शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाह प्रकरण : यस्तो हुनेछ अनुसन्धान र अभियोजनको बाटो

पल पक्राउ नपरे के हुन्छ मुद्दा ?
बिहीबार, १२ फागुन २०७८, १८ : ३४
बिहीबार, १२ फागुन २०७८

एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा नायक पल शाहमाथि जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दर्ता भएको छ । जाहेरी दर्ता भएसँगै प्रहरीले यस प्रकरणको अनुसन्धान सुरु गरेको छ । 

विवाहको प्रलोभनमा पारी आफ्नी नाबालिग छोरीसँग यौन सम्बन्ध स्थापित गरेको भन्दै गायिकासमेत रहेकी नाबालिगको बुवाले जिल्ला प्रहरी कार्यालय तनहुँमा बुधबार जाहेरी दिएका थिए । जाहेरीलगत्तै प्रहरीले ती नाबालिगको स्वास्थ्य परीक्षणसमेत गराइसकेको छ । 

मोडल तथा नायकसमेत रहेका पल शाह भनेर चिनिने पूर्ण विक्रम शाहले आफ्नी १७ वर्षीया छोरीलाई पटकपटक बलात्कार गरेको कारण कारबाही र क्षतिपूर्तिको माग गर्दै प्रहरीमा उजुरी परेपछि प्रहरीले यस सम्बन्धमा अनुसन्धान सुरु गरिसकेको छ । जाहेरी दर्ता भएसँगै तनहुँ प्रहरीले बुधबार नै तनहुँ जिल्ला अदालतबाट पलविरुद्ध पक्राउ पूर्जीसमेत लिइसकेको छ । तनहुँ जिल्ला अदालतका  श्रेष्तेदार मिन बहादुर कुँवरका अनुसार बुधबार नै पलविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । 

अदालतबाट पक्राउ पुर्जीसमेत प्राप्त भइसकेकाले प्रहरीले यतिबेला पल शाहको खोजी सुरु गरिसकेको छ । तनहुँ प्रहरीले बुधबार नै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएर पक्राउका लागि सहजीकरण गरिदिन आग्रह गरेको छ । प्रहरीले खोजे गरेलगत्तै पल शाह भने फरार भएका छन् । ​

यस्तो हुनेछ अभियोजनको कानुनी बाटो

नायक पल शाहविरुद्ध बलात्कारको जाहेरी परेसँगै अब प्रहरीले शाहलाई पक्राउ गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाउनेछ । शाहलाई तत्काल पक्राउ गर्न नसकेको अवस्थामा पनि प्रहरीले आफ्नो अनुसन्धानलाई भने जारी राख्ने छ । अनुसन्धानकै क्रममा प्रहरीले बुधबार नै नाबालिगको स्वास्थ्य परीक्षण गराइसकेको छ । जाहेरीमा उल्लेख भएका घटना विवरणको सम्बन्धमा पनि प्रहरीले सूक्ष्म अनुसन्धान गर्नेछ । जाहेरीमा उल्लेख भएको घटना विवरण र वारदातको स्थान, समय आदिका सम्बन्धमा पनि प्रहरीले अनुसन्धान गर्नेछ । प्रहरीको पहिलो दायित्व भनेको वारदात अर्थात् घटनालाई पुष्टि गर्ने आधारहरूको खोजी गर्नु नै हुनेछ । त्यसका लागि अन्तिमपटक बलात्कार भएको भनिएको स्थान तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगौंडामा रहेको प्रदीप थापाको घरमा गएको हो कि होइन, वारदात भएको हो कि होइन भन्ने सम्बन्धमा अनुसन्धान गर्नेछ । त्यस घरमा रहेका सदस्य, नाम पोलिएका पल शाहका साथी प्रदीप थापा, छिमेकी आदिसँग प्रहरीले बयान लिनेछ । 

त्यसैगरी जाहेरीमा उल्लेख भएको २०७७ साल पुस १० गते पोखराको होटल प्राइममा पनि बलात्कार गरेको उल्लेख छ । प्रहरीले उक्त होटलमा वारदात भएको हो कि होइन भनेर होटलको सिसीटिभी फुटेज, उक्त दिन होटलमा बसेको हो कि होइन ? होटलमा को को बसेका हुन् ? त्यस पक्षको विश्लेषण गर्नेछ ।

त्यस्तै २०७७ चैत ७ गते चितवनस्थित गैँडाकोट रिसोर्टमा पनि बलात्कार गरेको जाहेरीमा उल्लेख छ । प्रहरीले त्यस सम्बन्धमा पनि अनुसन्धान गर्नेछ । यस सम्बन्धमा प्रहरीले मोबाइलको म्यासेज, कल लग, लोकेसन, आदिका बारेमा प्राविधिक विश्लेषण समेत गर्न सक्नेछ । त्यसबाहेक पलले नाबालिगलाई सामाजिक सञ्जालमा पठाएको म्यासेज लगायतका विषयमा पनि अनुसन्धान हुन सक्नेछ । त्यसबाहेक अहिले बाहिरिएको अडियो टेपको पनि विधिविज्ञान प्रयोगशालामा अनुसन्धान गरी प्रहरीले प्रमाणका रूपमा पेस गर्न सक्नेछ ।

अनुसन्धानकै क्रममा आरोपी पल शाह पक्राउ परेमा निजलाई अधिकतम २५ दिनसम्म न्यायिक हिरासतमा राखी अनुसन्धान गर्न पाउने व्यवस्था छ । यसको अर्थ आरोपी तत्काल पक्राउ परेमा अदालतले अनुसन्धानको लागि दिएको म्यादका आधारमा अधिकतम २५ दिन थुनामै राखी अनुसन्धान गर्न पाउनेछन् । त्यसपछि पनि उनीहरूले आरोपलाई पुष्टि गर्ने आधार र प्रमाणसहित निजमाथि मुद्दा चल्नुपर्ने हो कि होइन सो को राय लिएर जिल्ला सरकारी वकिल कार्यालयमा जानुपर्नेछ । सरकारी वकिल कार्यालयले अभियोग दाबी पुग्ने अवस्था देखेमा मुद्दा लैजाने निर्णय गर्नेछ भने अभियोग दाबी नपुग्ने अवस्था देखेमा टिप्पणी उठाएर मुद्दा नलैजाने निर्णय गर्नेछ । तर त्यस्तो निर्णय गर्दा त्यसको कारणसहितको प्रतिवेदन महान्यायाधिवक्ता कार्यालयमा समेत पठाउनुपर्नेछ । जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर नगर्ने निर्णय गरेको अवस्थामा पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा दर्ता गर्न आदेश दिन सक्नेछ । त्यस्तो अवस्थामा सरकारी वकिल कार्यालयले पुनः मुद्दा दर्ता गर्नुपर्नेछ । 

आरोपी पक्राउ नपरेको अवस्थामा पनि प्रहरीले जाहेरी तामेलीमा राखी अनुसन्धानलाई जारी नै राख्न सक्नेछ । तर कानुनतः बलात्कारको मुद्दामा एक वर्षभित्रै मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले प्रहरीले उक्त अवधिमै मुद्दा लैजानुपर्नेछ ।

नाबालिग १९ वर्ष पुग्दासम्म मुद्दा दर्ता गर्न सकिने

मुलुकी अपराध संहिताको धारा २१९ मा जवरजस्ती करणी गर्न नहुने बारे उल्लेख गरिएको छ । संहिताको धारा २१९ मा बालिकाको उमेर अनुसार करणी गर्ने व्यक्तिलाई कैद सजाय हुने व्यवस्था गरिएको छ । हाल बलात्कारको अभियोग लगाएकी नाबालिगको उमेर १७ वर्ष रहेको कारण यदि आरोप पुष्टि भएको अवस्थामा आरोपितलाई १० देखि १२ वर्षसम्मको कैद सजाय हुन सक्नेछ । 

जबरजस्ती करणीको मुद्दामा जाहेरी दिनका लागि हदम्यादसमेत तोकिएको छ । मुलुकी अपराध संहिताको धारा २२९ मा जबरजस्ती करणीमा जाहेरी दिने हदम्याद तोकिएको छ । धारा २२९ मा यसरी बलात्कार भएको अवस्थामा एक वर्षभित्र जाहेरी दिनुपर्ने उल्लेख छ । 

तर बालबालिका सम्बन्धी ऐनमा भने यदि कुनै बालिका पहिले नै बलात्कृत भएको भएता पनि उनी बालिग भएको अर्थात् १८ वर्ष पुगेको मितिले एक वर्षभित्र जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । यस आधारमा हुँदा यी बालिकाले आफू १९ वर्ष नलाग्दासम्म पनि जाहेरी दिन सक्नेछिन् । 

मुलुकी देवानी कार्याविधि संहिता, २०७४ को दफा ५२ को उपदफा १ मा फिराद वा मुद्दा गर्नुपर्ने कुनै व्यक्ति नाबालिग भएको अवस्थामा निज बालिग भएपछिको दिनको आधारमा हदम्याद प्रारम्भ हुने कुरा उल्लेख गरिएको छ । जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्ने हदम्याद १ वर्षको भएको कारण बालिका १९ वर्ष नलाग्दासम्म पनि मुद्दा दर्ता गर्न सकिने व्यवस्था छ । 

पल पक्राउ नपरे के हुन्छ मुद्दा ?

जबरजस्ती करणीको कसुरमा जाहेरी परे लगत्तै नायक पल शाह यतिबेला फरार भएका छन् । बिहीबार बिहानसम्म पनि फेसबुकमा पोष्ट गरिरहेका शाह त्यसपछि कतै सम्पर्कमा आएका छैनन् । प्रहरीले शाहको खोजी गरिरहेको बताए पनि बिहीबार साँझसम्म शाह पक्राउ परेका छैनन् । यस्तो अवस्थामा प्रहरीले शाहलाई फरार प्रतिवादीका रूपमा मुद्दा दर्ता गर्न रायसहितके प्रतिवेदन लिएर जान सक्नेछ । 

जाहेरीसँगै प्रतिवादी र साक्षीको बयान महत्त्वपूर्ण हुने भएकाले प्रतिवादीलाई पक्राउ गरी बयान नलिएसम्म मुद्दा नलैजान पनि सक्नेछ । तर उक्त जाहेरी तामेलीमा राखी पछि प्रतिवादी पक्राउ परे लगत्तै मुद्दा लैजान पनि सक्नेछ । 

तर पल शाहमाथि लागेको बलात्कारको मुद्दा एक चर्चित गायिकाको जाहेरी भएकाले प्रतिवादी पक्राउ नपरे पनि मुद्दा लैजान सक्ने अधिकार भने प्रहरी र सरकारी वकिललाई छ । प्रतिवादी पक्राउ पर्न नसकेको अवस्थामा पनि प्रहरीले तथ्य र प्रमाणका आधारमा मुद्दा दर्ता गर्न लैजान सक्नेछ । त्यस्तो अवस्थामा सरकारी वकिलले जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सक्नेछ । 

पक्राउ परे धरौटीमा छुट्लान् कि जेल जालान् पल ?

बलात्कारजस्तो सङ्गिन आरोप लागेका प्रतिवादी पल शाह पक्राउ परेको अवधिमा अनुसन्धानको समयभर उनी प्रहरी हिरासतमै रहनेछन् । जब उनीमाथि अभियोग मागदावी लिएर जिल्ला अदालतमा मुद्दा पर्छ, त्यसपछि मात्रै उनी जेलमै बस्छन् कि बाहिर निस्कन्छन् भन्नेबारे थुनछेक बहस हुनेछ । 

पीडित बालिका १८ वर्षभन्दा कम उमेरको भएको र आरोप पुष्टि भएको अवस्थामा १० वर्षभन्दा बढी समय जेलमै बस्नुपर्ने भएकाले उनी तत्कालै धरौटीमा छुट्ने सम्भावना भने रहँदैन । तर अभियोग दाबी अनुसारको आरोप पुष्टि गर्ने आधार नभएको अवस्थामा भने न्यायाधीशले धरौटी रकम माग गरी थुनामुक्त गरिदिन पनि सक्नेछन् । 

तर बलात्कारजस्तो मुद्दामा प्रतिवादीलाई थुनामुक्त गर्दा त्यसको सन्देश राम्रो नजाने भएकाले अधिकांश न्यायाधीशले आरोपलाई थुनामै पठाउने गरेका छन् । थुनामुक्त गरेर विवादमा आउनुभन्दा थुनामै पठाउँदा ठीक हुने भन्दै अभियुक्तलाई थुनामै राख्ने गरिएको छ । यस अर्थमा पल पक्राउ परेपछि पनि तत्काल थुनामुक्त हुने सम्भावना ज्यादै कम छ । 

क्षतिपूर्तिमा ठूलो रकम खर्चनुपर्ने हुनसक्छ

पीडित बालिकाको तर्फबाट दर्ता भएको जाहेरीमा दोषीलाई कारबाही र पीडकबाट उचित क्षतिपूर्ति भराउनुपर्ने माग समेत भएको छ । मुलुकी अपराध संहिताको दफा २२८ मा क्षतिपूर्ति भराई दिनुपर्ने बारे उल्लेख छ । उक्त दफामा पीडकबाट आर्थिक हैसियत अनुसार पीडितलाई मनासिब क्षतिपूर्ति भराउनुपर्ने उल्लेख गरेको छ । 

जबरजस्ती करणी अभियोगका आरोपी पल शाहको मासिक आम्दानी नै ५ लाख रुपैयाँभन्दा बढी रहेको बताइएको छ । यस्तो अवस्थामा आरोप पुष्टि भएमा आरोपीको सम्पत्ति र आर्थिक हैसियतका आधारमा पीडितलाई ठूलो रकम क्षतिपूर्ति बापत दिनुपर्ने समेत हुन सक्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप