सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस मकवानपुरको सभापतिमा त्रिपक्षीय भिडन्तको सम्भावना

शनिबार, २२ माघ २०७८, १५ : ००
शनिबार, २२ माघ २०७८

केन्द्रीय तहको निर्देशन अनुसार नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित  छ । अधिवेशनको मिति तय नभइसकेको अवस्था भए पनि मकवानपुर काँग्रेसमा चुनावी सरगर्मी भने बढेको छ ।

जिल्लाको नेतृत्वका लागि उम्मेदवारी घोषण गर्ने क्रम बढेसँगै काँग्रेस मकवानपुरको नेतृत्व कसले गर्ला भन्ने विषयले अहिले चर्चा पाएको छ । यसअघि काँग्रेस मकवानपुरको अधिवेशनको लागि दुई पटक मिति तोकिएको भए पनि अधिवेशन भने हुन सकेन ।

यति बेला काँग्रेस मकवानपुरको जिम्मेवारी कार्यवाहक सभापति विष्णु प्रसाद लामिछानेले सम्हालेका छन् । सभापति रहेका इन्द्रबहादुर बानियाँ बागमती प्रदेश सभापतिमा निर्वाचित भएपछि लामिछानेलाई कार्यवाहक सभापतिको जिम्मेवारीमा पदभार ग्रहण गराइएको थियो । 

नजिकिँदै गरेको स्थानीय तह र संसदीय चुनावका कारण काँग्रेसको जिल्ला अधिवेशन अझै अन्योलमा छ । स्थानीय तहको निर्वाचन पछि मात्र जिल्ला अधिवेशनको बहस पनि सुरु भएको छ । तैपनि आगामी नेतृत्वको लागि उम्मेदवारी घोषणा गर्ने र सम्पर्क कार्यालय खोल्ने काम भने धमाधम भइरहेको छ ।

काँग्रेस मकवानपुरको नेतृत्वको लागि करिब आधा दर्जन जतिले आकांक्षा देखाएका छन् । आन्तरिक प्रतिस्पर्धाभन्दा पनि सहमतिबाट नेतृत्व टुङ्ग्याउनु पर्ने भन्दै हाल कार्यवाहक सभापति लामिछानेले पनि सभापतिमा आकाङ्क्षा व्यक्त गरेका छन् । निर्वाचन भएको खण्डमा भने उम्मेदवारीबारे तत्काल केही जानकारी गराएका छैनन् ।

गत २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को २ बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार अशोक शाक्य पनि सभापति बन्ने लाइनमा  छन् । सहमतिबाट नेतृत्व छानेको खण्डमा आफू पनि उम्मेदवार रहेको उनी बताउँछन् । यद्यपि दुवै जनाले आधिकारिक रूपमा उम्मेदवारी घोषणा भने गरेका छैनन् । दुवै जना काँग्रेसको संस्थापन पक्ष निकट मानिन्छन् ।

त्यस्तै पार्टीको १३ औँ महाधिवेशन अन्तर्गत मकवानपुरको सभापतिको दौडमा बानियाँ र पूर्व सभापति रघुरमण न्यौपानेसँग प्रतिस्पर्धा गरेका प्रभात कुमार दाहाल पनि सभापतिको लाइनमा नै रहेका छन् । उनी काँग्रेस नेता प्रकाशमान सिंह पक्षधर हुन् ।

काँग्रेसमा त्रिपक्षीय भिडन्तको सम्भावना

काँग्रेस सभापतिमा ३ जना उम्मेदवारहरूले उम्मेदवारी दर्ता गरेर चुनाव प्रचार प्रसार तथा सम्पर्क कार्यालय समेत खोलिसकेका छन् । 

काँग्रेस मकवानपुरको सभापतिका लागि हालका सचिव बुद्ध लामा, हेटौँडा उपमहानगरपालिका निवर्तमान सभापति आनन्दराम पराजुली र २०७० को संविधानसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर १ बाट उम्मेदवार जयराम लामिछानेले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनीहरूले सम्पर्क कार्यालय स्थापना गरी कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार प्रसार कार्यलाई तीव्रता दिइरहेका छन् । 

हालसम्मको अवस्था हेर्दा लामा, पराजुली र लामिछानेबीच सभापतिमा प्रतिस्पर्धा हुने लगभग निश्चित जस्तै देखिन्छ । सभापति पराजुली र लामा संस्थापन पक्ष निकट हुन् भने लामिछाने संस्थापन इतर पक्षका हुन् ।

काँग्रेस मकवानपुरका सचिव लामाले गत मङ्सिरबाट नै सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका हुन् । लामाले हेटौँडा–१० भीमसेन गल्लीमा सम्पर्क कार्यालय राखेको छन् । 

यता महिनौँदेखि जिल्ला सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका पराजुलीले हेटौँडा–२, काँग्रेस चोकमा सम्पर्क कार्यालय खोलेका छन् । 

संस्थापन इतर पक्षको नेतृत्व गर्दै जिल्ला सभापति बन्ने दौडमा रहेका लामिछानेले भने गत बुधबार मात्र आधिकारिक रूपमा उम्मेदवारी घोषणासहित सम्पर्क कार्यालय स्थापना गरेर गरेका छन् । 

चुनावी माहौल बढ्दै गर्दा लामिछाने भन्दा पराजुली र लामाको पार्टीमा बढी पकड रहेको कार्यकर्ता भनाई छ । तर, लामिछानेको पनि जिल्लाको उत्तरी क्षेत्रमा बढी प्रभाव रहेको देखिन्छ ।

इन्द्र बानियाँको दबदबा तोड्न पनि लामिछानेको उम्मेदवारी महत्त्वपूर्ण हुने कार्यकर्ता बताउँछन् । लामिछाने कुनै पनि हालतमा संस्थापन इतरको उपस्थितिलाई यस जिल्लामा बलियो बनाउन दाउसहित सभापतिमा निर्वाचनमा होमिएका छन् । पराजुली र लामा एउटै समूहका भएका कारण अन्तिम समयमा चुनावी तालमेलको सम्भावना पनि रहेको छ ।

बानियाँ र डिनाको मौनता

काँग्रेस मकवानपुरको नेतृत्वको बारेमा काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’को भूमिका यस निर्वाचनमा निर्णायक हुने निश्चित छ । डीना र बानियाँ दुवै संस्थापन पक्षधर हुन् । जिल्ला अधिवेशन र नेतृत्वको विषयमा हालसम्म दुवै जना मौन रहेका छन् ।

उता लामिछानेको पक्षमा भने काँग्रेस मकवानपुरका पूर्व सभापति एवम् प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल र पूर्वसभापति रघुरमण न्यौपाने लगायतका नेताहरू खुलेर लागिरहेका छन् ।

२०७० को संविधान सभा निर्वाचन पछि सक्रिय राजनीतिमा नआएका लामिछाने हाल एकाएक सभापतिको दौडमा देखिनु महत्त्वका साथ हेरिएको छ ।  काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको मकवानपुरको संघीय र प्रदेशसभा समितिको निर्वाचनमा बानियाँ पक्ष र संस्थापन इतर पक्षको मत लगभग बराबर देखिएपछि लामिछानेलाई सभापतिको दौडमा ल्याइएको स्रोत बताउँछ । लामिछानेलाई बानियाँको दबदबा तोड्नकै लागि पनि सभापतिको उम्मेदवार बनाइएको कार्यकर्ताहरूको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप