बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अल्लो व्यवसायले ‘हेल्लो’ भन्ने फुर्सद छैन

राई दम्पतीको व्यापार विदेशमा समेत फैलिदो
सोमबार, २७ मङ्सिर २०७८, १६ : ०२
सोमबार, २७ मङ्सिर २०७८

मोरङको सुन्दर हरैचा, विराटचौकस्थित ‘लुमा घरेलु अल्लो कपडा उद्योग’ले अहिले स्वदेश मात्रै होइन, विदेशमा समेत व्यापार फैलाएको छ । ९ वर्षअघि सीता र अशोक कुलुङ राई दम्पतीले नयाँ व्यवसाय गर्ने सोचअनुरुप अल्लो प्रशोधन गरी कपडा बनाउने उद्योगको स्थापनाले अहिले मालामाल भएका छन् ।

उद्योगकी प्रोप्राइटर सीता आठपरियालाई हिजोआज एकछिन पनि फुुर्सद हुुँदैन । उनको उद्योगमा अहिले १२ जनाले रोजगारी पाएका छन् । अल्लो र ढाकाबाट निर्मित कपडाको माग निकै बढेपछि उनी आफै पनि तान बुन्नमै व्यस्त हुन्छिन् । अल्लो र ढाकाका कपडाबाट कोट, साडी, सल, मफलर, आउटर, पञ्चुु, कुुर्ता, ब्याग, पर्स, झोला, टोपी, जुत्ताचप्पल पनि बुनिन्छ ।

उद्योगको सुरुवाती दिनमा कतिपयले तराईजस्तो ९ महिना गर्मी हुने ठाउँमा अल्लो र ढाकाका कपडा उत्पादन गर्ने यिनीहरु बौलाएछन् भन्ने भ्याए । प्रशोधन गरेको अल्लोबाट कोट लगायतका सामग्री बनाउन टेलरिङ मेसिनको काम गर्दा दलितले गर्ने काम भनेर परिवार र साथीभाइहरुले खिसिट्युरी पनि गरे । तर आफ्नो योजनाबाट विचलित भएनन् कुलुङ दम्पती ।

परम्परागत काठको तानमा हातले बुनिने अल्लो कपडाको माग स्वदेश र विदेशमा पनि बढेपछि अहिले अल्लोको कपडा उत्पादन गर्ने आठपरिया दम्पतीलाई यही व्यवसायले नाम, दाम र समाजमा इज्जत पनि दिएको छ । सञ्चालिका सीता आठपरिया भन्छिन्, ‘निरन्तरको मेहनत र लगनशीलताले मलाई समाजमा यही व्यवसायले उद्योगीका रुपमा स्थापित गरेको छ । व्यवसायबाट जग्गा जमिनसमेत जोडेकाले म सन्तुष्ट छु ।’

अल्लो प्रशोधन गरी निर्माण गरिएको कोटको माग धेरै हुने गरेको छ । उनको उद्योगमा ५ हजारदेखि १५ हजारसम्मको कोट तयार हुने गरेको छ । कोटसँगै  ढाकाको तानमा बुनेको साडीको माग पनि उत्तिकै छ । पाँच हजारदेखि २० हजार रुपैया पर्ने एउटा साडी तयार गर्न १५ देखि २० दिन समय लाग्ने गरेको छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभाबाट अल्लोको कच्चा पदार्थ ल्याइन्छ । आफन्तसँग लिएको १० लाख ऋण लिएर उद्योग स्थापना गरी व्यवसाय थालेको राई दम्पतीको अहिले अहिले मासिक पाँच लाख बढीको आम्दानी गदै आएका छन् । घर घरमा हाते तान राखेर तयार गरिएका अल्लोका कपडा स्तरीय र आकर्षक भएपछि माग पनि बढेकाले बजारको कुनै समस्या नरहेको सञ्चालक सीता बताउँछिन् ।

अल्लोको कपडाले अहिले विभिन्न मेला महोत्सवमा समेत निकै बजार पाउन थालेको छ । जसले उनको उद्योगमा उत्पादित सामग्रीको मार्केटिङ समेत सहजता थपिदिएको छ । उत्पादित सामान झापा, धरान, पोखरा, काठमाडौं र पश्चिम नेपालका विभिन्न बजारसम्म पुग्ने गर्छ । नेपालमा मात्र नभएर पछिल्लो समय यहाँ उत्पादित सामग्री हङकङ, जर्मन, थाइल्यान्ड, चीनसम्म पुग्ने गरेको छ । स्थानीय सीप र कच्चा पदार्थ प्रयोगबाट उत्पादित अल्लो कपडाको माग तेश्रो मुलुकबाट आएपछि  राई दम्पती व्यवसायी झनै उत्साहित भएका छन् ।

‘नेपालका विभिन्न शहरमा हुने महोत्सवमा हाम्रा उत्पादन पुग्ने गरेका छन्,’ ३३ बर्षीय सञ्चालक अशोकले भन्छन्,,‘महोत्सव घुम्न आउने प्रायःले फर्किंदा कोसेलीका रूपमा अल्लोका कपडा लिएर जान्छन् ।’ उनीहरुको उद्योगमा अल्लोको प्रशोधनसँगै कपडा तयार गर्न १२ वटा तान र ५ वटा सिलाई मेशिन दिनभर चल्छ । राई दम्पतीले आफूमात्र होइन, आफूजस्तै अरुलाई पनि उद्यमी बनाउन तालिमसमेत दिदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप