गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।
एउटै दलमा लामो समय रहेका यी दुवै जना युवा पंक्तिमा लोकप्रिय मानिन्छन् । एमाले विभाजनपछि झाक्री नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल भएकी छन् भने विष्टचाहिँ एमालेमै छन् ।सत्तारुढ गठबन्धनका केही नेताहरुले आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले तालमेलका आधारमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यसका आधारमा पनि झाक्रीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले समर्थन गर्न सक्ने आँकलन गरिएको छ । उता, विष्ट भने एमालेकै मतदाताको भर पर्नुपर्ने हुन्छ ।
नेकपा एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महत आगामी चुनावमा सत्तारुढ घटकबीच गठबन्धन नबने पनि गुल्मी क्षेत्र नम्बर २ बाट आफ्नो पार्टीका तर्फबाट झाक्री नै उम्मेदवार हुने बताउँछन् । ‘गत शुक्रबार काठमाडौंमा भएको गुल्मी–काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा उहाँले गुल्मीबाट चुनाव लड्ने उद्घोष गर्नु भएको छ,’ महतले भने, ‘सो कार्यक्रममा युवाहरुको सहभागिताले पनि उहाँका पछाडि धेरै युवा छन् भन्ने स्पष्ट हुन्छ ।’
उनका अनुसार पार्टीले अब छिटै गुल्मीमा प्रथम जिल्ला सम्मेलन गर्दैछ । कुनै समय एमालेका हर्ताकर्ता कार्यकर्ता हिमाल थापा अहिले नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी जिल्ला ईन्चार्जको भूमिकामा छन् । उनी पनि क्षेत्र नम्बर १ का प्रभावशाली युवा नेता मानिन्छन् । झाक्री र थापाका कारण पनि जिल्लामा युवाको ठुलो पंक्ति नेकपा एकीकृत समाजवादीतर्फ आकर्षित भएको जिल्ला अध्यक्ष महत बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण