शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ओमिक्रोनको कहर : एक हप्तामा ५९ हजारले ज्यान गुमाए

डब्लूएचओले भन्यो – माइल्ड भेरियन्ट भनेर खेलाँची नगरौँ
बिहीबार, २० माघ २०७८, ०९ : ४७
बिहीबार, २० माघ २०७८

विश्व स्वास्थ्य संगठनले विश्वभरका सरकारलाई ओमिक्रोनको खतराबारे पुनः एकपटक सचेत गराएको छ । डब्लूएचओले ओमिक्रोनलाई कोरोनाको ‘माइल्ड’ भेरियन्ट भन्दै प्रतिवन्धलाई खुकुलो पार्न हतारो गर्न नहुने बताएको हो ।

संगठनका अनुसार ओमिक्रोनको सह–भेरियन्ट जति चाँडो गतिमा फैलिरहेको छ, त्यसले कोरोनाको वर्तमान लहर चाँडो खत्तम हुने सम्भावनामा ठूलो झट्का लागेको छ । डब्लूएचओकी प्राविधिक प्रमुख मारिया वान केरखोले विश्वभरका सरकारहरूलाई ओमिक्रोनलाई गम्भीरताका साथ लिन अपिल गरेकी छन् । डब्लूएचओका अनुसार कयौँ देशमा ओमिक्रोन भेरियन्टका कारण वर्तमान लहरको पिक आउन बाँकी नै रहेको छ । यस्तोमा कोरोना प्रतिवन्धलाई खुकुलो पार्न हतार गर्न नहुने संगठनको भनाइ छ ।

मारियाले खोप कम लगाइएका देशका लागि यो खतरनाक हुनसक्ने चेतावनी दिएकी छन् । युरोपलगायत अमेरिकाजस्ता देशहरूमा ७०–८० प्रतिशत प्रतिशतभन्दा बढी जनसङ्ख्याले खोप लगाए पनि अहिलेसम्म कयौँ अफ्रिकी मुलुकहरूमा १० प्रतिशतले पनि खोप लगाएका छैनन् । त्यसैले कोरोना प्रतिबन्धलाई एकैचोटी हटाउन उपयुक्त नहुने मारियाको तर्क छ । डब्लूएचओका प्रमुख टेड्रोस अधानोमले विश्वको सबै क्षेत्रमा मृत्युको आँकडा बढ्नु चिन्ताजनक भएको बताएका छन् । 

डब्लूएचओका अनुसार ओमिक्रोन आएपछि पछिल्ला १० हप्तामा विश्वभर ९ करोड जना सङ्क्रमित भएका छन् । यो सन् २०२० भरी फेला परेको सङ्क्रमितको सङ्ख्याभन्दा बढी हो । ओमिक्रोनको पहिलो केस गत वर्षको नोभेम्बरमा दक्षिण अफ्रिकामा पाइएको थियो । पछिल्लो हप्तामात्र विश्वभर २।२ करोड मानिस सङ्क्रमित भए भने ५९ हजारले यसबाट ज्यान गुमाए । यस दौरान मृत्युको सङ्ख्या ९ प्रतिशतले वृद्धि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप