बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, सेवाग्राहीलाई सहज

मङ्गलबार, १० फागुन २०७८, १५ : ४६
मङ्गलबार, १० फागुन २०७८

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. ८ की बेल कुमारी गौतमले हालै आफ्नो नाममा रहेको तीन ठाउँको जग्गाको कर इ-सेवाबाट तिरेकी छन् । उनले घरमै बसेर  नगरपालिकाका लागि कति कर लाग्छ भन्ने स्पष्ट रुपमा हेरिन् र १३ सय ६ रुपैयाँ नगरपालिकामा जम्मा गरिदिएकी हुन् ।

उनले भनिन्, ‘रकम कति लाग्छ, जग्गाको विवरण हानेपछि हेर्न मिल्ने रहेछ । अनि नगरपालिका जाने फुर्सद पनि थिएन, घरमै बसेर ई सेवामार्फत् रकम तिरेँ ।’ उनले कोरोना बेला कर तिर्न भन्दै भिडभाड गर्न भन्दा घरबाटै सहज रुपमा रकम पनि तिर्न सकिने र आफ्नो समय पनि बचत हुने बताइन् । गौतम जस्तै अनलाइनबाट सम्पत्ति कर तिर्ने पदमराज कँडेल पनि हुन् । उनले आफ्नो सम्पती कर ३८ सय १२ रुपैयाँ नगरपालिकामा अनलाइनबाट बुझाएका छन् ।

 
उनले अनलाइनबाट नै सम्पती कर बुझाउँदा समयको बचत भएको बताए । तिलोत्तमा नगरपालिकामा हालसम्म गौतम र कँडेल जस्तै धेरै छन् । अनलाइनबाट हालसम्म १ लाख ५५ हजार कर उठेको नगरपालिकाले जनाएको छ । अनलाइनबाट सम्पत्ति कर तिर्दा धेरै सेवाग्राहीहरुको समय बचत भएको छ ।

नगरपालिकाले सम्पत्ति कर जुनसुकै वार्डबाट भएपनि एकै ठाउँमा रकम जम्मा गर्ने  सुविधा दिएको छ । यसले थप सहज भएको सेवाग्राहीहरुले बताउने गरेका छन् । नगरपालिकाले अनलाईन कर तिर्ने विषयमा   प्रत्येक वडामा तालिम नै चलाएको थियो । नगरपालिका प्रत्येक वार्डको   एक हजार ९ सय २३ टोलमा पुगेर तालिम प्रदान गरिएको थियो । यसले सेवाग्राही र नगरपालिका दुवैलाई लाभ पुग्ने अपेक्षा गरिएको नगरपालिका  प्रवक्ता सुरेन्द्र श्रीले बताए । 

पछिल्लो समयमा नगर बासीले विद्युत्, खानेपानीलगायतका बिल पनि अनलाइनबाट तिर्ने गरेका छन् । नगरपालिकाले संचालन गरेको विद्युतीय सेवालाई सेवाग्राहीले सहज प्रयोग गर्न सकिरहेको प्रवक्ता सुरेन्द्र श्रीले रातोपाटीलाई बताए ।

 उनले भने, कम्तीमा एक घरमा एक जनाले ई सेवा, या खल्ती सेवा प्रयोग गर्ने गरेका छन् । जसका कारणले यो नगरपालिकाको सेवालाई उपयोग गर्ने विस्तारै  बृद्धि हुने हाम्रो अपेक्षा छ ।’ 

तिलोत्तमा नगरपालिकाले  अनलाईन  विलिङ्गसँगै सामुदायिक विद्यालयहरूका एप पनि सञ्चालनमा ल्याएको छ । तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना माध्यामिक विद्यालय कक्षा ९ मा पढ्ने रणवीर थापाले मोबाइलमा विद्यालयले निर्माण गरेको एप चलाउने गर्दछन् । त्यो एपबाट उनले विद्यालयको गाडी कति बेला आउछ,  विद्यालय अतिरिक्त कार्यक्रम छ कि छैन आदि हेर्ने गर्दछन् । अझै गाडी कहाँ आइपुगेको छ भन्नेसम्म अपडेट हुनेहुँदा विद्यालय जान आउन   सहज भएको उनले बताए ।  

 उनले मात्रै होइन त्यो एप शिक्षक, अभिभावकले समेत चलाउने गर्दछन् । घरबाट विद्यालय गएका विद्यार्थीहरु विद्यालय पुगे नपुगेको अभिभावकहरूले आफै थाहा पाउने गरेको स्थानीय अभिभावक रमेश थापाले बताए । उनका छोरा कक्षा १ देखि नै शान्ति नमुना विद्यालयमा पढेको भए पनि मोबाइल एप आएपछि बच्चाहरुको रेखदेख गर्न सहज भएको उनले बताए ।

विद्यालयका शिक्षक दिनेश खड्काले विद्यालय एपले आवश्यक जानकारी लिन र बालबालिकाहरूलाई  पढाउन सहज भएको बताए । एपमा अन्य आवश्यक सामग्रीहरु पनि अपडेट र थप सदुपयोग गर्न सकिने उनले बताए । त्यसको लागि नगरपालिकाले पहल गर्नुपर्ने उनको माग रहेको छ ।  

यस क्षेत्रको पुरानो विद्यालयको रुपमा परिचित शान्ति नमुना विद्यालयले जस्तै तिलोत्तमा नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा एप संचालन गर्ने नीतिअनुसार जनजागृति माध्यमिक विद्यालय, पशुपति मा.वि.दुर्गादत्त मा.वि.,शंकरनगर मा.वि लगायत २० वाट विद्यालयमा एप प्रयोग भएको छ ।

एप ४३ वटा विद्यालयमा बनेपनि शुरुमा २० वटा विद्यालयमा मात्र संचालनमा ल्याएको हो । अरु केही समयपछि संचालनमा ल्याइने छ । उक्त एपमा विद्यालयको जानकारी, सूचना, विद्यालयमा हुने समयका गतिविधि आदि राखिएको छ । जसबाट विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक र अनुगमन गर्ने निकायसँगै सबैले लाभ लिएका छन् । 

शान्ति नमुनाका आईटी कोअर्डिनेटर शेखर पौड्यालले एपबाट विद्यार्थीहरुले आफ्नो रिजल्ट हेर्न सक्ने, अनलाईन क्लास, होस्टल, बसको रुट सेटिङ्गको लागि प्रयोग भएको रातोपाटीलाई बताए । 

 यस्तै कुन शिक्षक, कुन विद्यार्थीहरु विद्यालय आए, कुन शिक्षक, कति बजे आए, गए आदिको विवरण दिने गरी एपको निर्माण गरिएको छ । नगरपालिका कम्प्युटर अधिकृत सुदीप ढकालले एपको प्रयोगले ईन्टरकम, सिसिटिभी क्यामेरा  र आईटी सुरक्षाको काम गरेको बताए । 

उनले नगर बासीले घरबाटै अनलाइनमार्फत् राजस्व बुझाउन सक्ने सुविधा प्रदान गर्ने उद्देश्यले सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, विभिन्न सिफारिस रकम लगायतका जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाइएको  बताए । 

यस्तै समाजिक सञ्जालको व्यापक प्रयोग  गरेको  उनले बताए । तिलोत्तमा नगरपालिकाले सामाजिक सञ्जालको प्रयोग पनि व्यापक रुपमा गरेको छ । सञ्जालको प्रयोग गरेको सेवाग्राही तथा सर्वसाधारणमा महत्वपूर्ण सूचना  तथा जानकारीहरु प्रदान गरेको छ । त्यसको लागि नगरपालिकाले फेसबुक, ट्वीटर, युट्युब प्रयोग गरेको छ । यसमा कार्यालयका विभिन्न गतिविधिसँगै सूचनाहरु राखिएको छ । 

सामाजिक सञ्जाल सबैभन्दा धेरै प्रभावकारी कोरोनाको समयमा भएको ढकालले बताए । तिलोत्तमा ४ नम्बरका रमेश पाण्डेले सामाजिक सञ्जालबाट नगरपालिकाले राखेका सूचनाहरु धेरै थाहा हुने बताए । यस्तै कतिपय निर्णयहरूसमेत सामाजिक सञ्जालमा राखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप