सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै : सभामुख

सोमबार, १३ मङ्सिर २०७८, १२ : २५
सोमबार, १३ मङ्सिर २०७८

सभामुख अग्निप्रसाद सापकोटाले विश्वमा विश्व शान्तिका लागि खतरा, घरेलु मामिलामा हस्तक्षेप, असमानता र अनुचित व्यवहार कायमै रहेको देखिएकाले असंलग्न आन्दोलनको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् ।

स्पेनको म्याड्रिडमा असंलग्न मुलुकको सङ्गठन (नाम) को बैठकलाई आज सम्बोधन गर्दै उनले संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई कायम राख्नुपर्नेमा जोड दिए । सभामुख सापकोटाले राष्ट्रिय स्वतन्त्रतालाई समर्थन गर्दै कुनै पनि देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको संरक्षणका लागि पनि विश्वमा असंलग्न आन्दोलनको आवश्यकता रहेको बताए । 

“विश्वका विकासशील देश निरन्तर रुपमा आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा समानताको मैदानबाट वञ्चित छन्”, उनले भने, “ती चुनौती रहँदासम्म असंलग्न आन्दोलनका सदस्य राष्ट्रले शान्ति, न्याय र विकासका लागि आवाज उठाइरहनुपर्छ ।”

सकारात्मक नतिजाका लागि हाम्रो संसद्ले त्यसतर्फको राष्ट्रिय प्रयासलाई सहयोग र प्रोत्साहन जारी राख्ने उल्लेख गर्दै सभामुख सापकोटाले संसदीय ऐक्यबद्धता र अनुभवको आदानप्रदानले असंलग्न आन्दोलनका सिद्धान्त र आदर्शलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

“नेपालमा असंलग्नता हाम्रो परराष्ट्र नीतिको आधारभूत पक्ष हो । शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलका सिद्धान्त, नेपालका अमरपुत्र बुद्धको शिक्षामा आधारित छन्”, उनले भने “नेपालको सङ्घीय संसद् लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षक हो ।”

जनताले आफ्नो अधिकारको रक्षा र विकासको उपभोगका लागि संसदबाट आशा गरेकोे स्पष्ट पार्दै सभामुख सापकोटाले नेपालको संसद् समझदारी तथा सहयोग अभिवृद्धि गर्न र हाम्रो समयका ज्वलन्त मुद्दालाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए ।

आइतबार स्पेनको म्याड्रिडमा जारी अन्तर व्यवस्थापिका सङ्घ आइपियुको १४३ औँ सभालाई सम्बोधन गर्दै उनले शासनको सबैभन्दा मनपर्ने स्वरूपका रूपमा प्रचलित भए पनि लोकतन्त्र चुनौतीरहित भने नरहेको बताए । आईपियु सम्मेलनमा सहभागी हुन यही मङ्सिर ८ गते स्पेन प्रस्थान गर्नुभएका सभामुख सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप