आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण संरचनाहरूलाई मर्मत गर्न निर्देशन

'बतास प्रकरणमा अख्तियारको ध्यान जाओस्'
बिहीबार, २० माघ २०७८, १८ : २०
बिहीबार, २० माघ २०७८

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार सङ्ग्रहालयका जीर्ण भएका संरचनाहरूलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार सङ्ग्रहालयमा स्थलगत अवलोकन गर्दै सङ्ग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मत सम्भार गर्न निर्देशन दिएका हुन् । 

सङ्ग्रहालय अवलोकनपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री आलेले सङ्ग्रहालय भित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए । त्यसै गरी गेटको बाहिर छाना चुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । त्यस्तै, सङ्ग्रहालयमा रहेका पुराना गाडीहरूलाई मर्मतका साथसाथै रङ रोगन गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए । उनले नारायणहिटी दरबार सङ्ग्रहालयमा अधुरा रहेका कामहरूलाई सम्पन्न गर्नका लागि छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिए । 

उनले विगतमा सङ्ग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरू भत्काइसकिएको बताए । सङ्ग्रहालय परिसरलाई व्यवस्थित गर्नका लागि आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले उल्लेख गरे । उनले भने – ‘विगतमा ६ आनामा क्याफ्टेरिया सञ्चालन गर्ने भन्ने नाममा १४ रोपनी अतिक्रमण भएको छ । त्यहाँ बनेका संरचनाहरू जम्मै भत्काएको अवस्था देखिएको छ । त्यहाँ जुन अवस्थामा पहिला थियो, त्यही पुरानै शैलीमा ल्याउने र नारायणहिटीमा आउँदा प्रवेश द्वारमै एउटा फोहोरा निर्माण गर्ने भनेर त्यो पनि कुरा भएको छ । यी थुप्रै कामहरू भएका, नभएका कुराहरू हामीले अवलोकन पनि ग¥यौँ । अब यसलाई छिट्टै सम्पन्न गर्नेतिर आगामी बजेटमा तयारीमा पनि छौँ । १४ रोपनीभित्र बनाउनुभएको कङ्क्रिट संरचना सबै भत्किइसकेको छ । मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गरेर हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सीबीआईमा पठाएका छौँ । उहाँहरूको पनि ध्यान त्यसमा ध्यान छिटो जानेछ भन्ने हामीले विश्वास लिएका छौँ । हामीले निर्णय गराएर पठाएको करिब १५ दिनभन्दा बढी भइसक्यो ।’

बतास समूहलाई नारायणहिटी दरबार सङ्ग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप