बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कारका घटना : प्रदेश १ सबैभन्दा अगाडि

यस्तो छ, विगत ४ वर्षमा भएका बलात्कारका घटनाको तथ्यांक
शनिबार, ३० साउन २०७८, १४ : १८
शनिबार, ३० साउन २०७८

जबरजस्ती करणी अपराधमा प्रदेश नम्बर १ सबैभन्दा अगाडि देखिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–७८ मा प्रदेश नम्बर १ मा ६०२ वटा जबरजस्ती करणीका उजुरी दर्ता भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार गत आर्थिक वर्षमा देशभर २ हजार ५३२ वटा जबरजस्ती करणीका घटना हुँदा प्रदेश नम्बर १ मा मात्रै ६०२ वटा घटना भएका छन् ।

जबरजस्ती करणी उद्योग (करणी प्रयास) मा पनि प्रदेश नम्बर १ नै अगाडि देखिएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर १ मा १६८ वटा जबरजस्ती करणी उद्योगका उजुरी दर्ता भएका छन् । प्रत्येक वर्ष बढ्दै गएको बलात्कार र जबरजस्ती करणी उद्योगका उजुरी एवं मुद्दामा प्रत्येक वर्ष प्रदेश नम्बर १ मा यस्ता घटना बढी हुने गरेको पाइएको छ । गत आर्थिक वर्षमा प्रदेश नम्बर २ मा जबरजस्ती करणीका ३७५ र जबरजस्ती करणी उद्योगका ११५ वटा घटना प्रहरीकोमा आएका छन् ।

त्यसैगरी बागमती प्रदेशमा गत आर्थिक वर्षमा ३ सयवटा जबरजस्ती करणीका घटना प्रहरीको जानकारीमा आएको छ भने ८८ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । वागमती प्रदेशमै पर्ने काठमाडौं, भक्तपुर र ललितपुर गरी उपत्यकामा गत आर्थिक वर्षमा २२७ वटा बलात्कारका घटना भएका छन् भने ४० वटा जबरजस्ती करणी उद्योगको घटना भएको प्रहरीले जनाएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा गण्डकी प्रदेशमा २०९ वटा बलात्कारका घटना भएका छन् भने ५६ वटा करणीका प्रयास भएका छन् । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेशमा ४३८ वटा जबरजस्ती करणीका घटना भएका छन् भने १३४ वटा जबरजस्ती करणी प्रयास भएको घटना प्रहरीको जानकारीमा आएको छ ।

त्यस्तै कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा १५५ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ४६ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्षमा २२६ वटा जबरजस्ती करणीका घटना भएका छन् भने ८९ वटा जबरजस्ती करणी उद्योगका घटना भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप