सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भुपेन्द्र बडुवाल हत्या प्रकरण : १५ जनालाई जीवित रहेसम्म जेल सजायको माग

अपराधमा प्लस टु अध्ययनरत युवा, यसरी भयो घटना
सोमबार, २० मङ्सिर २०७८, १६ : २१
सोमबार, २० मङ्सिर २०७८

तिहारलगत्तै सञ्चारमाध्यममा कैलालीको टीकापुरमा एक अपरिचित युवकको हत्याले निकै चर्चा पायो । पछि ती युवकको परिचय खुल्यो, उनी थिए लम्कीचुहा नगरपालिका–१ का २३ वर्षिय भुपेन्द्र बडुवाल ।​ बडुवाल ग्याङ फाइटको सिकार भएका थिए । उनको गत कात्तिक २३ गते राति पौने ९ बजे आफ्नै साथीहरुको षड्यन्त्रमा लखेटी लखेटी खुकुरी र चक्कु प्रहार गरेर हत्या भएको थियो । टीकापुर नगरपालिका–१ मा रहेको सिद्धार्थ होटलनजिकै कौशी देवी विष्टको आँगनमा उनीमाथि आक्रमण भएको थियो । उनलाई घटना भएको ६ मिनेटमा नै प्रहरीले टीकापुर अस्पताल पुर्यायो । तर करिब साढे नौ बजे उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।

घटनामा संलग्न प्रायः प्लस टु मा अध्ययनत

कैलालीका प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीका अनुसार घटनामा परिचालित २१ जनामध्ये प्रायः सबै प्लस टु अध्ययनरत युवकहरु छन् । उनीहरुमध्ये धेरैलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेहरुमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २३ वर्षीय महेश रावल, २० वर्षीय धीरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, सोही नगरपालिका–१ का २२ वर्षीय कपिल श्रेष्ठ, २८ वर्षीय दीपक, गोलु भनिने निशान्त मल्ल, वडा ५ का २८ वर्षीय विकास खड्का रहेका छन् । त्यस्तै, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दिया राजापुर नगरपालिका–७ का २१ वर्षीय रोहित आले, २५ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दिया ठाकुरबाबा नगरपालिका–३ गोदाना बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही पनि पक्राउ परेका छन् ।

केही अभियुक्त भने फरार छन् । फरार रहेकाहरुमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २७ वर्षीय नविन रावल, २६ वर्षीय अनुज भन्ने चिरन्जीवी जंग शाही, २६ वर्षीय हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह, टीकापुर नगरपालिका–१ का २७ वर्षीय विकास शेरचन, लम्की चुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही र टीकापुर–६ का ३५ वर्षीय अशोक रावल छन् । यस्तै, लम्की चुहा–३ का ३२ वर्षीय लोकजंग शाही र बर्दिया, गेरुवा गाउँपालिका–५ बस्ने २२ वर्षीय हेमन्त शाही पनि अझै फरार छन् ।

जन्मकैद सजाय माग

भुपेन्द्रको हत्यामा संलग्न नविन रावल, दीपेन्द्र शाही भनिने धीरज, मदन शाही, विकास खड्का, विकास श्रेष्ठ, आर्यन देवकोटा, निशान्त मल्ल, प्रविन रिमाल, रोहित आले, सोहन शाह, लोकेन्द्र कुँवर, सविनजंग शाही, चिरन्जीवी शाही, हिमाल शाही, रोशन शाही, अशोक रावल र हेमन्त शाही गरी १५ जनालाई जन्मकैदको सजाय माग गरी अदालतमा मुद्धा दर्ता गरेको डिएसपी जोशीले बताए ।

डिएसपी जोशीका अनुसार ती १५ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १७७९२० बमोजिम जीवित रहेसम्म जेल सजाय माग दाबी गरिएको हो । हत्याका मुख्य योजनाकार भनिएका लोकजंग शाही, महेश रावल, कपिल श्रेष्ठ र जयन्द्र शाहलाई दफा १७७ (१) बमोजिम दफा १७७ (२) कसुरमा जन्मकैद सजायको माग अदालतमा गरिएको जोशीले बताए ।

हत्यामा मतियार भएका लोकेन्द्र कुँवर र सविनजंग शाहीलाई दफा ३६ (३) क बमोजिम कसुर गरेसरह दफा ३६ को (१) र (२) कसुरमा जन्मकैदको सजाय माग गरिएको छ ।

शाहीको योजनामा हत्या

करिब ३-४ वर्षदेखि लोकजंग शाहीको समूहले लामो समयदेखि कैलालीको लम्की, चिसापानी, टीकापुर क्षेत्रमा नदीजन्य पदार्थ तथा पैदावारको ठेकापट्टामा बर्चश्व जमाउँदै आएको थियो । उनीहरु आपराधिक लाभको लागि परिचालन हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यो समूहलाई हत्यामा संलग्न रही फरार रहेका भनिएका अशोक रावलले संरक्षण गर्दै आएका थिए ।

प्रहरीका अनुसार सुरुमा एउटै समूहमा रहेर काम गर्दै आएका जयन्द्र शाह र नविन रावलबीच मनमुटाव भयो । यस क्रममा गत भदौमा काठमाडौंको कालीमाटीमा जयन्द्र शाहको समूहले नविन रावल समूहका हिमाल शाहीलाई खुकुरी प्रहार गर्ने प्रयास गर्यो । त्यसपछि उनीहरुबीच एक अर्को समूहलाई आक्रमण गर्ने योजना बन्न थालेको प्रहरी बताउँछ ।

कात्तिक १७ गते जयन्द्र समूहको तर्फबाट कपिल श्रेष्ठ, नविन रावल र उनको समूहमाथि आक्रमण गर्ने योजना बनाएर २० गते कैलालीको लम्की गई मुनमुन होटलमा बस्छन् । त्यसको भोलिपल्ट र पर्सिपल्ट उनी बौनियास्थित अनुकूल होटलमा बसेर नविन रावललाई आक्रमण गर्ने उपयुक्त अवसरका खोजीमा रहन्छन् । यसैबीच, नविन रावलको समूह लम्कीमा आयोजित फुटबल हेर्न आएको थाहा हुन्छ । तर, आफ्नो समूहको कोही नआउँदा आक्रमणको योजना विफल भएको बयान दिएका छन् ।

यसबीचमा अर्को समूहका मदन शाहीले नविनलाई भेटेका हुन्छन् । जुन कुराको जानकारी उनले नविन रावल समूहलाई दिन्छन् । त्यसपछि उनीहरु जयन्द्र समूहको जो भेटेपनि आक्रमण गर्ने योजनासहित तयार हुन्छन् । यता, नविन रावल समूहलाई आक्रमण गर्ने योजनामा लम्कीचुहा पुगेका कपिल श्रेष्ठ एक्लिन्छन् । आक्रमणका लागि समूहका कोही नआएपछि उनी टीकापुर क्षेत्रमा लुकेर बस्छन् र  लम्कीमा रहेका मृतक भुपेन्द्र बडुवाललाई फोन गरेर लिन बोलाउँछन् ।

जयन्द्र समूहका जो कोहीलाई पनि भेटे आक्रमणका लागि तयार भएका नविन रावलको समूहका आर्यन देवकोटा, चिरञ्जिवी शाही र रोशन शाही र नविन रावल आफै निस्किन्छन् । यो समूहसँग भुपेन्द्रको टीकापुर जमरा पुलनजिकै भेट हुन्छ । उनीहरुले भुपेन्द्रलाई २ किलोमिटरसम्म लखेट्छन् । र, सिद्धार्थ होटल पुगेपछि भुपेन्द्रले मोटरसाइकल छाडेर आफन्तको घरमा छिर्न लाग्दै गर्दा कौशीदेवी विष्टको घरको पेटीमा नै उनीमाथि सांघातिक आक्रमण हुन्छ । उनको पेट, छाती, पिठ्यु, टाउकोमा चक्कु र खुकुरीको प्रहार गरिएको प्रहरीले उल्लेख गरेको छ ।

बाँकी अभियुक्त भारतमा हुन सक्ने

हत्यापछि लोकजंग शाहीको योजनामा नै चायाँ भावर गाउँमा खाने बस्ने व्यवस्थापन गर्ने, खर्च दिने र २५ गते प्रतिवादीहरुलाई भगाउन सविनजंग शाहीले कार भाडामा लिएको खुल्न आएको प्रहरीले बताएको छ । प्रहरीले फरार प्रतिवादीहरु भारत भागेको हुन सक्ने जनाएको छ ।

प्रहरीले यी दुवै समूहका सदस्यहरुमध्ये केहीविरुद्ध जिल्ला मातहत र काठमाडौंमा समेत ६ वटा ज्यान मारेको अभियोगमा मुद्धा र २ वटा हातहतियार र खरखजानासम्बन्धी मुद्दा दर्ता भएको जानकारी दिएको छ । उनीहरुमध्ये केही धरौटीमा रिहा भएका, केहीले मुद्दा खेपिरहेका छन् ।

बन्दुक बोकेको भिडियो अपलोड

प्रहरीले यो समूहका विभिन्न सदस्यको फेसबुक पेजमा बन्दुक बोकेको भिडियो अपलोड हुने गरेको जानकारी दिएको छ । उनीहरुले बन्दुक बोकेको भिडियो देखाउँदै धम्क्याउँदै रकम असुली गर्दै आएका थिए । उनीहरुको समूहबारे थप अनुसन्धान गरी एक बोरा खुकुरीसमेत बरामद गरेको डिएसपी जोशीले बताए ।

घटनास्थलबाट सु.प.प.०१००८ प ५५६५ नम्बरको स्कुटर र सु.प.प्र. ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । सिद्धार्थ होटलमा कैद भएको फुटेजमा भुपेन्द्रमाथि प्रहार गरेर ती नम्बरको मोटरसाइकल चढेर फरार भएको उल्लेख छ । भुपेन्द्रको मोटरसाइकल पछ्याउँदै आएको नविन रावलसमेतको समूहले भुपेन्द्रको टाउको, पिठ्यूँमा प्रहार गरेको थियो । 

डिएसपी जोशीले लोकजंग शाही लगायतले हत्या र आक्रमणका लागि प्रशिक्षण दिने गरेका भिडियोहरुसमेत फेला पारेको बताएका छन् ।  प्रहरीले २१ जना अभियुक्तको बारेमा पत्ता लागेको जनाएको छ ।

सोमबार पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डिएसपी जोशीले भने, ‘यो घटनापछि यी दुई समूह तितरबितर भएको छ । अब थप आक्रमण हुने सम्भावना कम छ ।’ जुनकुनै स्थानमा लुकेर बसे पनि खोजतलास जारी रहने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप