शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा बाढीको क्षति : दुई महिनामा ३३ जनाको मृत्यु, अरबौं रुपैयाँको भौतिक संरचना ध्वस्त

आइतबार, २० भदौ २०७८, १४ : ५९
आइतबार, २० भदौ २०७८

 गण्डकी प्रदेशमा मनसुनी वर्षा सुरु भएसँगै विभिन्न ठाउँमा बाढीपहिरोले वितण्डा मच्चाएको छ । प्रदेशमा यो वर्षको मनसुनी गतिविधिपछि बाढी पहिरोबाट ३३ जनाले ज्यान गुमाएका छन् भने अर्बौंको भौतिक संरचनामा क्षति भएको छ ।

गण्डकीका ११ जिल्लामध्ये ९ जिल्ला बाढी पहिरोबाट बढी प्रभावित छन् । ती जिल्लामा पछिल्लो २ महिनाको अवधिमा ३३ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ । मृत्यु भएकामध्ये १३ जना पुरुष र २० जना महिला छन् ।

बाढी पहिरोबाट ४४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतक ३३ मध्ये भदौ महिनामा मात्र २२ जनाको मृत्यु भएको हो ।

प्रदेशमा बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित जिल्ला पर्वत हो । पर्वतमा वर्षाको यो सिजनमा बाढी पहिरोबाट १३ जनाको मृत्यु भएको छ । यस्तै कास्कीमा बाढीपहिरोमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

नवलपरासी पूर्वमा तीन जनाको मृत्यु भएको छ । यहाँ बाढीले भौतिक संरचना बगाउँदा करोडौं रुपैयाँ बराबरको क्षति भएको छ । बाढीले राजमार्ग नै बगाएका कारण केही घण्टा आवतजावत नै रोकिन पुगेको थियो ।

गोरखामा बाढीपहिरोले २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । तनहुँमा बढीपहिरोमा परेर २ जनाको मृत्यु र ११ जना घाइते भएका छन । म्याग्दीमा बाढी पहिरोबाट २ जनाको मृत्यु र ११ जना घाइते भएका छन् । म्याग्दीमा बाढीपहिरोले सडक, पुल लगायतका भौतिक संरचना बगाउँदा एक सातासम्म बेनी–मुस्ताङको यातायात नै विच्छेद भएको थियो । बागलुङमा बाढीपहिरोमा परी दुई जना घाइते भएका छन् ।

त्यसैगरी, स्याङ्जामा बाढीपहिरोबाट एक जनाको मृत्यु र ४ जना घाइते भएका छन् । बाढीपहिरोमा परेर बागलुङ र पर्वतमा एक–एक जना बेपत्ता भएका छन् ।

साढे तीन हजार नागरिक विस्थापित

मनसुनसँगै आएको बाढीपहिरोले गण्डकीमा साढे ३ हजारभन्दा बढी जनसंख्या विस्थापित हुन पुगेको प्रदेश प्रहरी कार्यालय गण्डकीका वरिष्ठ प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

उनका अनुसार बाढी पहिरोका कारण विस्थापित हुनेमा मनाङमा धेरै छन् । मनाङमा एक हजारभन्दा बढी नागरिक विस्थापित भएको जनाइएको छ । घर, गोठ लगायत खेतिपातीसमेत बाढीपहिरोले बगाएका कारण त्यहाँको अवस्था दयनीय छ ।

गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितका लागि केही राहत सामग्री र नगद दिए पनि त्यो पर्याप्त नभएको पीडितहरु बताउँछन् । प्रहरीको तथ्याङ्क अनुसार प्रदेशमा बाढीपहिरोबाट ६८९ घरमा क्षति पुगेको छ । ती घरका ३ हजार ६८१ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीको भनाइ छ ।

भौतिक संरचनामा क्षति

बाढी पहिरोका कारण गण्डकीमा ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको छ । गण्डकीका विभिन्न जिल्लामा निर्माण भइरहेका २३ हाइड्रो पावरमा बाढी तथा पहिरोले क्षति पुगेको छ ।

कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरका २ वटा जेसिबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एस्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निर्माणमा प्रयोग हुने विभिन्न उपकरण बगाएको आयोजनाले जनाएको छ ।

अविरल वर्षापछि आएको बाढीले करिब १ अरब बराबरको क्षति भएको सुपर मादी हाइड्रो पावरका अध्यक्ष पुष्पज्योति ढुङ्गाना बताउँछन् ।

बाढीले कास्कीका अन्य ४ वटा हाइड्रोमा पनि क्षति भएको छ । बाढीपहिरोले गण्डकीका ३६ वटा पुलमा क्षति पुगेको छ । तीमध्ये ३ वटा पक्की पुल पूर्णरुपले क्षतिग्रस्त भएको छ भने प्रदेशका विभिन्न जिल्लाका १३ वटा काठे पुल र ९ वटा झोलुङ्गे पुलसमेत बगाएको छ ।

प्रहरीको तथ्याङ्क अनुसार बाढीपहिरोले मनाङमा मात्र १७ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । यस्तै, ७ वटा स्कुल, ५ वटा सरकारी कार्यालय र ६ वटा सामुदायिक भवन बगाएको छ ।

लोकमार्ग बन्द

मध्य पहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो गएका कारण पर्वतखण्ड पूर्ण रुपमा बन्द भएको छ । निरन्तरको वर्षाका कारण सडक मध्यपहाडी लोकमार्गमा ठुलो पहिरो खस्दा यातायात अवरुद्ध भएको हो । पोखरा हुँदै पर्वत, बागलुङ लगायतका ठाउँमा जाने सवारी आगमन अवरुद्ध भएको छ ।

पहिरो हटाउने प्रयास भइरहे पनि सडकको केही भाग बाढीले बगाएकाले निर्माण गर्न कम्तीमा एक साता लाग्ने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप