मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशनमा ट्राफिक व्यवस्थापन : पाँच ठाउँमा पार्किङ, एक सिफ्टमा ३५० जनशक्ति परिचालन

बिहीबार, २३ मङ्सिर २०७८, ०७ : १४
बिहीबार, २३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४औँ महाधिवेशन सुरु हुन एक दिन बाँकी छ । महाधिवेशन प्रतिनिधिसहित नेता कार्यकर्ता महाधिवेशन स्थल काठमाडौँ आउन सुरु गरेका छन् ।

२४-२७ मङ्सिरसम्म काठमाडौँको भृकुटीमण्डपमा महाधिवेशन हुँदैछ । महाधिवेशन नजिकिँदै गर्दा ट्राफिक व्यवस्थापनको चिन्ता बढेको छ । बढ्दो सवारी चापले प्रभावित उपत्यकाको ट्राफिक व्यवस्थापन देशभरबाट तीन लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनका कारण थप अस्तव्यस्त हुने निश्चित छ । यस्तोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापनको योजना बनाएको छ ।

 ट्राफिक व्यवस्थाका दुई मुख्य कुरामा एउटा जनशक्ति परिचालन र अर्को पार्किङस्थल हो । यी दुवै विषयमा ट्राफिक महाशाखा तयारीमा लागेको छ । महाधिवेशन स्थल वरिपरिको रुटमा प्रत्येक सिफ्टमा ३५० ट्राफिक प्रहरी परिचालन गरिने ट्राफिक महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । ‘अस्त व्यस्त नहुने गरी मिलाएका छौँ । आउने रुटमा थप जनशक्ति परिचालन गरेका छौँ,’ उनले भने, ‘यो क्षेत्रमा जनशक्ति पनि बढाएका छौँ । हामीले एक सिफ्टमा ३५० ट्राफिक प्रहरी यो महाधिवेशन वरिपरि खटिन्छन् । यो नर्मल अवस्थाभन्दा बढी हो ।’

माइतीघर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रलाई फोकस गरेर जनशक्ति थप गरिएको हो । ‘योभन्दा अगाडि ठुला कार्यक्रम पनि व्यवस्थापन गरेको अनुभवका आधारमा व्यवस्थापनको योजना बनाएका छौँ । नर्मल अवस्थाभन्दा अलिकति असहज होला । तर अस्तव्यस्त नै हुने अवस्था आउँदैन,’ उनले भने ।  

असहज अवस्था आए वैकल्पिक उपाय अपनाउने उनको भनाइ छ । ‘अरू सवारी चल्नै नसक्ने अवस्था हुँदैन । अरू गाडी पनि चल्छन् । हामीलाई अलिकति समस्या जुलुस निकालेको बेला हो । त्यस्तो बेला केही समयलाई डाइभर्ट गरेर मिलाउँछौ । वैकल्पिक बाटोबाट पठाउँछौं । त्यस्तो अस्तव्यस्त हुने अवस्था आउँदैन,’  एसएसपी भट्टराई भन्छन्, ‘इन्ट्री पोइन्ट हेरिन्छ । असहज अवस्था आए डाइभर्ट गरेर मिलाइन्छ ।’

दोस्रो महत्त्वपूर्ण विषय पार्किङ स्थल हो । देशभरबाट आएका कार्यकर्ताले प्रयोग गरेका सवारी महाधिवेशन स्थल नजिकै पार्किङ गराउनु पनि चुनौतीपूर्ण छ । यसमा पनि ट्राफिक महाशाखाले सबैका लागि हुने गरी चारदेखि पाँच स्थान तोकेर पार्किङको व्यवस्था मिलाएको छ । 

एसएसपी भट्टराईका अनुसार पार्किङस्थल खुला मञ्चमा तोकिएको छ । टुँडिखेलमा पनि राखिएको छ । भीआईपीका गाडी भृकुटीमण्डपभित्रै राख्ने व्यवस्था मिलाइएको छ । राष्ट्रियसभा गृहमा पनि राख्ने प्रबन्ध मिलाइएको छ ।  ‘भीआईपी, महाधिवेशन प्रतिनिधि, अन्य कार्यकर्ताको छुट्टाछुट्टै मिलाइएको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप