शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकारिता कि राजनीति ?

पत्रकारलाई राजनीति नगर्न विज्ञप्ति, केन्द्रीय उपाध्यक्ष अधिकारीले महासंघ छाड्ने
मङ्गलबार, २१ मङ्सिर २०७८, १२ : ४२
मङ्गलबार, २१ मङ्सिर २०७८

पत्रकार दीपेन्द्र कुँवरले ३० कार्तिकमा एक ट्विट गरे, ‘जिते नेता, हारे पत्रकार गज्जब छ बा ।’ नेपाल पत्रकार महासंघका पदाधिकारीहरु नै धमाधम विभिन्न पार्टीको पदाधिकारी बन्ने उम्मेदवारी घोषणा गरेपछि त्यसलाई लक्षित गर्दै कुँवरको अभिव्यक्ति आएको थियो ।

लगत्तै ५ मंसिरमा नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पदाधिकारी पत्रकारलाई राजनीति नगर्न अल्टिमेटम दिन खालको प्रेस विज्ञप्ति जारी गरेपछि एक किसिमको तरंग नै उत्पन्न भयो ।

महासंघमा कि राजनीतिमा ?

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीदेखि केन्द्रीय सचिव दीप्रेन्द्र चौहान, महासंघका केन्द्रीय सदस्य सरिता पंगेनी,  अनि केही केन्द्रीय सदस्यले पार्टी चुनावमा उम्मेदवारी दिएपछि महासंघका पदाधिकारीलाई लगाम लगाउन महासंघले विज्ञप्ति जारी गरेको थियो । लगत्तै नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले नेपाली काँग्रेस भक्तपुर नगर कार्यसमितिबाट राजीनामा दिए । महासंघले विज्ञप्ती जारी गरेको भोलिपल्टै ६ मंसिरमा उनले महासंघलाई बोधार्थ पठाउँदै विधानको पालना गर्ने बताए ।

बाला अधिकारी

उता पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पनि पत्रकार महासंघको जिम्मेवारीमा नरहने उद्घोष गरेकी छन् । सामाजिक सञ्जालमा उनले उल्लेख गरेकी छिन्, ‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचारसंहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ।’ उनले अब आफ्नो गन्तव्य पार्टी राजनीतितिर भएको भन्दै पत्रकार महासंघको २६औं महाधिवेशनमा अमूल्य भोट दिने सबैप्रति आभार व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमा जिम्मेवारीमा नरहने सूचना जारी गरे पनि महासंघमा अहिलेसम्म उनको आधिकारिक राजीनामा भने पुगेको छैन ।

केन्द्रीय उपाध्यक्ष अधिकारीले राजीनामा दिने भएपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीलाई पनि नैतिक दवाव परेको छ । उनी नेपाली कांग्रेस पर्वत, प्रदेश नं. ख को सचिवमा विजयी भएका छन् ।

के थियो विज्ञप्तिमा ?

महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको पुरीको विज्ञप्तिको पेटबेलीमा थियो । उनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको सम्झना गराएका थिए । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघले आग्रह गरेको चेतावनी पनि थियो विज्ञप्तिमा ।

गत ९ भदौमा मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेको छ । सोही बुँदा उद्धृत गर्दै महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा रहेको इंगित गरिएको थियो । कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले आग्रह गरेको थियो ।

फोकटको विज्ञप्तिः महासंघका पूर्व सचिव दाहाल

बाह्रखरी डटकमका कार्यकारी सम्पादक गोविन्द अधिकारीलाई नेपाल पत्रकार महासंघले जारी गरेको विज्ञप्तीमा रत्तीभर विश्वास थिएन । उनको भनाइ थियो, ‘महासंघले आफ्ना विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि बनेकोमा आपत्ति प्रकट गर्दै कारबाही गर्ने भनेछ । तिनलाई कारवाही गरे म १५ वर्ष पहिले नवीकरण गर्न छाडेको महासंघको सदस्यता फेरि लिनेछु ।’

उता एन्टेना फाउण्डेशनका निर्देशक विनयशेखर गुरागाईं खुमलटार, कोटेश्वर, बालकोट, बुढानीलकण्ठको ढोका कुरेर आशीर्वाद पाई पत्रकारका नेता भएका सर, मिसहरुले पत्रकारले राजनीति गर्नु हुँदैन भन्दै विज्ञप्ती निकालेको सुहाएन भनेर कटाक्ष गरेका छन् । उनको भनाइ छ, उनीहरु दलको कार्यकर्ता थिएनन् भने त महासंघको चुनावमा गजेन्द्र बुढाथोकी उहिल्यै अध्यक्ष भैसक्थे ।

पत्रकार रामचन्द्र नेपाल अरु पेशा गर्नेले राजनीतिक पार्टीको कार्यकारी पदमा बस्न हुने, पत्रकारिता गर्नेले किन नहुने ? भन्ने प्रतिप्रश्न गरेका छन् । यो विज्ञप्तीको पालना केन्द्रिय पदाधिकारीबाटै हुने उनलाई आशंका छ । भन्छन्, ‘राजनीतिक दलमा लागेको र नलागेको, स्वतन्त्र पत्रकारिता भयो या भएन भनेर महासंघले हेर्न आवश्यक छैन । स्वतन्त्र पत्रकारिता केन्द्रीय पदाधिकारीले नि गरेका छैनन् । विज्ञप्ति पनि स्वतन्त्र भएर आउन्न । अहिलेको सत्ता गठबन्धनको पक्ष पोषण गरेर विज्ञप्ती निकाल्नेले अझ स्वतन्त्र पत्रकारिता ?’

अर्का पत्रकार कमल न्यौपाने पत्रकार महासंघ राजनीतिक दलको प्रचार कमिटी भएको आरोप लगाउँछन् । उनको तीखो टिप्पणी छ, ‘यहाँ रहेका सबै पदाधिकारी दलका झुण्ड र सूचना अधिकारी हुन् । यस्ता पाखण्डी र दलका हनुमानले गर्दा वास्तविक पत्रकारको बदनाम भो ।’

नेपाल पत्रकार महासंंका पूर्व सचिव रामप्रसाद दाहाल चुनौती दिन्छन्, ‘ल केन्द्रीय समितिबाट शुद्धीकरण गरेर देखाऊन् । नभए यो फोकटको विज्ञप्ति हो ।’

पत्रकारले एकैपटक दुइटा काम गर्नहुन्नः पूर्व अध्यक्ष झा

लामो समय गोरखापत्र दैनिकमा कार्यरत रही हाल स्वतन्त्र पत्रकारिता गरिरहेका गोकर्ण अर्याल धादिङ क्षेत्र २ बाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार थिए । अन्तिम समयमा आएर उनले उम्मेदवारी फिर्ता लिएका छन् । अर्याललाई नेपाल पत्रकार महासंघको मुख्य जिम्मेवार पदमा रहेकाको हकमा विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि हुन नपाउनु ठिकै जस्तो लाग्छ । अर्याल भन्छन्,‘तर महासंघका साधारण सदस्यहरूसमेतलाई बन्धनमा बाँध्ने खालको विज्ञप्ती अपरिपक्व हो । महासंघले कसैको वैयक्तिक स्वतन्त्रता हनन गर्न मिल्दैन । यस्तो विज्ञप्ती कसको स्वार्थमा आएको हो थाहा भएन । महासंघको केन्द्रिय पदाधिकारीहरूको विगत हेरौं, को कुन दलको झण्डा च्यापेर सांसद, मन्त्री भए छर्लंगै छ ।

धर्मेन्द्र झा

नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष, धर्मेन्द्र झा भन्छन्, ‘पत्रकारले एकैपटक दुइटा काम गर्नहुन्न भन्ने मलाई लाग्छ । राजनीति गर्दै पत्रकारितामा कसरी सन्तुलन कायम गर्न सकिएला र ? त्यसैले, अहिले महासंघले निकालेको विज्ञप्ती ठिक छ । तर कार्यान्वयन हुने देखिन्न ।’ उनले आफू कुनैबेला नेपाली कांग्रेसको समानुपातिक सांसदको उम्मेदवारको मनोनयनमा परेपछि अन्नपूर्ण पोष्ट दैनिकको कार्यकारी सम्पादकबाट राजीनामा दिएको स्मरण गर्छन्, ‘त्यतिबेला मेरो तलब आकर्षक थियो । उम्मेदवारको मनोनयनमा पर्ने बित्तिकै राजीनामा दिन कार्यालयले पनि भनेको थिएन । आखिर पार्टीले सांसद बनाएन । जागिर पनि गयो ।’ उनले आफू सक्रिय राजनीतिमा छँदा एउटा लेखसम्म पनि नलेखेको, अहिले पुनः पत्रकारिता गर्दा राजनीति त्यागेको बताए ।

नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरेपछि विभिन्न पार्टीमा उम्मेदवारी दिने महासंघका पदाधिकारीहरुले सामाजिक सञ्जालबाट आफ्नो उम्मेदवारीको सूचना फ्लेक्स हटाएका थिए । रातोपाटीले उनीहरुको उम्मेदवारीको सूचना फ्लेक्समा दिइएको सम्पर्क नम्बरमा फोन गर्दा धेरैको स्वीच अफ थियो, केहीको रिङ गए पनि फोन उठेन ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएम भन्छन्, ‘हामी महासंघका पदाधिकारी कुनै दल निकट पत्रकारको छाता संगठनबाट प्रतिनिधि भएर आएका हौं । तर महासंघमा आइसकेपछि आफूले जिम्मेवारी लिएको पदाधिकारीको महत्व पनि ख्याल राख्नुपर्छ । उही ब्यक्ति पार्टीको प्रतिनिधि, उही पत्रकार महासंघको पदाधिकारी भएर बोल्दा सन्तुलन हुन्न ।’ उनको भनाइमा पत्रकारितासँग सम्बद्ध पार्टी निकटको छाता संगठन प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टरदेखि पार्टीको प्रचार विभागमा महासंघबाट बस्न रोकिएको छैन । 

महासंघकै जिम्मेवार केन्द्रीय पदाधिकारी पार्टी गतिविधिमा उत्रिएपछि लगाम लगाउन विज्ञप्ति जारी गरिएको तर महासंघको साधारण सदस्यको हकमा यो लागु नहुने उपाध्यक्ष जिएमले प्रष्ट्याए । उनले रातोपाटीलाई भने, ‘खासमा हाम्रो पदाधिकारी दलकोमा र दलका पदाधिकारी हाम्रोमा नहोऊन् भन्ने हो ।’ जितेर पार्टीगत राजनीतिमा लागेपछि महासंघमा तिनीहरुको संग्लग्नता के हुने ? छलफल गरिने पनि उनले बताए ।

वीरगञ्ज महानगरपालिकाको कांग्रेस सभापतिको उम्मेदवार बनेका छन् महासंघको केन्द्रीय सचिव दीपेन्द्र चौहान । उनको भनाइ छ, नेपाल पत्रकार महासंघको निर्वाचनमा हामीले व्यक्तिगत रुपमा आफ्नो उम्मेदवारी दिएका थिएनौं, त्यहाँ पनि संस्थागत किसिमको उम्मेदवारी थियो । नेपाल प्रेस युनियनले मलाई सचिवको उम्मेदवार बनाएको थियो, त्यहीअनुसार आएँ, मेरो व्यक्तिगत सिंगल एजेण्डा थिएन । विचारहरू व्यक्तिगत हुन सक्छन् । ती विचारहरुमा म अझै पनि कायम नै छु । पत्रकार महासंघको एजेण्डा संस्थागत र सामूहिक एजेण्डा हो, त्यो अन्तर्गत हामी काम गर्छौ ।

चौहानले पत्रकारिताको गरेको ३० वर्ष भयो । अब कति पत्रकारिता मात्र गरिरहने, अब राजनीति गर्ने बेला भयो भनेर साथीहरूले भनेकाले राजनीतिमा होमिएको उनी बताउँछन् । अर्थात् ‘जिते नेता, हारे पत्रकार ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज सर्वहारी
कृष्णराज सर्वहारी
लेखकबाट थप