आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेस प्रदेश अधिवेशन : देउवा-पौडेल समूहको भिडन्तमा सिटौला-निधि पक्षको इन्ट्री

शुक्रबार, १७ मङ्सिर २०७८, २३ : ५२
शुक्रबार, १७ मङ्सिर २०७८

नेपाली काँग्रेसमा पहिलो पटक निर्वाचनबाट प्रदेश कार्यसमिति आउँदै छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पहिलो पटक प्रदेश महाधिवेशन गरिरहेको छ । बिहीबार देखी प्रदेश १ को  विराटनगर, वाग्मतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा काँग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ ।

शुक्रवार प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । आज प्रदेश दुई बाहेकका ६ वटा प्रदेशमा कार्यसमितिका लागि उम्मेदवारी परेको छ । प्रदेश दुईमा बिहीबार अधिवेशन उद्घाटन भएपनि निर्वाचन प्रक्रिया रोकिएको छ । केही जिल्लामा क्षेत्रीय प्रतिनिधि मुख्यतः सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह प्यानल बनाएर प्रदेश अधिवेशनको मैदानमा उत्रिएका छन् ।

प्रदेश १ मा नेता कृष्णप्रसाद सिटौला समूहका सभापतिका उम्मेदवारलाई देउवा पक्षले समर्थन गरेको छ भने कर्णाली प्रदेशमा उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश सभापतिमा उम्मेदवारी परेको छ ।

बागमती प्रदेशमा देउवा पौडेल र सिटौला समूहबीच त्रिपक्षीय भिडन्त हुने भएको छ भने कर्णालीमा देउवा, पौडेल र निधि समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । काँग्रेसको प्रदेश अधिवेशनलाई मिनी महाधिवेशनका रूपमा हेरिएको छ ।

सम्बन्धित प्रदेशभित्रका जिल्ला सभापति, क्षेत्रीय सभापति, केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति र प्रदेश प्रतिनिधिहरू प्रदेश अधिवेशनका मतदाता हुन्छन् । अधिवेशन प्रदेशलाई काँग्रेसमा महाधिवेशनपछि ठूलो अधिवेशनका रूपमा लिइएको छ । काँग्रेसमा प्रदेश कार्यसमितिको पदाधिकारीमा एक सभापति,  २ उपसभापति, २ महामन्त्री, ३ सहमहामन्त्री, १ कोषाध्यक्ष रहने व्यवस्था छ । कोषाध्यक्ष बाहेकका पदाधिकारी निर्वाचनबाट आउने व्यवस्था छ । कोषाध्यक्ष चयन गर्दा पनि निर्वाचित सदस्यमध्येबाट प्रदेश सभापतिले प्रस्ताव गरी प्रदेश कार्यसमिति बैठकबाट निर्णय गरिन्छ ।

प्रदेश कार्यसमिति सदस्यमा सम्बन्धित प्रदेशभित्रका प्रत्येक जिल्लाबाट एक महिलासहित दुई जना प्रत्यक्ष निर्वाचित सदस्य पनि हुने छन्। प्रदेश सभामा अल्पसंख्यक, अपांगता भएका क्षेत्रबाट कम्तीमा एक जना निर्वाचित सदस्य हुनेछन्।

यस्तै प्रदेश कार्यसमितिमा प्रत्येक समावेशी समूहबाट कम्तीमा एक महिला र एक पुरुष सदस्य हुनुपर्ने विधानको व्यवस्था छ। सभापतिले प्रदेश सभाका कूल सदस्यमध्ये २० प्रतिशत सदस्य मनोनित गर्न पाउँछन् । सातवटै प्रदेशमा गरेर करिब १० हजार ५ सय मतदाता नेतृत्व चयनमा सहभागी हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

 प्रदेश १ मा सिटौलालाई देउवा साथ

नेपाली काँग्रेसको प्रदेश १ सभापतिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । शुक्रवार सभापति देउवा पक्षको समर्थनमा सिटौला समूहबाट उद्धव थापा र पौडेल समूहबाट गुरु घिमिरेले प्रदेश एकको सभापतिमा उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट उपसभापतिमा उमेशजंग रायमाझी र टंक राई, महामन्त्रीमा दिवेन श्रेष्ठ र भुपेन्द्र राईको उम्मेदवारी परेको छ । यस्तै तीन सहमहमन्त्रीका लागि प्रमिला गच्छदार, विनोदकुमार बस्नेत, झकबहादुर लिम्बु, इन्दिरा थापा, शेर्मराज राईले उम्मेदवारी दर्ता गराएका छन्।

घिमिरेको प्यानलबाट उपसभापतिमा गोविन्द ढुंगेल र विश्वनाथ, महामन्त्रीमा उमेश थापा र पदमसुन्दर पाहुङले उम्मेदवारी दर्ता गराएका छन् । घिमिरे प्यानलबाट तीन सहमहामन्त्रीमा ६ जना उम्मेदवारी परेको छ । 
जसमा अञ्जना ताम्ली, रोहित शाही, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, खड्ग फागोले उम्मेदवारी दर्ता गरेका छन्।

बागमती प्रदेशमा त्रिपक्षीय भिडन्त

काँग्रेसको बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ, वरिष्ठ पक्षबाट जगदीश्वर नरसिंह केसी र सिटौला समूहबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

बानियाँ र केसीले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् भने प्रधानको प्यानलमा पदाधिकारीले मात्र उम्मेदवारी दिएको निर्वाचन समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए । बानियाँको प्यानलबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै केसी समूहबाट उपसभापतिमा मोहन बहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल र कञ्चनचन्द्र बादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे र जीवन डंगोलले उम्मेदवारी दिएका छन् ।

प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र परशुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन् ।

गण्डकीमा जोशी भर्सेस​ शर्मा

गण्डकी प्रदेश सभापतिका लागि संस्थापन र संस्थापन इतर दुवै पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा देउवा पक्षबाट अर्जुन जोशी र पौडेलबाट शुक्रराज शर्मा उम्मेदवार बनेका छन् । शुक्रवार जोशी र शर्मा दुवैले आफ्नो प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन । देउवा पक्षबाट उपसभापतिमा मेखलाल श्रेष्ठ र  नेत्र महतले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा कुमार खड्का र ईश्वर पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । सहमहामन्त्रीमा राजनराज पन्त, झुलबहादुर आले र ओमकला गौतमले उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट उपसभापतिमा हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । महामन्त्रीमा विष्णु लामिछाने र किरणबाबु श्रेष्ठले उम्मेदवारी दिएका छन् । सहमहामन्त्रीमा रामचन्द्र जोशी, रमेश पाण्डे र कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् ।

 लुम्बिनीमा शाह भर्सेस पुन

लुम्बिनी प्रदेशमा काँग्रेसको देउवा पक्ष र पौडेल समूहले प्यानलै बनाएर उम्मेदवारी दिएका छन् । प्रदेश सभापतिमा देउवा समूहबाट भरतकुमार शाह र पौडेल पक्षका अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

शाहको प्यानलको उपसभापतिमा राजु खनाल र सुधाकर पाण्डे, महामन्त्रीमा जन्मजय तिमल्सिना र खिमानसिंह रायमाझीले उम्मेदवारी दिएका छन् । यस्तै सहमहामन्त्रीमा लक्ष्मीनारायण शाह, शरिता चौधरी र माया पुनको उम्मेदवारी परेको छ ।

पुन नेतृत्वको प्यानलबाट उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ र अष्टभुजा पाठक, महामन्त्रीमा बिक्रम खनाल र सुरेन्द्रराज आचार्य, सहमहामन्त्रीमा खगराज पाण्डे, विष्णु मुस्कान र निमा गिरीको उम्मेदवारी परेको छ । 

कर्णालीमा निधिको इन्ट्री

कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिका लागि तीन वटा समूह भिड्ने भएका छन् । कर्णाली प्रदेशको सभापतिमा देउवा र पौडेल र निधि पक्षले दर्ता गराएको छ । देउवा पक्षबाट ललितजंग शाही, पौडेल पक्षबाट भुपेन्द्रजंग शाही र निधि पक्षबाट मोतिराज बमले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका  छन् । 

देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्कीले उम्मेदवारी दर्ता गराएका छन्  भने महामन्त्री पदमा देउवा पक्षबाट निरञ्जन केसी र कृष्णकुमार रोकायाको उम्मेदवारी परेको छ । 

देउवा पक्षबाट सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाहीले उम्मेदवारी दिएका छन् । यस्तै पौडेल पक्षबाट उपसभापतिमा देबेन्द्रबहादुर शाही र तिलकबहादुर भण्डारीले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा पौडेल पक्षबाट कृष्णबहादुर बिसी र खगेन्द्रबहादुर मल्ल उम्मेदवार छन् ।

पौडेल पक्षबाट नेत्रलाल पौडेल, जयनन्द उपाध्याय र देविकाकुमारी सिंहले उम्मेदवारी दर्ता गराएका छन् । निधि पक्षले सभापति र जिल्लाबाट चयन हुने प्रदेश सदस्य पदमा मात्र उम्मेदवारी दिएको  छ । यता गोविन्दबहादुर कोइरालाले भने महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।​

बलायरको प्रतिद्वन्द्वी मिश्र

सुदूरपश्चिम प्रदेश सभापतिमा वीरबहादुर बलायर र नारायण दत्त मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीको ॐ पाटी प्यालेसमा शुक्रवार दिउँसो ३ बजेपछि बलायर र मिश्रले प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका हुन्  ।

बलायर देउवा समूहबाट सभापतिको उम्मेदवार बनेका छन् भने मिश्रलाई पौडेल समूहको समर्थन छ ।​ बलयारको प्यानलबाट उपसभापतिमा जनक चौधरी र लोकराज अवस्थी उम्मेदवार बनेका छन् । महामन्त्रीमा नरनारायण शाह (मनु) र मेघराज खड्का उम्मेदवार बनेका छन् भने सहमहामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणि भट्ट र अम्बिका चलाउनेलाई उम्मेदवार बनाइएको छ ।

यस्तै मिश्र प्यानलबाट उपसभापतिमा मनबहादुर रावल र गोपाल गुरुङले उम्मेदवारी दिएका छन् । यस्तै महामन्त्रीमा प्रताप गुर्दामी र   रामबहादुर शाहीले उम्मेदवारी परेको छ  भने सहमहामन्त्री  पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी (कुँवर) ले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश कार्यसमितिको अधिकार

काँग्रेसको प्रदेश कार्यसमितिलाई जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबीच आवश्यक समन्वय र निर्देशन दिने अधिकार छ । यस्तै तीनवटै तहका निर्वाचनमा प्रदेशभित्र पार्टीका सबै निकायलाई परिचालन, समन्वय र आवश्यक निर्देशन दिने अधिकार पनि प्रदेश समितिलाई विधानले दिइएको छ ।

विधानको धारा ३२ मा प्रदेश कार्यसमितिलाई विभिन्न तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम केन्द्रीय समितिमा सिफारिस गर्ने र निर्णय गर्ने अधिकार दिइएको छ । उक्त धारामा नगरपालिका, उपमहानगरपालिका र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको उम्मेदवारी निर्णय गर्ने अधिकार दिइएको छ ।

महानगरपालिका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको उम्मेदवारीका हकमा तल्लो तहबाट सिफारिस भइआएका नाममा रायसमेत दिएर केन्द्रमा सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । प्रदेश कार्यसमितिको बैठकमा सम्बन्धित प्रदेशभित्र रहेका काँग्रेसका जिल्ला सभापतिहरूलाई अनिवार्य आमन्त्रण गर्ने विधानको व्यवस्था छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप