बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बजारमा नयाँ गीत : गजलदेखि प्रेमपिडासम्म

शनिबार, १६ असोज २०७८, १३ : ५४
शनिबार, १६ असोज २०७८

सुरेशको ‘जति बिर्स्यौ तिम्रो याद’ 

गजलकार सुरेश वाग्लेको गजल ‘जति बिर्स्यौ तिम्रो याद’ भिडियो सहित सार्वजनिक भएको छ । उनले गजल लेख्ने यात्रा आरम्भ गरेको समय कोरेको यो गजललाई नयाँपन दिदै समय अनुसार तयार गरेर सार्वजनिक गरेका छन् ।
विक्रम संवत २०५९ सालमा रेडियो नेपालमा रेकर्ड भएको यो गजलमा स्वर र संगीत शिव परियारको छ । यही गीत मार्फत् २०५९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापी राष्ट्रिय आधुनिक गीतमा स्वर तर्फ गायक परियार प्रथम हुन सफल भएका थिए, भने गीत पनि उतिकै सफल बनेको थियो । 

सार्वजनिक गजलको भिडियोमा अभिनेता सरोज खनाल, पल शाह, आकाश श्रेष्ठ र मोडल तथा कलाकार प्रमिला कार्कीको अभिनय छ भने गीतको भिडियो निर्देशक निकेश खड्काले गरेका हुन् ।  निर्देशक खड्काले गायक परियार, गीतकार वाग्ले र सिंगो नेपाली गजल क्षेत्रसँग जोडिएको र पृथक इतिहास बोकेको गीतलाई नयाँ ढंगबाट एउटा मिठो प्रेम कहानीका रूपमा प्रस्तुत गरिएको छ ।

अभिनेता सरोज खनाल, पल शाह, आकाश खड्का र प्रमिला कार्कीले पनि एउटा ऐतिहासिक गीत गजलसँग जोडिएर काम गर्न पाएकोमा खुसी व्यक्त गरे । 

‘बोली मिठो, मुस्कान मिठो...’

गीतकार बालक गुरुङको नयाँ गीत ‘बोली मिठो, मुस्कान मिठो...’ सार्वजानिक भएको छ । लोकप्रिय गायकद्धय राजेश पायल राई र सुनिता थेगिम लिम्बुको स्वर, बालककै सङ्गीत, अशोककुमार राईको सङ्गीत संयोजन, पदम राजनको रेकर्डष्टि र मुस्कान मुकारुङको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतकार बालक गुरुङले अघिल्ला गीतहरू भन्दा फरक र पृथक शैलीको यो गीतमा एक सुन्दरीलाई सुशिल स्वभाव, मिठो बोलचालको सुन्दर शव्दमा संयोजन गर्दै, आफूलाई मन परेको प्रस्ताव राखी, लगनगाँठो जुराउने, बेहुली अन्माई लैजानेसम्म भाव व्यक्त गरिएको छ ।

यस युगल गीतमा ती सुन्दरीले आफनो योवन र वैंशलाई सहजरुपमा व्यक्त गरेपनि माइती साक्षी राखेर मात्र लगनगाँठो जुराउने ईच्छा व्यक्त गरेकी छन् । सार्वजनिक लिप्सीङ भिडियोमा ‘राई ईज किङ’ उपनामले चर्चित राजेश पायल राई र सुनिता थेगिमले रमणीयताकासाथ लिप्सीङ अभिनय छ । दुर्गा वान्तवा राईको छायाँकन रहेको गीतको भिडियोमा मनोज राईको सम्पादन छ ।

निमा रुम्बाको ‘पागल प्रेमी–२’

मिस् क्याटवाक, हुरि बतास, आऊ आऊ न, प्रिति बस्यो, साझमा पनि, मेरी प्रियसी जस्ता लोकप्रिय गीतका गायक निमा रुम्बा लामो समयपछि नयाँ गीत ‘पागल प्रेमी–२ (क्रेजी लभर)’ लिएर आएका छन् । गीतमा निमाकै शब्द, संगीत र स्वर छ ।

आर एण्ड बि र्याप शैलीको समिश्रण रहेको ‘पागल प्रेमी (मायालु तिमी भनिदेउ)’ बि.सं. २०५० मा ल्याएका थिए । जुन गीत अलटाईम हिट गीत हो । हाल सार्वजनिक गीत निमाले केही वर्षअघि नै रेकर्ड गराएका थिए । उक्त गीतका लागि निमा रुम्बा र गायक स्व. सुनील बर्देवाले २०७० मा एरेन्ज सुरु गरेका थिए । सुनीलको असामयिक निधनसँगै ‘पागल प्रेमी २’ को ‘क्रेजी लभर’ निमा र सुनीलको सहकार्य रहेको अन्तिम गीत बन्न पुगेको छ । यो पप, इडिएम, डिस्को र आर एण्ड बि शैलीको फ्युजन गीत हो ।

गीतको भिडियोमा निमाको अलवा मिस युनिभर्स नेपाल २०२१ की विजेता अंशिका शर्मा र मिस्टर युएसए तथा दुई पटक मेन्स फिजिक गोल्ड मेडल जितेका तथा प्रो कार्ड विजेता उत्सव सिंहको मुख्य भुमिका रहेको छ ।
भिडियोका निर्देशक आशिष श्रेष्ठ हुन् । युवा फिल्मस् र आहा प्रोडक्सनले तयार पारेको भिडियोका सह–निर्माता उज्ज्वल सिंह हुन् । 
गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउड स्तरमा तयार भई रिलिज भएकोमा खुसी व्यक्त गरे ।

सरलाको ‘बिरोध छैन’
अभिनेता सरोज खनालको निर्देशन रहेको गीति भिडियो ‘बिरोध छैन’ आएको छ । सरला श्रेष्ठको शब्द रहेको गीतमा गरिबीको पीडा पश्चात परदेश जान बाध्य प्रेमीको सम्झनामा प्रेमिकाले पोखेको विरह र प्रेमिकाको सम्झनामा प्रेमीको छटपटाहट समेटिएको छ ।

सार्वजनिक भिडियोमा नेपाली समाजको यथार्थता देख्न सकिन्छ । पारिवारिक खुशीको लागि बाध्यताबस विदेशमा गर्नु परेको संघर्ष अनि त्यसबीचको प्रेम सम्झनालाई भिडियोमा प्रस्तुत गरिएको छ । रचना रिमालको स्वरमा सार्वजनिक गीतमा संगीत कृति न्यौपानेको छ । कृतिको मिठासपुर्ण संगीतमा रचनाले न्यायपूर्ण स्वर भरेकी छिन् ।

भिडियोमा मोडलद्वय कुसुम थापा र हेमप्रभास अधिकारीलाई फिचर्ड गरिएको छ । कुसुम र हेमको जोडीलाई निर्देशन खनालले सुन्दर रुपमा फ्रेमिङ गरेका छन् । साथमा कलाकार पदम प्रसाद अधिकारी पनि अभिनयमा छन् । भिडियोमा छायांकन आङ्चेन लामाको छ भने सम्पादनको काम टेकेन्द्र शाहले गरेका छन् ।

गीतकार सरलाले यो भिडियोबाट जुट्ने सम्पुर्ण ‘रेभिन्यु’ सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेकी छिन् । गीतकार श्रेष्ठले भिडियोबाट प्राप्त हुने रकम विगतदेखि आफुले मद्दत गर्दै आइरहेको शारिरिक तथा मानसिक अशक्तहरुको सेवामा खर्चिने प्रतिवद्धता जनाएकी हुन् ।

‘बेरुवाको औंठी’मा प्रकाश र आँचल

करिव ५ महिना अघि ‘निलो कुर्ताले’ बोलको गीत सार्वजनिक गरेर चर्चा कमाउन सफल गायक लोक पौडेल र गायिका मेलिना राईको अर्काे गीत ‘बेरुवाको औंठी’ ल्याएका छन् । गीतमा दीपक शर्माको शब्द, संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन रहेको छ ।

अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा गायक प्रकाश सपुत र नायिका आँचल शर्माको अभिनय छ । रुजु शर्मा र अनिल आचार्यको समेत अभिनय भिडियोमा छ ।  पुजा दर्नाल र उज्ज्वल गज्मेलको कोरियोग्राफी रहेको भिडियोमा बिष्णु खड्काको सम्पादन, राज खड्काको निर्देशन छ ।

‘छरेर ढुंगामा मायाको बिउ’

गायक जनक विवश न्यौपानेको स्वर रहेकोे ‘छरेर ढुंगामा मायाको बिउ ’ गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा छ । गीतमा बाल्यकालको साथीसँगको प्रेम र मित्रता स्मरण गरिएको छ ।

देवराज आचार्यको छायाँकन तथा निर्देशन, पदम सुवेदीको सम्पादन भिडियोमा छ । विजय पुन मगर, जानुका नेपाल, आर्यन कार्कीको अभिनय रहेको गीतमा बालकलाकार आदित्य आरएल डिसी र निशान नेपालको समेत अभिनय छ ।

निसान र रचनाको ‘माया गर्नलाई’

निसान भट्टराई र रचना रिमालको स्वर रहेको गीत ‘माया गर्नलाई’ सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधीर श्रेष्ठ र गरिमा शर्मा देख्न सकिन्छ । सार्वजनिक गीतलाई प्रदिप चापागाईँले लेखेका हुन् भने संगीत दीपक शर्माको छ ।

गीतको भिडियो शान थापाले निर्देशन गरेका हुन् । भिडियोमा अर्जुन तिवारीको छायांकन, सुप्रिम पराजुलीको सम्पादन, राजिव समरको कोरियोग्राफी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप