सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रालयका सचिव नै कोभिड सङ्क्रमित : मापदण्ड लत्याउँदै मन्त्री झाँक्रीको पत्रकार सम्मेलन

सचिव गेलाल भन्छन्–भिडभाड हुने कार्यक्रम गर्दै नगरौँ
सोमबार, ०३ माघ २०७८, १८ : १८
सोमबार, ०३ माघ २०७८

सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको कोभिड रोकथाम सम्बन्धी मापदण्ड उल्लङ्घन गरेकी छिन् । कोभिड सङ्क्रमणको तेस्रो लहर ह्वात्तै बढिरहेका बेला सोमबार मन्त्री झाँक्रीले भिडभाड गरेर पत्रकार सम्मेलन गरेकी हुन् । सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाइरहेका बेला आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको कामको जानकारी गराउन उनले पत्रकार सम्मेलन डाकेकी हुन् ।  

सहरी विकास तथा भवन निर्माण विभागको हलमा गरिएको सम्मेलनमा झन्डै १ सय जना हाराहारी पत्रकार तथा कर्मचारीहरू सहभागी थिए । 

मास्क खोलेर बोल्ने झाँक्रीको चाहना पत्रकारले रोके

कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री झाँक्रीले मास्क खोलेर बोल्ने चाहना राखेकी थिइन् । कार्यक्रममा उनले मास्क खोलेर बोलौँ भन्दै प्रश्न सोधेकी थिइन् । पत्रकारहरूले मास्क लगाएरै बोल्नुस् भनेपछि उनले मास्क नखोली आफ्ना भनाई सुरु गरेकी थिइन् । झन्डै २ घण्टा भएको कार्यक्रममा सहरी विकास मन्त्रालयले विगतदेखि गर्दै आएका नियमित योजना तथा कामहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो । 

यता मन्त्रालयका सचिव मणिराम गेलाल भने अघिल्लो दिनमात्र कोभिड सङ्क्रमण भएपछि सम्मेलनमा सहभागी हुन सकेनन् । उनी कोभिड सङ्क्रमण भएपछि घरै आराम गरिरहेका गरिरहेका छन् । 

सचिव गेलाल भन्छन्–‘भिडभाड हुने कार्यक्रम गर्दै नगरौँ’

आइतबार दिउसो ३ बजेसम्म सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल कार्यालयमै थिए । कोभिड परीक्षण गराउँदा जब उनले आफू सङ्क्रमित भएको थाहा पाएपछि उनी अहिले घरमा आइसोलेसनमा बसिरहेका छन् । 

आफू कुन ठाउँमा पुगेका बेला कसरी सङ्क्रमित भएको भन्दै अनुमानै गर्न नसकेको उनले बताए ।  उनले ज्वरो, खोकी र घाँटी दुख्ने समस्या देखिएको र फोनबाट डाक्टरसँग परामर्श गर्दै सिटामोल कफ सिरफ जस्ता औषधी लिइरहेको बताए । 

उनले भने–‘धेरै गाह्रो भए अस्पताल आउनु भनेर डाक्टरले सुझाव दिनुभएको छ । अहिले घरमै आराम गरेर बसिरहेको छु ।’

उनले भिडभाड हुने कार्यक्रम नगर्न, मास्क खोलेर नबस्न सुझाव दिए । उनले भने–‘ओमिक्रोन धेरै सङ्क्रामक रहेछ । घर परिवारमा एक जनालाई लाग्यो भने पनि अरूलाई छिटो सर्ने रहेछ । परिवारका सदस्यलाई पनि टेष्ट गराउँदैछु । यो सङ्क्रमणबाट जोगिन मुख्यतः भिडभाडमा जान भएन । सरकारले बनाएको मापदण्ड भन्दा बढी भेला हुन भएन । अझ मास्क त खोल्नै भएन । एक्लै हुँदा मास्क लगाइरहेका हुन्छौँ, बेला बेला मास्क खोल्ने, मान्छे आउँदा अनुहार देखाउन मास्क खोल्ने हाम्रो परिपाटी पनि छ, मास्क खोल्न भएन । चिया खाँदा मास्क खोल्ने चलन छ । चिया खाने कार्यक्रम किन गर्नुपर्‍यो ? चिया खानका लागि पनि हामीले मास्क खोल्नुपर्ने हुन्छ । भिडभाडमा नजाने, मास्क नखोल्न र स्वास्थ्य मापदण्ड पालना गर्न मेरो सुझाव छ ।’

उनले मन्त्रीको सय दिन पुगेको बेला जानकारी गराउन पत्रकार गर्नु ठिकै भए पनि भीड गरेर कार्यक्रम गर्न भने नहुने बताए । उनले भने–‘त्यो कार्यक्रममा म थिइन्, कसरी भयो तर यो मात्र हैन कुनै पनि कार्यक्रम भिडभाड गरेर गर्न भएन ।’

स्रोतका अनुसार सहरी विकास मन्त्रालय अन्तर्गत रहेको सहरी विकास तथा भवन विभागका अन्य केही कर्मचारीहरू पनि कोभिड सङ्क्रमित भएका छन् । 

श्रममन्त्री श्रेष्ठले स्थगित गरे पत्रकार सम्मेलन 

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ किसनले भने पत्रकार सम्मेलन स्थगित गरे । उनले पनि मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा सय दिनको उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम राखेका थिए । मन्त्रालयका केही कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि जोखिमलाई ध्यानमा राख्दै पत्रकार सम्मेलन रद्द गरिएको मन्त्रीको सचिवालयले जनाएको छ । उनले सय दिनसम्म हासिल गरेका उपलब्धि इमेलमार्फत पठाइने जनाइएको छ । 

यस्तो छ सहरी विकास मन्त्री झाँक्रीको सय दिन पुगेको अवसरमा सार्वजनिक गरिएको प्रगति विवरण :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप