बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

मेयरको राजीनामा माग्दै जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्ष काठमाडौंमा

आइतबार, १२ मङ्सिर २०७८, १३ : ५३
आइतबार, १२ मङ्सिर २०७८

जनकपुर उपमहानगरपालिकाका वडाअध्यक्षहरू मेयर लालकिशोर साहको राजीनामा माग गर्दै काठमाडौं आइपुगेका छन् । मेयर साहले उपमहानगरपालिकाभित्र फोहर व्यवस्थान गर्न नसकेको भन्दै उनको विरुद्धमा प्रदर्शन गर्न काठमाडौ आएको उपमहानगरपालिका–४ का अध्यक्ष सुदर्शन सिंहले जानकारी दिए ।

आफूहरुले सुरुदेखि नै जनकपुरमा फोहर व्यवस्थापनका लागि मेयर साहलाई ध्यानाकर्षण गराउँदै आएको तर उनले त्यसको बेवास्ता गरेपछि आन्दोलन गर्नुपरेको सिंहले बताए । उनले आन्दोलनको पनि सुनुवाई नगरेपछि आफुहरु राजधानी काठमाडौ आइपुगेको सिंहले बताए । 

काठमाडौं देशको राजधानी भएकोले सबैको ध्यानाकर्षण होस् भनेर आफूहरु यहाँ आएको बताउँदै उनले आज ३ बजे माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको जानकारी दिए । माइतीघरको प्रदर्शनपछि संघीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको वडाअध्यक्ष सिंहले जानकारी दिए ।

आफूहरुले मेयरको राजीनामा माग गरेको बताउँदै उनले संघीय सरकारले यसको समाधान दिनुपर्नेमा आफूहरु आशावादी रहेको बताए । उनले भने, ‘उपमहानगरपालिकासँग साधन स्रोत नभएको होइन, तर मेयरले काम गर्न चाहनुभएको छैन, फोहोर व्यवस्थापनका लागि सरकारले रकम दिन्छ, त्यसबाहेक अरु अन्तराष्ट्रिय संघ संगठनहरुले पनि सहयोग गरिरहेका हुन्छन् तर मेयर साहले केही गर्न चाहनुभएको छैन ।’ 

वडा सदस्यहरुले केही दिन पहिले जनकपुरमा फ्याँकिएको फोहर उठाएर मेयर साहको घरको अगाडि खन्याएर विरोध गरेका थिए । उक्त विरोधको समेत सुनुवाई नभएपछि उनीहरु बाध्य भएर काठमाडौ आएका हुन् । उपमहानगरपालिकाका वडा नम्बर १, ३, ४, ७ र ९ का अध्यक्षसहित २२ जना काठमाडौ आएका छन् । जनकपुरबाट काठमाडौ आएर बसोवास गर्नेहरु पनि प्रदर्शनमा सहयोग गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप