शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी संगठनमा प्रश्न : कात्तिकमै घर जानेलाई डीआइजीको फुली किन ?

आइतबार, १४ कात्तिक २०७८, १९ : २७
आइतबार, १४ कात्तिक २०७८

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरबहादुर खत्रीले यही कात्तिक २८ गते अवकाश पाउँदैछन् । तर, अवकास पाउनुभन्दा केही दिन अघिसम्म पनि उनी डीआइजी बन्ने दौडधूपमा लागेका छन् । खत्रीजस्तै अवकाश पाउन लागेका ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्न गृह मन्त्रालयले प्रस्ताव नै तयार पारिसकेको छ । घरजाने बेलामा डीआइजी बनाइन लागेका खत्री गृहमन्त्री बालकृष्ण खाँडका नजिकका प्रहरी अधिकारी मानिन्छन् ।

नेपाल प्रहरीका अर्का एसएसपी बिक्रमबहादुर चन्द पनि ३० वर्षे सेवाअवधिका कारण आगामी मंसिर ९ गते अवकास पाएर घर जान लागेका छन् । तर, उनलाई पनि गृहमन्त्रीले डीआइजी बनाउने प्रस्ताव तयार पारेका छन् । चन्द नेपाली काँग्रेसका नेता रमेश लेखक निकट मानिन्छन् ।

त्यस्तै, अर्का एसएसपी शेखर कोइरालाले आगामी मंसिर २५ गते ३० वर्षे सेवाहदका कारण अवकास पाउन लागेका छन् । तर, नेपाली काँग्रेसमा कोइराला परिवारको निकट मानिने उलाई पनि गृह मन्त्रालयले डीआइजीमा प्रस्ताव गरेको छ ।

यही पुस १५ गते एसएसपीबाट अवकास पाउनै लागेका हरिराज वाग्ले पनि डीआइजी बढुवाको सिफारिसमा परेका छन् । वाग्ले पनि नेपाली काँग्रेस पृष्ठभूमिका प्रहरी अधिकारी हुन्  । उनी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका ज्वाइँ नाता पर्छन् । र, उनलाई पनि गृह मन्त्रालयले पुसमा अवकाश पाउनुअघि नै डीआइजीको फुली लगाइदिने तयारी गरेका छन् ।

त्यसैगरी एसएसपी सुशील कुमार यादव आगामी माग १५ गते ३० वर्षे सेवाअवधि पार गरेर अवकास हुन लागेका छन् । तर, उनलाई पनि गृह मन्त्रालयले डीआइजी बनाउने तयारी गरिरहेको छ ।

एसएसपी पूजा सिंहले आगामी फागुन ७ गते अवकास पाउँदैछिन् । विगतमा पूर्वराष्ट्रपति रामवरण यादवको निकट मानिने सिंह अहिले गृहमन्त्री बालकृष्णकी पत्नी मञ्जु खाणसँग नजिक छिन् । गृहमन्त्री खाणले पूजालाई पनि डीआइजी बढुवाका लागि सिफारिस गरेका छन् ।

गृह मन्त्रालयका एक अधिकारीले दिएको जानकारीअनुसार यही कात्तिकदेखि फागुनभित्र अवकास पाउन लागेका काँग्रेसनिकट ६ जना एसएसपीहरूलाई गृहमन्त्रीले डीआइजीमा बढुवा गर्न खोजेपछि यसबारे प्रहरी संगठनभित्र असन्तुष्टि चुलिएको छ ।

सेवा अवधि पुगेर घर जान लागेका एससएसपीहरुलाई एकाध वर्षका लागि डीआइजी बनाउनुभन्दा नयाँ र काबिल एसएसपीहरूलाई अवसर दिएर नेतृत्व विकास गर्नु उपयुक्त हुने प्रहरी अधिकारीहरू बताउँछन् ।

अर्थ मन्त्रालयमा रोकियो प्रस्ताव

यसैबीच प्रहरी प्रधान कार्यालयले टिप्पणी उठाएर गृह मन्त्रालयले तयार पारेको ६ जना एसएसपीलाई डीआइजीमा बढुवा गर्ने प्रस्ताव अहिले अर्थमन्त्रालयमा रोकिएको छ ।

६ जना डीआईजीको नयाँ पद सिर्जना गरेर अवकास पाउन लागेका एसएसपीहरूलाई डीआइजी बनाउँदा राज्यलाई अनावश्यक आर्थिक भार पर्ने र प्रहरी संगठनमा नयाँ अधिकृतको वृत्ति विकास अवरुद्ध हुने भन्दै अर्थमन्त्रालयले डीआइजी बढुवाको सिफारिस रोकिदिएको अर्थ मन्त्रालय सोतले रातोपाटीलाई बतायो ।

स्रोत भन्छ, ‘प्रहरी संगठनमा लिडरसीप विकासको योजना ल्याउनुपर्‍यो, अवकाश पाउन लागेका आफ्ना कार्यकर्तालाई रिझाउन नयाँ डीआइजीहरुको दरबन्दी सिर्जना गर्नु उपयुक्त होइन ।

नेपाल प्रहरीमा हाल १९ जना डीआइजीको दरबन्दी छ । यीमध्ये कुनै पनि पद रिक्त छैनन् । तर, गृह मन्त्रालयले ६ जना नयाँ डीआइजीको दरबन्दी सिर्जना गरेर अवकाश पाउन लागेका एसएसपीहरूलाई डीआइजीको फुली लगाइदिन लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप