बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भिजिट भिसामा दुबई आएर बिचल्लीमा परेका नेपाली युवा नेपाल फर्किए

शुक्रबार, १४ माघ २०७८, १९ : ३७
शुक्रबार, १४ माघ २०७८

त्रिनेत्र कन्सल्टेन्सीमार्फत भिजिट भिसामा दुबई आएका केही नेपाली स्वदेश फर्केका छन् । आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत भिजिट भिसामा दुबई आएका ११८ जनामध्येका करिब २ दर्जन नेपाली युवा नेपाल फर्किएका हुन् ।

करिब पाँच महिना पहिले मनग्य तलब र आकर्षक जागिर पाउने आशामा दलालमार्फत भिजिट भिसामा आएका ११८ नेपाली युवा दुबईमा अलपत्र परेका थिए । तीमध्ये ४ दर्जन भन्दा बढी युवा नेपाली सेनाको जागिर छाडेका वा अवकाश पाएका थिए ।

पीडित युवाका अनुसार उनीहरुलाई नेपालबाट सन्तोष प्याकुरेल, खगेन्द्र फुयाल, अर्जुन खड्का, दीपक उप्रेती, दीपक पौड्याल, रूपक गिरी, टंक सिटौला, सुमन लम्साल, दमन चन्द, मधु बाँस्कोटा, बिनु कार्की लगायतले दुबई पठाएका थिए भने दुबईमा व्यवस्थापनको जिम्मा त्रिनेत्र कन्सल्टेन्सीका मालिक कोमलराज उपध्यायसहित खगेन्द्र लम्साल, राजन ठकुरी, होमबहादुर खड्का, भूपेन्द्र बोहोरा, दिनेश खड्का, आदित्य रसाइली, सिमरन रसाइली र सन्तोष सुवेदीले गरेका थिए ।

त्रिनेत्रले विभिन्न कम्पनीमा कामदारको माग भएको भन्दै २ हजार पीएसबीडी सुरक्षागार्ड, २ हजार जना सिरा सुरक्षागार्ड, ५५ जना लाइफ गार्ड, ३ सय जना आर्म्स् गार्ड (जी–ए), ५ सय जना आर्म्स् गार्ड (जी–बी) र ४ सय जना रोयल गार्डको लागि आफ्ना एजेन्टलाई नेपालमा मान्छे खोज्न लगाएको थियो । त्यही आधारमा त्रिनेत्रको सम्पर्कमा रहेका एजेन्टहरूले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत वा पेन्सनवालालाई आकर्षक जागिर लगाइदिने भन्दै भिजिट भिसामा उडाउन रकम असुलेका थिए ।

भिजिट भिसामा दुबई आएको लामो समाय भएपनि युवाहरु र दलालबिच सहमति भए अनुसारको काम नभएपछि उनीहरु विचल्लीमा परेका थिए । दुबई आइसकेपछि आफूहरुले मानसिक तथा शारीरिक यातनासमेत भोग्नु परेको पीडित युवा बताउँछन् ।

लामो समयसम्म एउटै कोठामा ५०÷६० जना बस्नु परेको, दलालहरुले ढोका थुनेर घण्टौंसम्म शौचालय जान नदिएको र पानीसमेत पिउन नपाएको पीडितहरुले भिडियोमार्फत सार्वजनिक गरेका थिए । दलाल विरुद्व बोलेको र कमेन्ट गरेको भरमा पीडित अमन थापामाथि भौतिक आक्रमणसमेत भएको थियो ।

अन्ततः दुबईमा भिजिट भिसामा सयौं संख्यामा नेपालीले कष्टकर जीवन बिताउनु परेको तथ्य बाहिरिएसँगै श्रम मन्त्रालयको ध्यानाकर्षण भएपछि दलालहरुले आफ्नै खर्चमा धमाधम पीडितहरुलाई नेपाल फर्काएका छन् । तर उनीहरुलाई नेपाल फर्काउँदा आफ्नो कुनै पनि जिम्मेवारी नभएको र पैसा फिर्ता नगर्ने गरी त्रिनेत्र कन्सल्टेन्सीले फर्जी कागजातमा हस्ताक्षर गर्न लगाएको पीडितको दाबी छ ।

उक्त कागजातमा हस्ताक्षर गरेमात्र नेपाल फर्कन पाइने, अन्यथा कुनै प्रक्रिया अघि नबढ्ने भन्दै त्रिनेत्र कन्सल्टेन्सीका एजेन्ट खगेन्द्र लम्सालले दबाद दिएको पीडित श्रीराम रानाभाटले जानकारी दिए । नेपालको बैंक खातामा जम्मा गरेको रकमबारे पनि पीडितले कुनै उजुरबाजुर गर्न नपाउने गरी त्रिनेत्रले पीडित पक्षसँग कागजात बनाएको छ ।

लामो समयदेखि कष्टकर जीवन बिताइ बिचल्लीमा परेका कतिपय पीडितले फसेको लाखौं रुपैयाँ माया मारेर उक्त कागजातमा हस्ताक्षर गरी स्वदेश फर्केका छन् भने कतिपय पीडित बिना सहीछाप नेपाल पुगेका छन् ।

बाँकी पीडितहरु फसेको लाखौं रुपैयाँ माया मारेर सकुशल स्वदेश फिर्तीका निम्ति उद्धारको दिन कुरेर बसिरहेका छन् । दलालहरुले केही पीडितलाई नेपाल फिर्ता गराएसँगै बाँकी रहेकाहरुलाई झनै अफ्ठ्यारोमा पारेको गुनासो प्राप्त भएको छ । ‘केही साथीहरुलाई नेपाल पठाएपछि अर्को ठाउँमा लाने भन्दै हामीलाई क्याम्पबाट राति १ बजे बाहिर निकाल्यो,’ पीडित महेन्द्र भट्टले भने, ‘सबै जनालाई बाटोमा ल्याएर छोडिदियो । भोक लागेको छ । रातमा न सुत्न मिल्छ बाटोमा, अत्यन्तै विचल्लीमा प¥यौं । बेहाल भयो ।’

भिजिट भिसामा दुबई आएर नेपालीहरु विचल्ली भएको घटना सर्वत्र जानकारी भए पनि यो विषयमा नेपाली दूतावास यूएई भने मौन देखिन्छ । लामो समयदेखि पीडित नेपालीले सहयोगका लागि हारगुहार गर्दा समेत दूतावासले बेवास्ता पीडितहरुको गुनासो छ ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर भिजिट भिसामा यूएई पुगेका सयौं नेपाली यतिबेला ‘ओभरस्टे’ भएपछि गैरकानुनी हैसियतमा पुगेका छन् । उनीहरुले प्रत्येक दिन एक सय दिराम अर्थात् तीन हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने हुन्छ । जसको कारण सन् २०२१ मामात्रै भिजिट भिसामा यूएई आएका १४ जना नेपालीले आत्महत्या रोजेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप