सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा चुनावका उम्मेदवारमाथि एउटा पनि परेन उजुरी

शुक्रबार, २३ पुस २०७८, १३ : ०२
शुक्रबार, २३ पुस २०७८

आउँदो माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिएमध्ये एकजना विरुद्ध पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस २१ गते उम्मेदवारको विरुद्धमा उजुरी दिने कार्यतालिका तोकिएकोमा निर्धारित समयमा कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।  

यस्तै निर्वाचनका लागि कुल १९ सिटका लागि विभिन्न दलबाट ४३ जनाले उम्मेदवारी दिएको र शुक्रबार मनोनयन जाँचको काम भइरहेको छ । शनिवार उम्मेदवारले उम्मेदवारी फिर्ता लिने र २५ गते अन्तिम नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

राष्ट्रिय सभाको १९ सदस्य पदका लागि हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र अन्य सात सदस्य निर्वाचित हुनेछन् । प्रदेश अनुसार प्रदेश १ बाट तीन जना, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन सदस्य निर्वाचित हुनेछन् । 

यो निर्वाचनमा एमालेले एक्लै उम्मेदवारी हालेको छ भने गठबन्धन दलले उम्मेदवार भागबन्डा गरेर उम्मेदवारी दिएका छन् । काँग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच–पाँच  जनता समाजवादीले २ र जनमोर्चाले एक सिटमा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन कार्यतालिका अनुसार यही पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते अन्तिम नामावली प्रकाशन गर्ने, पुस २५ गते उम्मेदवारलाई चुनाव चिह्न दिने र माघ १२ गते मतदानको कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप