आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युवा मतदाता भन्छन्– नेताको कोट हेरेर भोट हाल्दैनौँ (भिडियोसहित)

‘हामीले भोट हालेर बनेको संसद विघटन नहोस्’
सोमबार, १९ पुस २०७८, १८ : ३१
सोमबार, १९ पुस २०७८

निर्वाचन आयोगले यतिबेला देशैभर मतदाता नामावली संकलन गरिरहेको छ । मतदाता सूचीमा नाम दर्ता गराउने अभियानमा युवाहरुको उत्साहजनक सहभागिता देखिएको छ । आउँदो चुनाबमा पहिलोपटक भोट हाल्न लाखौं युवा आतुर छन् ।  

अनामनगरस्थित काठमाडौं जिल्ला निर्वाचन कार्यालयमा सोमबार रातोपाटीको टोली पुग्दा मतदाता सूचीमा नाम दर्ता गराउन भेला भएका युवाहरुको निकै लामो लाइन देखियो । केही सातादेखि कार्यालय अगाडि यसैगरी युवाहरुको भीड देखिने गरेको छ ।

मतदाता सूचीमा नाम चढाउन काठमाडौं जिल्ला निर्वाचन कार्यालय अगाडि लाइनमा उभिएका केही युवासँग हामीले संक्षिप्त कुराकानी गर्यौं । यसक्रममा उनीहरुले आगामी चुनावमा नेताको कोट हेरेर हैन, काम हेरेर मतदान गर्ने बताए ।

आफ्नो नेता आफैंले चुन्ने अधिकारको सदुपयोग गर्दै देश विकास गर्ने अनि युवालाई विदेश पलायनबाट रोक्न सक्ने भिजन भएको युवा नेतालाई भोट हाल्ने जनकपुरकी १९ वर्षीया अनिता साहले रातोपाटीलाई बताइन् । उनले मतदान गर्ने कुराले आफूमा कौतुहल बढेको बताइन् ।

राजनीति समाज सेवा भए पनि नेताहरु जनताको सेवक बन्न छाडेर व्यक्तिगत लाभमा केन्द्रित बनेको केही युवाले गुनासो पोखे । मतदाता सूचीमा दर्ता हुन आएका एक युवाले देशमा दलाल पुँजीवाद हावी भएको भन्दै एमसीसी सम्झौता खारेज हुनुपर्ने समेत बताउन भ्याए ।​

​निर्वाचन कार्यालय अगाडि उभिएका केही युवाले नामावली संकलनका लागि गरिएको व्यवस्थापनप्रति असन्तोष जनाए । तर, बाहिरी अन्य जिल्लाका मतदाताको पनि काठमाडौंबाटै नाम संकलन भइरहेकाले केही भिड बढेको जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले बताए । उनले भने, ‘मतदाताको सहभागिता उत्साहजनक रहेको छ, बाहिर भिड भए पनि भित्रबाट पाएको सुविधाबाट सबैजना खुसी भएर फर्किएका छन् ।’

भट्टराईले रातोपाटीसँग कुरा गर्दै भने, ‘यो जुन लाइन देख्नुभएको छ, यो बाहिरी जिल्लामा ठेगाना रहेका तर काठमाडौंमा बस्नेहरु सहभागी हुन आउनुभएको हो’ काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले रातोपाटीसँग भने, ‘उहाँहरुले नामावली यहाँ संकलन गर्नुहुन्छ, तर मतदानचाहिँ आफ्नै ठाउँ (चुनाव क्षेत्र) बाट गर्नुहुन्छ ।’

काठमाडौंका मतदातामा उत्साह देखिएको छ : भट्टराई

निर्वाचन आयोगले देशैभरिका पालिकाहरुमा मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन अभियान थालेको भट्टराईले बताए । उनले भने, ‘हिमाली र पहाडी जिल्लामा १० दिनसम्म पहिलो चरणको अभियान चलाइएको थियो । तराईका जिल्ला र काठमाडौँ उपत्यकामा पहिलो चरणमा १५ दिन अभियान चलेको थियो ।

काठमाडौं जिल्लाको अभियानबारे जानकारी दिँदै भट्टराईले भने, ‘मंसिर १७ गतेदेखि पुस २ गतेसम्म हामी पाँचवटा पालिकामा गयौं । दक्षिणकाली, कीर्तिपुर, चन्द्रगिरि, नागार्जुन र तारकेश्वर नगरपालिकामा हामी पुसको २ गतेसम्म रह्यौं ।’

त्यस्तै पुस ४ देखि १८ गतेसम्म टोखा, बूढानीलकण्ठ, कागेश्वरी मनहरा र गोकर्णेश्वर नगरपालिकामा पुगेर मतदाता नामावली   संकलन गरिएको भट्टराईले रातोपाटीलाई बताए । उनले भने, ‘त्यहाँ पनि छुट्नुभयो कि भनेर काठमाडौं जिल्लाभरिका मतदाताका लागि हामीले भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा कम्प्युटर राखेका छौं, त्यहाँ पनि मतदाता आइराख्नुभएको छ ।’  

भिडियोः रोशन पोखरेल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप