सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अलमलमा सीके राउत

शुक्रबार, २१ माघ २०७८, १३ : १७
शुक्रबार, २१ माघ २०७८

काठमाडौँ । तराई मधेसमा किसान आन्दोलनको नेतृत्व गर्दै आएको जनमत पार्टी अहिलेसम्म आफ्नो राजनीतिक एजेण्डामा प्रस्ट नदेखिएको मधेस मामिलाका जानकारहरू बताउँछन् । कतिपयले सो पार्टीका प्रमुख सीके राउत सस्तो लोकप्रियताका लागि क्रियाशील हुँदै आएको टिप्पणी गर्न थालेका छन् ।

सरकारसँग ११ बुँदे सहमति गर्दै शान्तिपूर्ण राजनीतिक गतिविधिमा सामेल हुँदै राजनीतिक दलसमेत गठन गरेका सीके राउतले त्यसअघि स्वायत्त मधेसका लागि गरेको आन्दोलन, सरकारसँग गरेको सहमति र आफ्नो पार्टीको अबको गन्तव्यबारे प्रस्ट पार्न नसकेको जानकारहरू बताउँछन् ।

सरकारसँग ११ बुँदे सम्झौता गरेर जनमत पार्टी गठन गरेका सीके राउत आफ्नो मिसनमा अझै अस्पष्ट रहेको मधेस मामिलाका जानकार चन्द्रकिशोर झाले बताए । आन्दोलनको प्राथमिकता के हुनुपर्छ भनेर जनमत पार्टीले अझै छुट्याउन नसकेको उनको भनाइ छ । पार्टीले तय गरेको दिशा निर्देशका आधारमा आन्दोलन भएमा मात्र गन्तव्यसम्म पुग्न सकिने उनले प्रस्ट पारे ।

सीके राउत निरन्तर आन्दोलनमा छन् । स्वतन्त्र मधेसका लागि आन्दोलन गर्दा पनि उनी कताकता रनभुल्लमा परेको र आफ्नो मिसनमा स्पष्ट नभएको जस्तो देखिन्थे । अहिले पनि उनी कताकता अलमलमा देखिएको जानकारहरूको दावी छ ।  

स्वतन्त्र मधेसको मागदेखि ११ बुँदे सहमति

सीके राउत समर्थक बर्दियाका राममनोहर यादव थुनामा रहेको बेला उपचारको क्रममा २०७५ भदौ १५ गते निधन भएको थियो । उनको निधनसँगै सीके राउत संयोजक रहेको तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले आन्दोलन सुरु गरेको थियो ।

आन्दोलन चलिरहेकै बेला रौतहटबाट सीके राउत पक्राउ परे । सीके राउतसँग अरु केही नेताहरु पनि पक्राउ परेका थिए । तत्कालीन स्वतन्त्र मधेस गठबन्धनले आन्दोलन झन् चर्कायो । राममनोहर यादवको शव पाँच महिनासम्म टिचिङ अस्पतालबाट नबुझेर तत्कालीन गठबन्धनले आन्दोलन गरेको थियो ।

स्वतन्त्र गठबन्धनले २०७५ माघमा शव बुझे पनि आन्दोलन जारी राखेको थियो । बर्दिया पुगेर शवलाई सडकमा राखेर आफन्त तथा गठबन्धनका नेताहरूले प्रदर्शन गरेका थिए । पछि सम्झौता भएपछि शवको अन्त्येष्टि गरिएको थियो । दाहसंस्कार पछि क्षतिपूर्ति तथा सहिद घोषणाको माग राख्दै गठबन्धनका नेताहरूले आन्दोलन गरिरहेका थिए ।

अचानक २०७५ फागुन २४ गते बिहान सीके राउत जेलबाट रिहा हुँदैछन् र सरकारसँग सम्झौतापत्रमा हस्ताक्षर गर्दैछन् भन्ने समाचार आयो । सरकारसँग सम्झौता हुँदैछ भन्ने कुरा सीके राउत र उनका साथमा रहेका एक दुईजना नेतालाई मात्र जानकारी थियो । अरु कुनै पनि नेता तथा कार्यकर्तालाई यसको बारेमा सुइँको पनि थिएन । नभन्दै, सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरे र उनी रिहा भए ।

उखु किसानका लागि आन्दोलन

जतिबेला सीके राउत मुलधारमा आएर जनमत पार्टी गठन गरे, त्यतिबेला उखु किसानहरू काठमाडौँमा आन्दोलन गरिरहेका थिए । जनमत पार्टीको ब्यानर लिएर सीके राउतका कार्यकर्ताहरु उखु किसानको आन्दोलनमा समर्थन जनाउन गए ।

त्यसको समर्थनमा काठमाडौँ लगायत विभिन्न ठाउँमा प्रदर्शन गरे तर त्यो प्रदर्शन धेरै दिनसम्म टिकेन र आन्दोलन आफै हरायो ।

एक करोड वृक्षारोपण

उखुको किसानको आन्दोलन त्यत्तिकै सेलाएपछि सीके राउतले एक करोड बिरुवा रोप्ने अभियान सुरु गरे । ठुलो तामझामका साथ अभियान सुरु गरियो । ठाउँ ठाउँमा बिरुवा रोप्ने कार्य पनि भयो । विभिन्न नर्सरी तथा वन कार्यालयबाट बिरुवा लिएर रोप्ने कार्य भयो तर त्यो अभियान आफै कसरी हरायो भन्ने कुरा कसैले पत्तो पाएनन् ।

एक करोड बिरुवा रोप्ने लक्ष्यमध्ये कति बिरुवा रोपियो, कहाँ कहाँ रोपियो भन्ने जानकारी कसैले पाएनन् । त्यो अभियान आफै सेलायो ।

काठमाडौँमा शक्ति प्रदर्शन

बिरुवा अभियान सेलाएको केही दिन नपुग्दै सीके राउतले रंगभेद विरुद्ध प्रदर्शनको तयारीमा लागे । यसपटक तराई मधेसमा मात्र होइन, काठमाडौँमा शक्ति प्रदर्शन गर्ने योजना उनले बनाए । स्वतन्त्र मधेसको आन्दोलन छाडेर मूलधारमा आएका सीके राउत काठमाडौँलाई आफ्नो शक्ति देखाउन चाहन्थे र, त्यसका लागि व्यापक तयारी गरे । सीके राउतले २०७६ मंसिर ७ गते काठमाडौँमा रंगभेदविरुद्ध भन्दै शक्ति प्रदर्शन गरे ।

तराई मधेसबाट उनले ठुलो संख्यामा आफ्ना कार्यकर्ता काठमाडौँमा उतारेका थिए । विभिन्न झाँकी झुलुसका साथै उनी आफै उत्तर कोरियाली शासक किम जोङ उनको स्टाइलमा आफ्नो गाडीको चारैतिर निजी सुरक्षादस्ता राखेर काठमाडौँको भृकुटीमण्डपमा प्रवेश गरेका थिए । तराई मधेसका विभिन्न ठाउँमा रंगभेद विरुद्ध प्रदर्शन भइरहेको थियो । कार्यकर्ताहरु सडकमै थिए तर विस्तारै त्यो प्रदर्शन कसरी सेलायो भन्ने कसैले बुझ्न सकेनन् ।

नागरिकताका लागि आन्दोलन

त्यसपछि पालो आयो नागरिकताको । मधेस केन्द्रित दलको सदावहार एजेण्डा नागरिकताको विषयमा पनि सीके राउतले आन्दोलन गर्ने सोच बनाए । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलालाई सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने प्रस्ताव पारित गरेसँगै सीके राउतले २०७७ असार ७ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता ऐन संशोधन विधेयक मधेसी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यकसहितका उत्पीडित वर्गका जनताले पटक–पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धि विपरीत तथा जनचाहनाविपरीत रहेकाले आफ्नो पार्टीले आन्दोलन घोषणा गरेको सीके राउतको भनाइ थियो । आन्दोलनको कार्यक्रम १० दिनका लागि तय भएको थियो ।

आन्दोलनका कार्यक्रममा सिटी जुलुसदेखि भैंसी जुलुससम्म थिए । गाउँको चोकमा जुलुस र कोणसभा गर्ने, ज्ञापनपत्र बुझाउने, कालो झण्डा घर घरमा झुण्ड्याउने, विधेयकको प्रतिलिपि तथा पुतला दहनलगायतका कार्यक्रमहरु सीके राउतले तय गरेका थिए । तर त्यो आन्दोलन एउटा ठोस नतिजामा पुग्न नपाई बीचैमा समाप्त भयो ।

हुन त सीके राउतले नागरिकता विधेयकविरुद्ध गठबन्धन बनाएर आन्दोलन गर्न अन्य दलहरुलाई पनि आह्वान गरेका थिए । तर उनले गरेको आह्वान कसैले सुनेनन् । उनले भनेका थिए, ‘अलगअलग, छिन्नभिन्न तरिकाले संघर्ष गर्नुको सट्टा सम्पूर्ण शक्तिहरुको गठबन्धन बनाएर अगाडि बढ्दा आन्दोलनलाई निर्णायक बनाउन सकिन्छ । गठबन्धनको नाम, एजेन्डा तथा आन्दोलनका कार्यक्रमहरु आपसी छलफलबाट टुंगो लगाइने छ ।’

कर्मचारीलाई कालोमोसो

नागरिकताका लागि आन्दोलन चलिरहेको आन्दोलन समाप्त नहुँदै सीके राउतले भ्रष्टाचार विरुद्धको आन्दोलन सुरु गरे । पालिकाका मेयर तथा अध्यक्षहरु विरुद्ध आन्दोलन सुरु गरे । सोही क्रममा २०७८ कात्तिक ४ गते सीके राउतका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेका थिए ।

सयौंको संख्यामा भाटा, चिरपट तथा लाठी लिएर कार्यालय पुगेका सीके राउतका कार्यकर्ताले कुशवाहालाई अर्धनग्न बनाई कालोमोसो दल्दै बजार परिक्रमा गराएका थिए ।

सरकारी कर्मचारीमाथि भएको दुर्व्यवहारमा संलग्न केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको थियो । कार्यकर्ता पक्राउ गरेको विरुद्धमा आन्दोलन झन् चर्काउने काम भयो । त्यो आन्दोलनलाई भ्रष्टाचार विरुद्धको आन्दोलनमा रुपान्तरण गरियो । यसै क्रममा अन्य केही व्यक्तिलाई पनि कालोमोसो दल्ने काम भयो । त्यो आन्दोलन तराईको पूर्वदेखि पश्चिमसम्म फैलियो । तर अचानक त्यो आन्दोलन आफै सेलायो । कुनै नतिजामा नपुगी आन्दोलन समाप्त भयो ।

किसान आन्दोलन

भ्रष्टाचार विरुद्धको आन्दोलन चलिरहेको बेला २०७८ पुस ६ गते सिरहाको औरही गाउँपालिकाको गोदामामा राखिएको गहुँको बीउ त्यहाँका किसानले लुटेका थिए । त्यसको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा चलाइयो । त्यस क्रममा एक जना पक्राउ पनि परे ।

त्यसपछि जनमत पार्टीले त्यो गाउँबाट आन्दोलनको सुरुवात गरेको थियो । गाउँ हुँदै त्यो आन्दोलन राजमार्गमा पुग्यो । आन्दोलनको नाम दिइयो ‘किसान आन्दोलन’ । आन्दोलन विस्तारै चर्किदै गइरहेको थियो । सीके राउतले विभिन्न १२ बुँदे माग राखेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

आन्दोलन पूर्वदेखि पश्चिमसम्म फैलिसकेको छ । अहिले पनि त्यो आन्दोलन जारी छ । कहिले सिटी जुलुस, कहिले खाली बोरा जुलुस, कहिले खाली बाल्टी जुलुस, कहिले भैंसी जुलुस, कहिले घोडा जुलुस, कहिले बैल गाडा जुलुस गर्दै आएका सीके राउत हाल राजमार्ग अवरुद्ध गर्ने अभियानमा छन् ।

विगतमा सीके राउतले सुरु गरेका र अकस्मात सेलाएका कयौं आन्दोलन झैं यो आन्दोलन पनि कुनै दिन सेलाउने र फेरि अर्को आन्दोलन सुरु हुने मधेस राजनीतिका जानकार सप्तरीका बलराम बताउँछन् । आन्दोलन टिकाउनका लागि संगठन चाहिन्छ तर संगठन नभएका कारणले सीके राउतले त्यसलाई निरन्तरता दिन नसकेको उनको भनाइ छ ।

संगठनको एउटा विचार र सिद्धान्त हुन्छ र त्यसैको आधारमा आन्दोलन हुन्छ तर सीके राउतको पार्टीको विचार र सिद्धान्त अझै अस्पष्ट रहेको उनले बताए । जनमत पार्टीका नेता तथा कार्यकर्ता नै रनभुल्लमा रहेका कारणले आन्दोलनले स्थायित्व लिन नसकेको उनको विश्लेषण छ ।

सीके राउतले आन्दोलनको बलमा नेपाली राजनीतिमा आफ्नो स्पेश बनाउन चाहेका छन् तर कुन विषयमा आन्दोलन गर्ने भन्नेमा अन्योल रहेकै कारण कुनै पनि आन्दोलनलाई निर्णायक तहमा लैजान नसकेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप