शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

‘जुवाडे’को चेक फिर्ता गरेकोबारे छानबिन गर्न डिआईजीको नेतृत्वमा समिति गठन

बिहीबार, १५ पुस २०७८, ०९ : ०२
बिहीबार, १५ पुस २०७८

‘जुवाडे’बाट चेक बरामद गरेपछि मुद्दा चलाउनुको साटो काठमाडौँ प्रहरीले आरोपीलाई नै फिर्ता गरेको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले समिति गठन गरेको छ । अपराध अनुसन्धान विभागका डिआईजी राजेश कुमार लाल कर्णको नेतृत्वमा समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

असोज २५ मा काठमाडौँ प्रहरीले सुभाष भेटवालबाट २ करोड २९ लाखको बैंक अफ काठमाडौँको चेक बरामद गरेको थियो । सो चेक जुवा खालमा काटेको र जुवा खेलेको सिसिटिभी फुटेजमा देखिए पनि एसएसपी अशोक सिंहले मुद्दा चलाउन अस्वीकार गरेर चेक फिर्ता गरेको आरोप छ । घटनाबारे गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले समिति बनाएको हो । समितिका सदस्यहरूमा एसपी आभूषण तिम्सिना र डिएसपी सन्तोष तामाङ सदस्य छन् । 

असोज २२ मा सिन्धुलीका राजकुमार बराल र सुभाष भेटवाल बानेश्वरस्थित ‘९९ आना’ नामको घरजग्गा कारोबार गर्ने अफिसमा जुवा खेलेका थिए । त्यहाँ आफूलाई बोलाएर मदिरामा अखाद्य बस्तु मिसाएर खुवाएको र ७ थान चेक चोरेको भन्दै बरालले भोलिपल्ट प्रहरीमा उजुर गरेका थिए । 

काठमाडौँका तत्कालीन एसएसपी अशोक सिंहले चेक चोरेको आरोप लागेका सुभाष भेटवालालाई बोलाएर चेक फिर्ता लिएर आफैँ राखेका थिए । ‘९९ आना’को सिसिटिभी फुटेज हेर्दा बरालको चेक अर्का जुवाडेले भरेको देखिएको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

प्रहरीले सो कार्यालयमा छापा मारेर केही बुक तास, किताब र सिसिटिभी फुटेज पनि लिएको थियो । जुवा खेलेको र खेलाएको फुटेज प्रमाण भए पनि एसएसपी सिंहले मुद्दा अघि बढाउन अस्वीकार गरेर लामो समय चेक आफैँसँग राखेका थिए । पुस २ मा सरुवा भएर अर्का एसएसपी सुदिप गिरी काठमाडौँमा हाजिर हुन आए । गिरीलाई स्वागत गरेर हिँड्ने बेलामा सिंहले आरोपी भेटवाललाई बोलाएर २ करोड २९ लाखको चेक फिर्ता गरेको उजुरी परेको छ । 

गृह मन्त्रालयले पत्राचार गरेपछि घटना छानबिनका लागी अपराध अनुसन्धान विभागलाई जिम्मा दिइएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले बताए । उनले भने–‘अपराध अनुसन्धान विभागले आवश्यक अनुसन्धान गरिरहेको छ ।’ 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप