अर्थमन्त्रीको मन्त्रालयहरूलाई निर्देशन : ‘पुस मसान्तभित्र कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्नुस्’
अर्थमन्त्री जनार्दन शर्माले पुस मसान्तसम्म कुल बजेको कम्तिमा ३० प्रतिशत बजेट खर्च गरिसक्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पूँजीगत खर्चसम्बन्धी अन्तर मन्त्रालयगत छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
समयमा पुँजीगत खर्च हुन नसक्दा तरलतामा समेत असर परेको बताउँदै मन्त्री शर्माले विकास खर्च गर्ने मन्त्रालयहरूलाई चाँडो खर्च गर्न आग्रह गरे । ‘बजेटहरूको सम्बन्धमा ढिलासुस्ती अर्थ मन्त्रालयले गर्न मिल्दैन, गर्न पाउँदैन र गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने, ‘आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत बजेट यो महिनाभित्र खर्च भएको हुनुपर्छ ।’ समयमै खर्च गर्न अर्थ मन्त्रालयले गर्नुपर्ने सम्पूर्ण समन्वय लगायतका कार्यहरू समयमै गर्ने समेत उनले प्रतिबद्धता जाहेर गरे ।
बजेट खर्चको चौमासिक समीक्षा गर्दा खर्च हुन नसकेको अवस्था देखिए त्यसलाई रकमान्तर गरिने समेत मन्त्री शर्माले सचिवहरूलाई चेतावनी दिए । ‘बजेट त्यहीँ बसिराख्दैन । यो बजेट अन्तिममा दिन्छु भनेर मानिनेवाला छैन, अन्तिममा निकासा पनि गरिने छैन’, उनले भने, ‘असारमा आएर बजेट निकासा हुँदैन । जे निकासा हुने हो पहिले नै हुन्छ । खर्च हुँदैन भने खर्च हुने ठाउँमा पठाइदिन्छौँ ।’
उनले समयमै खर्च नहुने स्थिति देखिए प्रदेश तथा स्थानीय तहलगायत खर्च हुने स्थानमा बजेट स्थानान्तरण गरिने बताए । ‘खर्च गर्नुस्, बजेट लिनुस् । खर्च गर्नुहुन्न भने त्यो बजेट समातेर बस्न पाउनुहुन्न’ अर्थमन्त्रीले भने । यसैगरी मन्त्री शर्माले अर्थ मन्त्रालयमा फाइल आएको तीन दिनभित्र त्यसको जवाफ पठाउन पनि निर्देशन दिए ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा, खानेपानी मन्त्री उमाकान्त चौधरी लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश