बाढीपहिरो पीडितको गुनासो : प्रधानमन्त्री निरीक्षणमा आए, आएन राहत
अविरल वर्षापछि गत कात्तिक २ गते झरेको पहिराले पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाका मनकुमार योङहाङको गोठ बगायो । गोठमा रहेका चार माउ गाई र एउटा कोरली पहिरोमा पुरिए । पहिराको त्रास बढेपछि योङहाङको परिवार नजिकैको विद्यालयमा आश्रय लिएर बस्यो । एक सातासम्म विद्यालयमा रहेपछि पहिराको त्रास कम हुँदै गयो । त्यसपछि योङहाङ परिवार घर त फर्कियो तर आम्दानीको बाटो बन्द भइसकेको थियो ।
योङहाङ परिवारको आम्दानीको मुख्य माध्यम नै दूध बिक्री थियो । “त्यतिखेर १० लिटर दूध बेच्दै थियौँ । बाँकी तीन वटा गाई ब्याउन लागेका थिए”, योङहाङले भने, “यतिबेला ३५ लिटर दूध बेच्दै हुन्थेँ । तर विधाताले ठगेका होलान् ।” पहिराले खेतबारी क्षतविक्षत भएपछि खेती लगाउने स्थिति छैन । पशुपालनबाहेक यहाँ मकै र आलु खेती हुन्छ तर मकै पाक्न १० महिनामा लाग्छ । “अरु जागिर–सागिर थिएन । दूध बेचेर नानीहरु पढाउने, आफू पनि पालिने गरिन्थ्यो”, योङहाङले भने, “ऋणको ब्याज पनि तिर्दै थिएँ, अब कसरी ऋण तिर्ने भन्ने टुङ्गो छैन ।” पहिरामा परी योङहाङ परिवारका मात्रै छ लाख मूल्य पर्ने गाई मरेका थिए । दूध बेचेर बचाएको अलिअलि पैसा अहिलेसम्म खर्च गर्दै सकिएपछि योङहाङ परिवार सरकारको बाटो कुरेर बसेको छ ।
“अब गाई किन्न पैसा छैन । अहिलेसम्म कुनै सहयोग वा क्षतिपूर्ति पाएका छैनौँ”, योङहाङले भने । क्षतिपूर्ति पाउने आशामा योङहाङसहित स्थानीयवासीले जिल्ला प्रशासन कार्यालयमा क्षतिको विवरण पेश गरेका थिए । बाढीपहिराबाट प्रभावित क्षेत्र अवलोकनमा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न उनीहरु राँके बजार नपुगेका पनि होइनन् । “सरकारले क्षतिपूर्ति दिन्छ भन्ने सुनेर प्रधानमन्त्रीलाई भेट्न गएका थियौँ तर हामीलाई भेट्न र बोल्न समेत दिइएन”, योङहाङले भने । अहिले जीविका चलाउन समस्या परेको त छ नै, आउँदो वर्षायाममा पुनः पहिरो झरेर गाउँबाटै विस्थापित हुनुपर्ला कि भन्ने चिन्तामा स्थानीयवासीले दैनिकी गुजारिरहेका छन् ।
गत कात्तिक २ गते बेमौसमी वर्षापछि पहिरो जाँदा फाल्गुनन्द–३ निबुखोलाका हर्कबहादुर नेम्वाङको घरबाहेक सबै कुरा बगायो । “खेतीपाती गर्ने ठाउँ छैन । घर मात्रै टक्रक्क उभिएको छ”, नेम्वाङले सुनाए, “पहिरो पुङपुङ झर्यो‍ । सुँगुर र कुखुरा पहिरोमा बगे । अब पानी परेपछि घरमा बस्न सक्ने अवस्था छैन ।” प्रभावितले पहिरामा भएको क्षतिको विवरण मुचुल्का बनाई जिल्ला प्रशासनमा पेश गरेका छन् तर अहिलेसम्म राहत, क्षतिपूर्ति वा सहयोग आउनु त परैको कुरा सहयोग पाउनेबारे कुरा हुन छाड्दा पहिरो प्रभावित निराश छन् ।
“नेताहरु आएर सबै घुमेर हेरे । तिमीले क्षतिपूर्ति पाउँछौ, जिल्ला प्रशासन कार्यालयबाट पेश गर्नु भनेका थिए । तर खोइ ?”, नेम्वाङले प्रश्न गर्दै भने “प्रधानमन्त्री आए, तर क्षतिपूर्ति आएन । त्यहीँ मन्त्री देखाउनलाई मात्रै आएका थिए होला ।” प्रधानमन्त्रीले स्थलगत निरीक्षण गरेको दुई महिना बितिसक्दा पनि सहयोग नपाउँदा उनीहरु निराश बनेका हुन् ।
फाल्गुनन्द–३ गुम्बाडाँडाकै टङ्कबहादुर तामाङको परिवार यति बेला पहिरामा पुरिएको भान्साघर र गोठका सामग्री निकाल्न उत्खननमा व्यस्त छ । पहिरोमा तामाङको गाई र सुँगुर पुरिएका थिए तर अहिलेसम्म कुनै सहयोग नपाएको तामाङ बताउँछन् । योङहाङ, नेम्वाङ र तामाङ जस्तै फाल्गुनन्द–३ का मात्रै ३२ घरमा बाढी र पहिराले क्षति पुर्या‍एको छ । यहाँका दुई जना मृतकका परिवारले रु दुई लाखका दरले राहत पाउनुबाहेक बाढीपहिरो प्रभावित कसैले पनि कुनै सहयोग पाएका छैनन् ।
गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङ भने बाढीपहिराका प्रभावितलाई मल्हमपट्टी लगाउने सोच बनाइने बताउँछन् । “सानो रकम भए पनि सहयोग गर्ने सोच बनाए पनि दिन सकेका छैनौँ”, कुरुम्बाङले भने । विस्थापितलाई घर निर्माणका लागि तीन तहका सरकारको साझेदारीमा रकम दिने परिपत्र आएपछि गाउँपालिकाले दिनसक्ने राहत पनि रोक्नुपरेको उनले बताए ।
“फाल्गुनन्दमा मात्रै १०० भन्दा बढी परिवार विस्थापित भएका छन् । तीन सय बढी घर अति जोखिममा छन् । सयौँ पशुचौपाया मरेका थिए”, कुरुम्बाङले भने, “सहयोग र क्षतिपूर्ति दिन धेरै बजेट आवश्यक पर्छ । बाली, खेतबारीलगायतमा भएको क्षतिको त हिसाब गरेर सक्ने अवस्था नै छैन ।” अध्यक्ष कुरुम्बाङ बजेट अभावले क्षतिपूर्ति उपलब्ध गराउन कठिन पर्ने बताउँछन् । तर गाउँपालिकावासी समस्यामा गुज्रिरहँदा गाउँपालिका भने तालीम र गोष्ठी सञ्चालनमै व्यस्त छ । बाढी र पहिरोको प्रकोपपछि न त गाउँपालिकाले बजेट रकमान्तर गरी स्रोतको व्यवस्था गरेको छ, न माथिल्ला सरकारसँग प्रभावकारी पहल नै ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण