दोस्रो चरणमा देउवालाई नसघाउने निधिको घोषणा

नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव भएमा आफूले शेरबहादुर देउवालाई नसघाउने घोषणा गरेका छन् । आइतबार भृकुटीमण्डपमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै निधिले भने, ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुन्छौं ।’
काँग्रेस सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला र कल्याण गुरुङसँगै निधिले पनि उम्मेदवारी दर्ता गराएका छन् । यसअघि देउवा गुटमा नै रहेका निधिले दोस्रो चरणमा देउवालाई सघाउन सक्ने अनुमान गरिँदै आएको थियो । तर, सबैको अनुमानविपरीत निधिले दोस्रो चरणमा देउवाइतर समूहसँग मिल्ने खुलासा गरे ।
पछिल्लो समय देउवा र निधिबीच सम्बन्ध चिसिएको छ । निधिले सभापतिमा उम्मेदवारी घोषणा गरे पनि देउवाले उनीप्रति कुनै चासो देखाएका छैनन् । बरु कृष्णप्रसाद सिटौलासँग तालमेल गरेका छन् ।
सभापतिमा उम्मेदवारी घोषणा गरेका निधिले पदाधिकारीहरुको पूर्ण प्यानल बनाउन नसकेपछि उनी पहिलो चरणबाट नै आउट हुने सम्भावना बढेको छ । पहिलो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने र सिंहसँगै निधि पनि आउट हुने विश्लेषण गरिँदै आएका बेला निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत नकटाउने ठोकुवा गरेका छन् ।
नेपाली काँग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ ।
अघिल्लो १३औं महाधिवेशनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदा कसैले ५० प्रतिशत मत कटाउन सकेका थिएनन् । दोस्रो चरणमा सिटौला आउट भएका थिए भने देउवा र पौडेलबीच पुनः मतदान भएको थियो । जसमा देउवा विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ काठमाडौँले बुझायो महानगरसहित ११ पालिकालाई ध्यानाकर्षणपत्र
-
क्षेत्राधिकार भन्दा बाहिर गएर परराष्ट्रले लेखेको पत्रको औचित्य छैन : शर्मा
-
यार्सा टिप्न गएका दुई जनाको मृत्यु
-
‘माओवादी फुर्को’ले साना वाममा ठुलो पहिरो, नेसपामा सम्बन्ध बिग्रियो
-
ज्ञानेन्द्रले फेरि गरे राजावादी नेताहरूसँग भेट, छलफलको विषय गोप्य राखियो
-
'यो अहिलेसम्मको सबैभन्दा कमजोर नीति तथा कार्यक्रम हो'