बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा नेपालमा अहिलेसम्म एक मात्र सांगठनिक संरचना

शुक्रबार, १७ मङ्सिर २०७८, १५ : ३२
शुक्रबार, १७ मङ्सिर २०७८

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर गठन भएको चार महिनाभन्दा बढी भइसक्दा पनि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले हालसम्म कार्यकारिणी समितिबाटै पार्टी सञ्चालन गरिरहेको छ । निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि पेस गरेको ३१ सदस्यीय कार्यकारिणी समिति नै पार्टीको मुल कमिटी बनेको छ ।

कार्यकारिणी समिति सदस्यबाहेक अन्य नेताहरु भूमिकाविहीन भएका छन् । ३१ जना कार्यकारिणी सदस्यको पनि जिम्मेवारी बाँडफाँट गरिएको छैन । जिल्ला, प्रदेशदेखि केन्द्रसम्मका अन्य नेताहरु अलमलमा परेका छन् । कार्यकारिणी समितिबाहेक अरु कुनै संगठन बनाउन पार्टी नेतृत्वले चासो नदेखाएको नेताहरु बताउँछन् ।

‘हामी कहाँ छौं, कुन संगठनमा छौं भन्ने केही अत्तोपत्तो छैन,’ लोसपा नेपालका एक नेताले भने, ‘जसपाले लगभग सबै संरचना तयार गरिसक्यो तर लोसपा अलमलमा छ । न बैठक बस्न सकेको छ, न कुनै सर्कुलर आउँछ ।’

पार्टीका एकजना कार्यकारिणी सदस्यका अनुसार लोसपा नेपाल तत्कालीन राजपाकै शैलीमा चल्न थालेको छ । ‘जसरी तत्कालीन राजपा अध्यक्ष मण्डलको वरिपरी थियो, उनीहरु मात्र पार्टीका हरेक निर्णय गर्थे अहिले ठिक त्यस्तै भएको छ,’ ती नेताले भने, ‘पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्को वरिष्ठ नेता शरतसिंह भण्डारी र कार्यकारिणी सदस्य अनिल झामात्र बसेर सबै निर्णय गर्नुहुन्छ ।’

पार्टीको विधान अनुसार पार्टीमा केन्द्रीय समिति, राजनीतिक समिति, कार्यकारिणी समिति, सल्लाहकार समिति, विज्ञ समिति, अनुशासन समिति, निर्वाचन समिति र लेखा परीक्षण समितिको व्यवस्था छ । तर चार महिनादेखि पार्टीलाई कार्यकारिणी समितिकै भरमा चलाइएको छ । कार्यकारिणी समितिको बैठक पनि लामो समयदेखि बस्न सकेको छैन ।

पार्टी गठन भएपछि भदौमा एकपटक कार्यकारिणी समितिको बैठक बसेको थियो भने त्यसपछि बैठक नै राखिएको छैन । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीले भने, ‘हामीले पार्टी गठन गर्ने वित्तिकै चाडपर्व सुरु भयो, त्यसैले संगठन निर्माणको कामहरु अगाडि बढेको छैन, अब कार्यकारिणी समितिको बैठक बसेर यी कामहरु अगाडि बढाउनेछौँ ।’

तत्कालीन राजपाका सबै संरचना रहेको भन्दै उनले हाल त्यही संरचनाले काम गरिरहेको र त्यसलाई समायोजन गरी औपचारिकता दिनमात्र बाँकी रहेको बताए । उनले भने, ‘विद्यार्थी, युवा, महिला, शिक्षक, प्राध्यापक लगायतका पूर्व संरचनाहरु छँदैछन् त्यसलाई अलिअलि मिलाएर पूर्णत दिने त हो ।’

मंसिरको अन्तिमतिर कार्यकारिणी समितिको बैठक बसेर संगठन संरचना निर्माण गर्नुको साथै जिम्मेवारी बाँडफाँट गर्ने उनले बताए । कार्यकारिणी समितिका सदस्य उमाशंकर अरगरियाले पनि सांगठनिक संरचना बनाउन ढिलाई भएको स्वीकार गरे । नेताहरु व्यस्त भएका कारण ढिलो भएपनि अब बैठक बसेर त्यसलाई टुङ्गो लगाउने तयारी भइरहेको उनले बताए ।

‘हाल केन्द्रीय कार्यकारिणी समितिमा ३१ सदस्य छन्, त्यसलाई विस्तार गरी विधानअनुसार ५१ सदस्यीय बनाउने तयारी छ,’ उनले भने, ‘राजनीतिक समितिलाई कार्यकारिणी समितिमा गाभेर त्यसलाई विस्तार गर्ने पनि छलफल भइरहेको छ, बैठक बसेपछि त्यसबारे थप छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप