शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षको २ घण्टा : कसरी भयो ‘सकारात्मक’ छलफल ?

आइतबार, २३ माघ २०७८, २१ : ५१
आइतबार, २३ माघ २०७८

झण्डै सात महिनापछि सत्तापक्ष र प्रतिपक्ष तीन दलका शीर्ष नेताहरु मुलुकका राष्ट्रिय समस्या समाधान गर्न एकै ठाउँ छलफलमा सम्म बसेका छन् । जसले जारी गत्यावरोध हट्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  आइतबार अपरान्ह बालुवाटारमा भएको सत्ता र प्रतिपक्ष तीन दलका ५ नेताको छलफललाई उनीहरुकै शब्दमा ‘सकारात्मक’ भनिएको छ ।

उनीहरुबीच एमसीसी अनुमोदन, स्थानीय चुनावको मिति र संसदको अवरोध खुलाउने विषयमा २ घण्टा लामो छलफल भएको हो । यसअघि सत्तापक्षले बोलाएको बैठकमा सहभागी नहुने अडानमा रहेको एमाले आफ्नो पार्टी फुटाएर गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीका नेता सहभागी नभएको बैठकमा भने सहभागी बनेको हो ।

सत्तारुढ ५ दलमध्ये २ दलका नेता मात्रै उपस्थित भएको छलफलमा अध्यक्ष केपी ओली र महासचिव पोखरेल सहभागी भएका थिए । त्यस्तै काँग्रेसका तर्फबाट प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवा र सरकारका प्रवक्ता रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । माओवादी केन्द्रका तर्फबाट भने अध्यक्ष प्रचण्ड मात्रै छलफलमा सहभागी भए । 

आइतबारको छलफलले सत्तापक्ष र प्रतिपक्षबीच संवादहीनताको अवस्था तोडिए पनि कुनै ठोस सहमति भने हुन सकेन । तर उनीहरुकै भाषामा छलफल ‘सकारात्मक’ भएको छ । बैठकपछि दुवै पक्षका नेताहरुले दिएको प्रतिक्रियामा पनि स्थानीय चुनाव समयमै गर्ने विषयबाहेक अन्यमा सहमति हुन सकेन ।

उनीहरुबीच चर्को विवाद रहेको एमसीसी र संसदको अवरोध खुलाउने बारे सहमति जुट्न नसकेपनि अर्को बैठकमार्फत सहमति जुट्ने नेताहरुको दावी छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले धेरै विषयमा गम्भीरताका साथ छलफल भएको र छलफल अत्यन्तै सौहार्दपूर्ण र खुलस्त भएको भन्दै एमसीसीलाई संसदमा लगेर चाँडै टुंगोमा पुर्याउनका लागि सकारात्मक भएकाले राष्ट्रिय राजनीतिलाई नै नयाँ निर्देश गरेको दावी गरे ।

‘त्यहाँ धेरै विषयमा गम्भीरताका साथ छलफल भएको छ । आजको छलफल चाहे संसदलाई प्रभावकारी बनाउने विषयमा होस्, चाहे एमसीसीलाई संसदमा छलफल गरेर निष्कर्षमा पुर्याउने कुरा होस्, यी सबैमा सकारात्मक छलफल भएका छन्’, कार्कीको भनाइ छ । यद्यपी मन्त्री कार्कीले एमसीसीले दिएको डेड लाइनभित्र फागुन १५ भित्र एमसीसी पारित हुन्छ त ? भनेर सञ्चारकर्मीले सोधेको प्रश्नको स्पष्ट जवाफ दिएनन् । ‘एमसीसीको जुन भ्रम आशंका यो चाँडै नै दूर भएर कार्यान्वयनमा जान्छ’, मन्त्री कार्कीको जवाफ छ ।  

सरकारका प्रवक्ता भन्छन्– गठबन्धनमा समस्या छैन 
सरकारका प्रवक्ता कार्कीले एमसीसीको पत्र सार्वजनिक भएपनि सत्ता गठबन्धनमा कुनै समस्या उत्पन्न नहुने दावी समेत गरेका छन् । ‘यो बारेमा गठबन्धनमा कुनै समस्या छैन र रहने छैन’, मन्त्री कार्कीको भनाइ छ ।  उनले एमालेले संसदमा केही समस्या देखाएको भन्दै त्यसलाई हटाएर संसदलाई प्रभावकारी बनाउन पनि दुवै पक्षबीच सकारात्मक छलफल भएकाले प्रधानमन्त्रीले अर्को बैठक चाँडो बोलाउने बताए । 

एमसीसीमा प्रचण्डका २ प्रस्ताव
छलफलमा एमसीसीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीबारे प्रमुख प्रतिपक्ष र सत्तापक्षको एउटै धारणा बनाउनुपर्ने र एमसीसी चुनावपछि मात्रै अघि बढाउनु उपयुक्त हुने धारणा राखेका थिए । 

छलफलमा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीले एमसीसी लगायतका विषयलाई अघि बढाउन सहयोग गर्नुपर्छ भन्ने प्रस्ताव गरेको बताए । ‘त्यसैगरी सत्ता गठबन्धनका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई चुनाव पछि अघि बढाउँदा उचित हुने र प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने आग्रह गर्नुभएको थियो’, बालुवाटार बैठकबारे महासचिव पोखरेलको भनाइ छ । 

एमालेले दोहोर्यायो पुरानै अडान 
नेकपा एमालेले आइतबारको छलफललाई सकारात्मक भनेपनि संसदको अवरोध हटाउने बारे पुरानै अडान दोहोर्याएको छ । 


‘हामी फेरि पनि आग्रह गर्न चाहान्छौँ सभामुखबारे भएको कमजोरी सच्याउनुपर्यो । १४ जना गैरसांसद संसदमा राख्ने कुरा अविलम्ब रोक्नुपर्छ’, पोखरेलले छलफलमा राखेको अडानबारे भने, ‘सभामुखको भूमिकाका कारण हामी प्रतिनिधिसभामा उपस्थित हुन गाह्रो भएको छ ।

हामीले आफ्नो असहमतिहरू लामो समयदेखि राख्दै आएका छौं । त्यो विषयलाई सत्ता पक्षले हालसम्म पनि सम्बोधन गरेको छैन् । हामी फेरि सत्ता पक्षलाई आग्रह गर्न चाहान्छौँ हाम्रा मुद्दाहरूलाई सम्बोधन गरियोस् । सभामुखको कमजोरी सच्याउने काम होस् । गैरसांसदको उपस्थितिमा प्रनिनिधिसभा चल्न सक्दैन । सभामुखले गल्ती नसच्याउने हो भने मार्ग प्रशस्त गर्नुहोस् ।’

नेकपा एमालेले गत भदौ तेस्रो साताबाट लगातार संसद अवरोध गर्दै आएको छ । त्यस्तै एमसीसीका बारेमा पनि एमालेले पहिले भन्दै आएको पहिला सत्तारुढको धारणा स्पस्ट हुनुपर्ने त्यसपछि मात्रै आफ्नो धारणा बन्ने अडान राखेको छ । 

परिमार्जनविना एमसीसी पारित हुँदैन : माओेवादी 
नेकपा माओवादीका अध्यक्ष प्रचण्डको सचिवालयले आइतबार साँझ एमसीसीबारे सार्वजनिक भएको पत्रको स्पष्टीकरण दिएको छ । सचिवालयले राष्ट्रिय हित र गठबन्धन सरकारको रक्षाका लागि एमसीसीलाई पत्र लेखेको भन्दै एमसीसी परिमार्जनविना पारित हुन नसक्ने स्पस्ट पारेको हो ।

‘हामीले देश र जनताको हितलाई  सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै आएका छौं । यो परियोजना परिमार्जन बिना पारित गर्नु हुँदैन भन्नेमा हाम्रो पार्टी दृढ छ’, अध्यक्ष प्रचण्डको सचिवालयले भनेको छ, ‘यसबारे गरिएका नियोजित प्रचारबाजीको भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र न्यायप्रेमी जनसमुदायमा हामी हार्दिक अपील गर्दछौं ।’

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप