बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कमल थापाको गणतान्त्रिक इनिङ : हिन्दुवादी पार्टीको कहाँ रहला राजनीतिक स्पेस ?

गणतन्त्र स्वीकार्छौँं तर राजसंस्थालाई गाली गर्दै हिँड्दैनौँ : नेता सुशील श्रेष्ठ
शनिबार, २९ माघ २०७८, ०९ : ३३
शनिबार, २९ माघ २०७८

राजतन्त्रकै छत्रछायामा राजनीतिमा उदाएका कमल थापाले राजनीतिक जीवनको उत्तरार्धमा आइपुग्दा भने राजतन्त्रकै एजेण्डा छाड्न पुगेका छन् । अझ रोचक के भयो भने पछिल्लो डेढ दशक निरन्तर राजसंस्था पुनःस्थापनाको पक्षमा वकालत गर्दै आएका थापा एउटा घटनाले भने गणतन्त्रलाई नै स्वीकार्ने अवस्थामा पुगेका हुन् । अर्थात् गत निर्वाचनमा राप्रपाको निर्वाचनमा पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई हराएको भनेर रिसाएका थापा पार्टी नै परित्याग गरेर नयाँ गणतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा लागेका हुन् । थापाले सम्भवतः फागुन १ मा गणतान्त्रिक पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिनेछन् ।

प्रस्तावित ‘राष्ट्रिय एकता पार्टी’ को मूल एजेण्डा हिन्दुराष्ट्र हुनेछ । यस्तै सुशासन र समृद्धि समेत सो पार्टीको एजेण्डा हुने भनिएको छ । तर, कतिपयले धर्मको राजनीतिको भविष्य नभएको बताउँदै आएका छन् भने कतिले यही एजेण्डाको वकालत गर्ने कमल थापाको पूर्वपार्टी राप्रपा नै भएको तथा काँग्रेस र एमालेभित्र पनि हिन्दुत्वमा विश्वास गर्ने फ्याक्टर उल्लेख्य भएको सन्दर्भमा थापाको पार्टीको भविष्य नरहेको जिकिर गर्दै आएका छन् । यस्तै थापाको विगतको कार्यशैलीका कारण पनि उनलाई अघि बढ्न गाह्रो रहेको भन्नेहरू पनि छन् ।  

यस्तो पृष्ठभूमिमा थापाको राजनीतिक स्पेस कस्तो हाला भन्ने चासो हुनु स्वाभाविक हो । थापा निकटका प्रभावशाली नेता सुशील श्रेष्ठ विगतको विरासत र वर्तमान कारण र आवश्यकताले पार्टी स्थापित हुने जिकिर गर्छन् । पार्टी निर्माणमा थापालाई बलियो साथ दिएका पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले देशमा एउटा सशक्त परम्परागत शक्तिको आवश्यकता रहेको र त्यसमा आफूहरू स्थापित हुने विश्वास व्यक्त गरे ।

‘राप्रपा भजनमण्डलीको बाटोतिर लागिसकेको छ । एउटा शक्ति (निर्मल निवास) को कब्जामा गइसकेको छ । एउटा परम्परागत शक्तिको आवश्यकता नेपालमा छ । हामी त्यसमा स्थापित हुन सक्छौँ ’, उनले भने, ‘काँग्रेस, एमाले र माओवादी भन्दा फरक एजेण्डा बोकेर हामी हिँडिसकेपछि स्वाभाविक रूपमा उनीहरू अहिले कन्जरभेटिभ स्पेसमा रहनै सक्दैनन् । परम्परागत शक्ति, परम्परा तथा संस्कृतिप्रति गौरव गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो जुन मान्यता हो त्यो मान्यता अरू पार्टीसँग छैन ।’

 काँग्रेस–एमालेभित्र हिन्दुवादी विचार भए पनि त्यो विचार सम्बन्धित पार्टीभित्र एकदमै कमजोर स्थितिमा रहेको उनको जिकिर छ । यस्तो अवस्थामा आफूहरूलाई राजनीतिक स्पेस बनाउन गाह्रो नहुने उनको भनाइ छ ।

तर एक वामपन्थी नेता भने कमल थापालाई नयाँ पार्टी सञ्चालनमा सकस रहेको जिकिर गर्छन् । उनले भने, ‘धर्मकै नाममा राजनीति गर्न गाह्रो छ । त्यसमाथि थापाको विगतको छवि पनि विवादित छ ।’ राप्रपामा रहेका आफ्नै निकटस्थ नेताहरूको समर्थन पाउने नपाउने पनि स्पष्ट नभएको अवस्थामा थापालाई थप सकस पर्ने उनको बुझाइ छ । यसो त धर्मको नाममा राजनीतिक गर्ने स–सानारुपमा विभक्त संघसंगठन धेरै रहेकाले पनि थापालाई सहज नभएको उनको भनाइ छ। हिन्दुत्वकै मुद्दा बोक्नेहरू एमाले, काँग्रेस जस्ता ठुलो पार्टीमै पनि ठुलो पङ्क्ति रहेकाले त्यो थप चुनौतीपूर्ण हुने उनको भनाइ छ ।

यता थापाले नै छाडेको पार्टी राप्रपाका एक नेता पनि कमल थापाले पूर्वराजासँग आक्रोश पोख्नकै लागि गणतन्त्र राजेको र हिन्दुत्वको मुद्दामा पनि उनलाई सकस पर्ने जिकिर गरे । ‘स्पोर्टस्म्यान स्प्रिट भन्ने तर आफै शक्तिमा रहनुपर्छ भन्ने सोच उहाँमा देखियो । निर्वाचनको परिणामलाई क्षतविक्षत बनाउने गम्भीर अपराध कमल थापाबाट भएको छ’, राप्रपाका ती नेताले भने ।  ३१ वर्षसम्म साथ लिएका राजेन्द्र लिङ्देनलाई कमल थापाले एक मिनेट पनि साथ नदिई निर्वाचनको मत परिणाम घोषणाअघि नै परिस्थितिलाई गिजोलेको उनको आरोप छ ।

तर सुशील श्रेष्ठ भने विगतदेखि नै आफूहरूले उठाउँदै आएको हिन्दुराष्ट्रको एजेण्डाको ब्राण्ड आफूहरूसँगै रहेको जिकिर गर्दै त्यो ब्राण्डमा कुनै खराबी नआउने जिकिर गर्छन् । ‘खासगरी हिन्दुराष्ट्रको एजेण्डाको संवाहक हिजोसम्म कमल थापा नै हो । त्यसकारणले यो एजेण्डालाई हामीले लिएर हिँड्दा स्वाभाविक ढंगबाट त्यो ब्राण्ड हामीसँगै रहन्छ ’, उनको भनाइ छ, ‘ हिजोका दिनमा हामी खेलेको भूमिका, संविधान निर्माणका क्रममा हामीले खेलेको भूमिका, त्यो भन्दा अघि ०६२/६३ पश्चात् हामीले देशव्यापी रूपमा खेलेका भूमिकाहरूजस्ता कार्यले मलाई लाग्छ हामी नै मूल संवाहक हौँ । नेता कार्यकर्ताले हामीलाई त्यही ढंगले लिएको अवस्था छ ।’

थापाले गणतन्त्र स्वीकारेपनि तत्काल राजसंस्थाको विरोधमा भने खुलेर नलाग्ने नीति अख्तियार गर्ने बुझिएको छ ।  ‘गणतन्त्र भनेर हामी एकदमै गणतन्त्रको नारा लगाएर हिँड्ने अवस्थामा हामी छैनौँ ’, नेता श्रेष्ठले भने, ‘ हामीले हिजो जिन्दगीको धेरै लामो समय राजसंस्थासँगै सहकार्य गरेका हौँ । त्यहीकारण यो राजसंस्थालाई गालीगलौज गरेर हिँड्ने नैतिक आधार पनि देखिँदैन ।’

संस्थाप्रतिको सम्मान यथावत् रहे पनि त्यो संस्थालाई बोकेर नहिँड्ने र गणतन्त्रलाई नै स्वीकार गर्ने उनले स्पष्ट पारे ।

यसै सन्दर्भमा कमल थापा नेतृत्वको नयाँ पार्टीबारे केन्द्रित रहेर रातोपाटीले श्रेष्ठसँग गरेको कुराकानी :

नयाँ पार्टी दर्ताको तयारी हुँदै गर्दा कस्तो एजेण्डा लिएर जनतामा जाँदै हुनुहुन्छ ?

हाम्रो एजेण्डा भनेको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापना नै मुख्य हो । हामी खासरी संवर्द्धनवाद दर्शनमा आधारित हुनेछौँ । सम्पूर्ण नीति तथा कार्यक्रमहरू त्यही संवर्द्धनवादको दर्शनमा आधारित हुन्छन् ।

तपाईंले पार्टीले हिन्दुराष्ट्रको एजेण्डा बोक्ने भन्नुभयो, तपाईंहरू अलग्गिनु भएको राप्रपाको पनि उस्तै एजेण्डा छ । काँग्रेस एमाले जस्ता दलमा पनि हिन्दुत्वको माग राख्ने तप्का छँदैछन् । यो हुँदाहुँदै तपाईंहरूलाई छुट्टै पार्टी नै किन चाहियो त ?

नयाँ पार्टी नै किन चाहियो भने राप्रपाको जुन स्पेस उसको राष्ट्रिय राजनीतिमा थियो–ऊ अब त्यो स्पेश भन्दा बाहिर जाने अवस्था आयो । हामीले पटक पटक भन्दै आएका पनि छौँ, राप्रपा भजनमण्डलीको बाटोतिर लागिसकेको छ । एउटा शक्ति (निर्मल निवास) को कब्जामा गइसकेको छ । सेन्टर टु राइट भन्ने राष्ट्रिय राजनीतिको जुन स्पेस हो त्यो स्पेसमा अहिले कोही पनि छैन । त्यो सेन्टर टु राइटको स्पेस भनेकै हाम्रा लागि उपयुक्त स्पेस हो । मलाई लाग्छ, एउटा परम्परागत शक्तिको आवश्यकता नेपालमा छ । हामी त्यसमा स्थापित हुन सक्छौँ ।

काँग्रेस, एमाले र माओवादी भन्दा फरक एजेण्डा बोकेर हामी हिँडिसकेपछि स्वाभाविक रूपमा उनीहरू अहिले कन्जरभेटिभ स्पेसमा रहनै सक्दैनन् । उनीहरू जुन ढंगले ०६२/६३ को आन्दोलनमा  जुन कित्तामा गएर उभिए त्यहाँबाट उनीहरू ब्याक हुन सक्ने देखिँदैन । परम्परागत शक्ति, परम्परा तथा संस्कृतिप्रति गौरव गर्दै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो जुन मान्यता हो त्यो मान्यता अरू पार्टीसँग छैन ।

काँग्रेस र एमालेमा रहेको हिन्दुवादी धारको आवाज उनीहरूकै पार्टीमा सुनुवाइ हुन सक्दैन र हामी मात्रै त्यो एजेण्डाको हकदार हौँ भन्ने यहाँको दाबी हो....?

निश्चय नै । काँग्रेस–एमालेभित्र पनि हिन्दुवादी शक्तिहरू  छन्, विचार नभएको भन्ने होइन तर त्यो विचार पार्टीभित्र एकदमै कमजोर स्थितिमा छन् । त्यसकारण हाम्रो होलसेल एजेण्डा भनेकै सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र हुन्छ । हामी जुन एजेण्डाका साथ अघि बढ्छौँ, खासगरी यो एजेण्डाको संवाहक हिजोसम्म कमल थापा नै हो । त्यसकारणले यो एजेण्डालाई हामीले लिएर हिँड्दा स्वाभाविक ढंगबाट त्यो ब्राण्ड हामीसँगै रहन्छ । हिजोका दिनमा हामी खेलेको भूमिका, संविधान निर्माणका क्रममा हामीले खेलेको भूमिका, त्यो भन्दा अघि ०६२/६३ पश्चात् हामीले देशव्यापी रूपमा खेलेका भूमिकाहरूजस्ता कार्यले मलाई लाग्छ हामी नै मूल संवाहक हौँ । नेता कार्यकर्ताले हामीलाई त्यही ढंगले लिएको अवस्था छ ।

तपाईंहरूले निर्मल निवासको भूमिकामाथि जुनखाले आरोप लगाएर पार्टी नै छाड्ने अवस्था आइपर्‍यो, अब तपाईंहरूको राजसंस्थालाई हेर्ने दृष्टिकोण कस्तो रहन्छ ?

हिजोका दिनसम्म हामीले राजसंस्था बोकेकै हौँ । अबका दिनमा चाहिँ हामीले त्यस ढंगले राजसंस्था बोकेर हिँड्दैनौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हामीले राजसंस्थाको एउटा प्रतिनिधि पात्रको रूपमा हामीले स्थापित गरेर आइराखेका थियौँ । तर, हामीले उनलाई सक्रिय राजाको रूपमा स्थापित गर्ने भनेको होइन । उनले जुन ढंगको भूमिका गत चुनावमा खेले, यसले के देखायो भने निर्मल निवास वा ज्ञानेन्द्र शाह संवैधानिक राजसंस्था भएर नभई सक्रिय राजसंस्थाको भूमिकामा रहन चाहेको देखियो । किनभने अहिले जुन ढंगबाट राप्रपा नेतृत्वको भूमिका देखिएको छ, त्यो अघोषित रूपमा एउटा भजनमण्डली जस्तै देखिन थालेको छ । सोही ढंगले पार्टीका सदस्यहरुको मनोनयन गरियो । पदाधिकारीको मनोनित नै भन्नुस्, सम्पूर्ण गतिविधिबाट के देखिएको छ भने त्यहाँ प्रत्यक्ष रूपमा निर्मल निवासको हस्तक्षेप भइराखेको छ । त्यसकारण हामीले के भनेका छौँ भने त्यस किसिमको सक्रिय राजसंस्था चाहँदैनौँ । हामीले हिजो पनि संवैधानिक राजसंस्थाकै कुरा गरेको हो । तर अहिले राजसंस्थाको प्रतीकको रूपमा रहेको एउटा व्यक्तिले भूमिका खेलिसकेपछि अब हामीमा त्यो संस्थालाई स्थापित गर्ने नैतिक धरातल नै गुमाएका छौँ ।

सिधा उत्तर दिनुस्, तपाईंहरूको पार्टी गणतान्त्रिक पार्टी हो ?

गणतन्त्र भनेर हामी एकदमै गणतन्त्रको नारा लगाएर हिँड्ने अवस्थामा हामी छैनौँ । किनभने हामी हिजो जिन्दगीको धेरै लामो समय हामीले राजसंस्थासँगै सहकार्य गरेका हौँ । त्यहीकारण यो राजसंस्थालाई गालीगलौज गरेर हिँड्ने नैतिक आधार पनि देखिँदैन । त्यसकारण संस्थाप्रतिको सम्मान यथावत् रहन्छ नै तर हामीले त्यो संस्थालाई बोकेर चाहिँ हिँड्दैनौँ ।

भनेपछि गणतन्त्र स्वीकार गरेर पार्टीको अगाडि बढ्नुहुन्छ ?

करिब करिब अब त्यही बुझ्दा पनि हुन्छ ।

तपाईंहरूले निर्वाचन आयोगमा पार्टीचाहिँ कहिलेसम्म दर्ताका लागि निवेदन दिनुहुन्छ ?

मलाई लाग्छ, पर्सी १ गते पार्टी दर्ताका लागि निवेदन दिन्छौँ । पार्टीको नामको विषयमा छलफल भइरहेको छ । राष्ट्रिय एकता पार्टी भन्ने नाममा साथीहरुको सुझाव छ । तर अन्य सुझावहरू पनि आइरहेका छन् ।

देशभरबाट हामीसँग रहेका साथीहरूलाई पार्टीमा समेट्छौँ । हामी अहिले नयाँ ढंगले जाने भनिएकाले जो राप्रपामा नरहेका स्वतन्त्र व्यक्तिहरु तथा विगतमा काँग्रेस, एमाले, माओवादीमा संलग्न भएका तर अहिले निष्क्रिय रही हिन्दुत्वको एजेण्डामा विश्वास गर्नेलाई पनि पार्टीमा समेट्छौँ । हामीले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी पार्टी संरचना बनाउँछौँ ।

तपाईंहरूले पार्टी दर्ताको तयारी गर्दै गर्दा राप्रपामै रहेका कमल थापा निकट धेरै खुल्न सकिरहेको देखिँदैन । यसले तपाईंहरूलाई पार्टी निर्माणमा धक्क पुग्छ भन्ने लाग्दैन ?

मलाई लाग्छ, त्यस्तो अप्ठ्यारो पर्दैन । राप्रपा अहिले जुन बाटो हिँडिराखेको छ, त्यो बाटो दुर्घटनातर्फ नै जाने बाटो हो । त्यो दुर्घटनामा एक दिन पर्छ नै । त्यसकारण राप्रपाभित्र रहेका राष्ट्रवादी व्यक्तिहरु ढिलोचाँडो हामै पार्टीमा आउने विश्वास छ । मलाई सम्झना छ, राप्रपा नेपाल हामीले गठन गर्दा शून्यको अवस्थाबाट सुरु गरिएको थियो । अर्को राप्रपा पनि थियो । तर क्रमिकरुपमा त्यहाँबाट साथीहरू पलायन हुँदै हाम्रो पार्टीमा आउनु भएको थियो । उहाँहरू आउनु त हुन्छ नै त्यो भन्दा पनि बढी हामीले नयाँ शक्तिको निर्माण गर्न खोजेका पनि हौँ । राप्रपाभित्रकै कति मान्छे आउँछन् आउँदैनन् भन्दा पनि शक्ति कसरी निर्माण हुन्छ भन्ने कुरा नै महत्त्वपूर्ण हुन्छ ।

अन्त्यमा, सरकारले स्थानीय तह चुनावको मिति पनि तोकिसकेको छ । तपाईंहरूको नयाँ पार्टी चुनावमा सहभागी हुन्छ कि हुँदैन ?

लिन्छ । हामीले अहिले हतार गरेको कारण पनि त्यही नै हो । १ गते आयोगमा पार्टी दर्ता गरेपछि २ गतेदेखि नै हामी स्थानीय तह निर्वाचनको तयारी अभियानमा अगाडि बढिहाल्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप