छैन : प्रकाशशरण महत

शुक्रबार, २९ साउन २०७८, १० : ०८
शुक्रबार, २९ साउन २०७८

नेपाली काँग्रेसमा सह महामन्त्री डा. प्रकाशशरण महतले ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा आफूले नबोलेको स्पट पारेका छन् । आफूले बोल्दै नबोलेको विषयमा प्रचारबाजी भएको महतको गुनासो छ ।

शुक्रबार एक संक्षिप्त विज्ञप्ति जारी गर्दै सह महामन्त्री महतले भने, ‘मैले ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोको पक्षमा बोल्यो भन्दै नभनेको कुरा सञ्चार माध्यममा एकपछि अर्को गरी सुनियोजितरुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियोमा प्रस्तुत तथ्य र तरिकाप्रति महतले असन्तुष्टि जनाएका छन् ।  उनले भनेका छन्, ‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरूलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधार सहित परिपक्व  र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ ।’

प्रधानमन्त्री वा उहाँका सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरुले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने महत बताउँछन् ।

‘त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ’ महत अगाडि भन्छन्, ‘नेतृत्व तहबाट कुनै कमी कमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ । त्यसले काम नगरे मात्र संस्थागत र सार्वजनिकरुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु ।’

तर, छलफलका क्रममा भन्दै नभनेको कुरालाई तोडमोड गरेर सञ्चार माध्यममा त्यहीँभित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सह महामन्त्री महतले बताएका छन् ।

सामाजिक सञ्जालमा ‘शेरबहादुर देउवा किन मलाई मन पर्छ’ भन्ने भिडियो क्लिपहरू भाइरल भएपछि यसबारे काँग्रेस नेताहरू पनि तरङ्गित बनेका छन् । देउवाको प्रशंसामा बनाइएको त्यस्तो भिडियोप्रति आलोचना भइरहेका बेला काँग्रेस सह महामन्त्री महतले विज्ञप्ति नै जारी गरेर स्पष्टीकरण दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप