शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिममा राष्ट्रिय जनमोर्चा फुट्यो, प्रदेशस्तरका दुईवटा कमिटी गठन

बुधबार, ०९ भदौ २०७८, २१ : २७
बुधबार, ०९ भदौ २०७८

सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय जनमोर्चा पार्टीका दुई कमिटी गठन भएसँगै आन्तरिक विवाद चुलिएको छ । प्रदेशमा पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज लालबहादुर जाग्रीको अध्यक्षतामा दुई दिने भेला गरी लोकेन्द्र लम्सालको अध्यक्षतामा प्रदेशस्तरीय कमिटी पुनर्गठन गरिएको छ ।

केही महिना अघि केन्द्रीय समितिले प्रदेशमा नन्दराज भट्टको अध्यक्षतामा २१ सदस्यीय प्रदेश कमिटी गठन गरेको थियो । सो कमिटीमा रहेका अध्यक्ष भट्टबाहेक सबै पदाधिकारी तथा कार्यकर्ता भेला भई प्रदेश कमिटी पुनर्गठन गरिएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइएको छ । नयाँ कमिटीको उपाध्यक्षमा तिलक परियार, सचिवमा लछिराम आचार्य, सहसचिवमा हुकुमसिंह साउद, कोषाध्यक्षमा केशवनाथ योगी छन् ।

यस्तै, सदस्यहरूमा महेश जोशी, धनबहादुर बोहरा, प्रकाश ऐर, नरेश झुकाल, कृष्ण विक, विक्रम विश्वकर्मा, गोरबहादुर विक, निरु विक, सुरेन्द्र चौधरी, हरि शर्मा, हरिप्रसाद भट्टराई, मानबहादुर खड्का, रमेश नागरी, डब्बल तिरुवा, उमेश कडेल, हेमविक्रमचन्द र लालबहादुर जाग्री छन् ।

उक्त कमिटीको सल्लाहकार समितिमा जयराज भण्डारी, शंकर शोव, सिद्धसिंह विक, कृष्ण पण्डित, पदम साउद, उद्धव ऐर छन् । सो कमिटीको बैठकले प्रदेशका सबै जिल्ला कमिटी पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ । बैठकले कञ्चनपुरका जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य रामबहादुर कार्कीलाई अनुशासनको कारबाही गरी पदबाट हटाउनका साथै गोविन्द विकलाई संयोजक तोकेको अध्यक्ष लम्सालले बताए ।

‘हामी पार्टीको विधान र कानुनी व्यवस्था अनुसार प्रदेश समितिको भेलाबाट निर्वाचित गरेका हौं । हाम्रो पक्षमा पार्टीका ९० प्रतिशत कार्यकर्ताको सहमति छ,’ उनले भने, ‘केन्द्रीय कमिटीको निर्णयभन्दा पनि कार्यकर्ताको मतको कदर गर्नुपर्छ ।’

उनले प्रदेशमा रहेका पार्टीका विभिन्न जनवर्गीय समितिका पदाधिकारीहरु आफ्नो अध्यक्षतामा गठन भएको कमिटीको पक्षमा रहेको दाबीसमेत गरे । प्रदेश अध्यक्ष नन्दराज भट्टले भने दुई दिने भेला गरेर गठन गरिएको कमिटी वैधानिक नभएको बताए । ‘केन्द्रीय कार्यसमितिले मेरो अध्यक्षतामा रहेको कमिटीलाई कार्यकारी समिति भनेको छ,’ उनले भने, ‘अहिले गठन गरेको कार्यसमिति अवैधानिक हो ।’

प्रदेश कमिटी पुनर्गठन भएपछि पार्टीका महासचिव मनोज भट्टले बुधबार नै प्रेस विज्ञप्ति जारी गर्दै प्रदेशस्तरीय भेला पार्टीको निर्णयबाट नगरिएको प्रस्ट पारेका छन् । ‘२०७८ भाद्र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेश स्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव भट्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कथित प्रदेशस्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन । त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो ।’

उनले अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न पनि प्रदेशस्तरीय नेता, कार्यकर्तामा अपिल गरेका छन् । उनले सो भेला र समिति अवैध भएकोले खारेज गरिएको जानकारी दिए ।

कारबाहीमा परेकाहरुले कार्यकर्तालाई झुक्याए : अध्यक्ष भट्ट

केन्द्रीय समितिबाट तोकिएका राष्ट्रिय जनमोर्चाका सुदूरपश्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टले पार्टीले कारबाही गरेका व्यक्तिहरुले कार्यकर्तालाई झुक्याएर भेला गरेको आरोप लगाए । ‘हाम्रो पार्टीमा विवाद छैन । पार्टीको अनुशासन विपरीत काम गरिरहेका केही व्यक्तिलाई पार्टीले कारबाही गरेपछि कार्यकर्तालाई भ्रममा राखी भेला गरेका हुन्,’ उनले भने, ‘त्यो भेलालाई केन्द्रीय कमिटीले मान्यता दिएको छैन ।’

जनमोर्चाका महासचिव भट्टले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, '२०७८ भाद्र ९ गते धनगढीमा राष्ट्रिय जनमोर्चाको नामबाट गरिएको कथित प्रदेश स्तरीय भेलाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त कथित प्रदेश स्तरीय भेला पार्टीको निर्णयबाट गरिएको, भएको होइन र छैन । त्यसैले उक्त भेला र भेलाबाट गठित कमिटी अवैध हो । अवैध भेला र निर्माण गरिएको अवैध समितिको भ्रममा नपर्न सबै प्रदेश स्तरीय नेता, कार्यकर्ता तथा सम्पूर्ण शुभेच्छुकहरुमा हार्दिक अपील गर्दछु । साथै उक्त भेला र समिति अवैध भएकोले खारेज गरिएको छ ।'

फरक मत राखेकै कारण मलाई कारबाही गरियो : आचार्य

लामो समयदेखि जनमोर्चा पार्टीमा लागेका लक्षीराम आचार्यले आफूलाई फरक मत राखेकै कारण पार्टीले कारवाही गरेको गुनासो गरेका छन् । उनले आफूमाथि कारबाही भएकोमा विश्वास नै नलागेको पनि बताए ।

‘बुटवलमा भएको भेलामा मैले पार्टी गलत ढङ्गबाट अघि बढिरहेको भन्दै सुझावसहितको पत्र बुझाएको थिएँ,’ उनले भने, ‘मेरो त्यो फरक मतकै कारण पार्टीले मलाई कारबाही गर्छ भन्ने विश्वास थिएन ।’

उनले पार्टी सुदृढीकरण र पार्टीलाई बलियो बनाउन दिइएको सुझावको सम्मान हुनुको साटो उल्टै कारबाही गर्नु अनुचित भएको बताए । पार्टीभित्र फरक मतका आधारमा कार्यकर्तालाई जिम्मेवारी मुक्त गर्ने, घटुवा गर्ने, निलम्बन गर्ने, पार्टीबाट निस्कासन गरी शत्रुतापूर्ण व्यवहार गर्ने लगायतका गतिविधि सच्चिनुपर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप