शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीका सडक : राजमार्ग की मृत्युमार्ग ?

तीन वर्षमा ६ सय बढीको सवारी दुर्घटनामा मृत्यु
बुधबार, २७ असोज २०७८, ०७ : ३८
बुधबार, २७ असोज २०७८

‘मरेपछि अर्को जुनी भेटौँ’ भन्ने गीत बजाउँदै बस आफ्नै गतिमा अघि बढिरहेको थियो । जब बस कालिकोट, अछाम र दैलेखको सिमाना रहेको किट्टु भिरमा पुग्यो, सडकबाट ५०० मिटर तल कर्णाली नदीमा खस्यो । यही घटनालाई कलाकारले यसरी प्रस्तुत गरे :

मरेपछि अर्को जुनी भेटौँ भन्ने चक्का
गाडीमा बजाउँदै थिए भयो उस्तै पक्का ।
बिहान नौ बजेतिर किट्टु पुग्यो गाडी
बस गयो कर्णालीतिर सडकको लिक छाडी ।
जब गाडी पल्टन लाग्यो सबजना कराया 
कराई कन क्या लाग्दो छ पानीमै हराया । 
कोही पानीमै म–या, कोही बाँचे घाईते भइकन्
कुरा हान्नु ग–या घरका कडिलाकन् ।
५ गते चैतका महिना ०६६ सालको   
बास बसेरो किट्टु रैछ जिउ लिने कालको ।
सुरुमा तितौराबाट बस लोटेको देख्या
ठाउँ ठाउँमा फोन पनि ग–या चिठ्ठी पनि लेख्या । 
(शब्दसंगीत नेत्रराज शाही 
आवाज : पाण्डव विष्ट (२०६६)

यो यथार्थ घटनामा आधारित गित हो । गीतमा भनिएजस्तै २०६६ चैत ५ गते दैलेखको किट्टु भीरमा भएको भयानक बस दुर्घटनामा परी ४१ जनाले ज्यान गुमाए । कालिकोटबाट सुर्खेत फर्कदै गरेको काँक्रेविहार यातायातको ना.३ ख ५८६८ नम्बरको यात्रुवाहक बस सडकबाट चट्टानमा ठोक्किएर कर्णाली नदीमा खसेको थियो । जुन घटना मुलुकै लागि कहालीलाग्दो घटना थियो । 

कर्णालीको बाटो, कर्णालीको बाटो, रगतले रातै भयो ।
दिउँसै जान्या सातो, दिउँसै जान्या सातो, राजमार्ग स्वर्गको बाटो ।
बस्ती भया खाली, सुर्खेत, जुम्ला कालमार्ग भई 
कोही बाँच्या हाम फाली, कोही गया दैवका साथ ।
कर्णाली राजमार्ग जनता मारन्या कालमार्ग भै 
भयो मृत्यु पार्क, सुर्खेतदेखि जुम्ला सम्म ।
कि बाटो सुधार, कि छुटाईदेउ गाडी चल्न
अकलाई नमार भोकानाङ्गा गरिब जनता  ।

उल्लेखित गीत पनि कर्णालीकै भएको बस दुर्घटनामा आधारित हो । जनगायक धीरेन्द्र शाहीको ‘कर्णालीको बाटो’ नामक एल्बममा समावेश छ । यो गीत राजमार्गमा बस दुर्घटनामा परेर मृत्यु हुने प्रति समर्पित छ। दैलेखको आठवीस नगरपालिका अन्तर्गत भेल्तडीमा ०७४ सालमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो । 

— २०७१ सालमा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा दुधे बालक सहित १८ जनाको ज्यान गयो । उक्त, बस सडकभन्दा तल २ सय मिटर तिला नदीमा खसेको थियो । 

— मंगलबार कर्णालीमा अर्को एक अकल्पनीय घटना घट्यो । जसले दसैँको यो पर्वलाई स्तब्ध बनाएको छ ।  नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा प–यो । उक्त, दुर्घटनामा परी ३२ जनाले ज्यान गुमाए । 

प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।

प्रहरीले चालकतर्फको टायर पञ्चर भई दुर्घटना भएको हुनसक्ने अनुमान गरे पनि यो घटनाको विस्तृत रिपोर्ट भने आउन बाँकी छ । बस सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार रहेका थिए । 

माथिका यी घटनाले कर्णालीको सडक दुर्घटनाको वास्तविक चित्रलाई प्रस्तुत गरिदिएका छन् । कर्णालीमा हुने सडक दुर्घटनाका बारेमा थुप्रै गीत बने, कथा लेखिए । तर, अवस्था उस्तै छ । सडक दुर्घटनाबाट प्रदेशमा वर्षेनी सयौँ व्यक्तिहरूले ज्यान गुमाइरहेका छन् । पहाडी भू–भाग, साँघुरा र कच्ची सडकका कारण वर्षेनी कर्णालीवासीले आफ्नो जीवनको यात्रा समाप्त पारिरहेका छन् ।  

सामान्यतया सडकयात्रा सहज र छिटो गन्तव्यमा पुग्नका लागि गर्ने गरिन्छ । तर, कर्णालीको अवस्था ठीक उल्टो छ । कसैले यात्रा गर्नुपर्ने परे ‘मन दह्रो’ बनाएर यात्रा गर्नुपर्ने हुन्छ । त्यसैले कर्णालीका राजमार्ग ‘मृत्युमार्ग’ का नामले चिनिन्छन् । विगतका केही तथ्याङ्कलाई हर्ने हो भने २०७१ पहिला कर्णाली राजमार्गमा मात्र १५९ वटा दुर्घटना भएका छन् जसमा २०९ जनाको ज्यान गएको छ ।  

तीन वर्षमा ६ सय बढीको सवारी दुर्घटनामा मृत्यु 

कर्णाली प्रदेश प्रहरी कार्यालयले रातोपाटीलाई उपलब्ध गराएको तथ्याङ्क हेर्दा तीन आर्थिक वर्षमा मात्र सवारी दुर्घटनामा परी कर्णालीका ५ सय ९१ जनाले ( मुगु घटनाबाहेक) ज्यान गुमाएका छन् । 

आर्थिक वर्ष ०७६/७७ मा २३३, ०७७/७८ मा २९१ र चालु आर्थिक वर्षको हालसम्म ६४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ । यी अधिकांश घटनाहरू धेरै जसो कर्णाली राजमार्ग लगायत यसका सहायक मार्गहरूमा हुने गरेको प्रहरीको भनाइ छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठ पहाडी जिल्लामा सडक दुर्घटनामा धेरैको ज्यान जानु समयमा उपचार नपाउनु, समयमा उद्धार नहुनु जस्ता समस्या बताउँछन् ।

विगत तीन वर्षको सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या यस्तो छ 

 स्रोत : प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश 

नोट : उल्लेखित तथ्याङ्कमा मुगुमा घटेको दुर्घटनालाई समेटिएको छैन्

सडक र गाडी पुगे पनि नरमाएका मनहरु 

वर्षौंदेखि यातायातबाट विमुख कर्णालीबासीका लागि (अझ साविक कर्णाली) २०६३ सालदेखि सञ्चालमा आएको कर्णाली राजमार्गले गौरव महसुस गरायो । विस्तारै अन्य, राजमार्गहरुपनि निर्माण भए सञ्चालमा आए । विशेषगरी कर्णाली राजमार्ग यहाँको आर्थिक समृद्धीको मार्ग र सुर्खेत देखि जुम्ला, मुगुतर्फ जोड्ने राजमार्ग भएकाले त्यतिबेला कर्णालीबासीको मुहारमा आशाको दियो पलायो । तर सडकको दुरावस्थाले दैनिकजसो मान्छेले ज्यान गुमाउनुपरिरहेको छ । सडक पुगेपनि, गाडी गुडेपनि यहाँका नागरिकहरुको मन रमाउन सकिरहेको छैन् । 

किन हुन्छन् यसरी दुर्घटना ? 

कर्णालीमा पहाडी भू–भाग छ । साँधुरा एकसरा सडक छन् । अझ सवारी साधनहरुले मनपरी तरिकाले यात्रु कोच्ने गर्दछन् । बसमा भित्रमात्र होइन, छतमा पनि खुट्टा टेक्ने ठाउँ हुँदैन । निकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीसँग छ । सार्वजनिक यातायातमा मात्र होइन, मालवाहक ट्रकसमेत खाली हुँदैनन् । अझ, हिजोआज हाईस र साना सवारी साधनहरु धेरै दुर्घटनामा पर्ने गरेका छन् । 

सुर्खेतका यातायात व्यवसायी भुपेन्द्र शाही दुर्घटना कम गर्न सडक चौडा नै पहिलो आवाश्यकता रहेको बताउँछन् । ‘यसमा चालकको लापरबाहीले पनि सडक दुर्घटना बढ्ने गरेको देखिन्छ,’ उनी भन्छन्,‘तर सडकको स्थिति नै कहालीलाग्दो छ।’ साँघुरो बाटो, मर्मत–सुधारको अभाव, अत्यधिक घुम्ती र पुराना गाडी तथा चालकको लापरबाहीजस्ता कारणले धेरै दुर्घटना हुने गरेको प्रहरीको पनि भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप