मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

विमलेन्द्रको फोनपछि रामचन्द्र महाधिवेशनमा हाजिर हुने

शुक्रबार, २४ मङ्सिर २०७८, १२ : २३
शुक्रबार, २४ मङ्सिर २०७८

आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने क्रममा नेताहरुसँग भनाभनपछि महाधिवेशनको उद्घाटन मै सहभागी नहुने बताएका वरिष्ठ नेता रामचन्द्र पौडेल उद्घाटन सत्रमा उपस्थित हुने भएका छन् ।

बुधबार बेलुका नेता प्रकाशमान सिंहको घरमा नेताहरु सिंह र शेखर कोइरालालाई सहमतिमा साझा उम्मेदवार छान्ने प्रस्तावमाथि छलफल गर्दा सहमति नजुटेपछि पौडेल आफु अब काँग्रेसको राजनीतिबाटै सन्यास लिने भनेर हिँडेका थिए । त्यसक्रममा उनले आफु महाधिवेशनमा समेत सहभागी नहुने बताएका थिए ।

त्यसको भोलिपल्ट बिहीबार दिनभर मोवाइल समेत डाइभर्ट गरेर कसैसँग सम्पर्कमा नआएका पौडेललाई आज शुक्रबार उद्घाटन हुने महाधिवेशनमा सहभागी हुन अर्का नेता विमलेन्द्र निधिले फोनमार्फत आग्रह गरेका थिए । निधीले पौडेललाई फोन गरेर तपाई नै महाधिवेशनमा सहभागी नहुँदा काँग्रेसमा राम्रो सन्देश नजाने भएकाले जसरी पनि सहभागी हुन आग्रह गरेका थिए ।

‘तपाईं जस्तो नेता नै महाधिवेशनमा सहभागी नहुने भन्ने कुराले राम्रो सन्देश दिँदैन । तपाईले निर्णय बदल्न जरुरी छ । त्यसैले जसरी पनि आउनुपर्छ’, निधिले पौडेललाई फोनमार्फत आग्रह गरेका थिए । जवाफमा पौडेलले ‘त्यसो भए म आउँछु नि त !’ भन्ने जवाफ दिएको निधि निकट स्रोतले जनाएको छ ।

काँग्रेसको १४ औं महाधिवेशन आजबाट सुरु हुँदैछ । भृकुटीमण्डपमा उद्घाटन हुने महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्व छनोट गर्दैछ । त्यसका लागि संस्थापन पक्ष र संस्थापनइतर पक्षले छुट्टाछुट्टै सभापति सहितका पदमा उम्मेदवारी दिँदैछन् । संस्थापन इतर पक्षमा सभापतिका उम्मेदवार धेरै भएपछि एउटा उम्मेदवार तय गर्न सकस परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप