आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

तीन कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले गरे क्षमा पूजा

मङ्गलबार, १७ फागुन २०७८, १८ : ४६
मङ्गलबार, १७ फागुन २०७८

निर्माणका क्रममा भत्किएर तीन जना कामदारको ज्यान लिएको ठिमुरा पुलमा स्थानीयले क्षमा पूजा गरेका छन् । भरतपुरको ठिमुरा र देवघाटको घिनाटार जोड्ने त्रिशुली नदीमा निर्माणाधीन पुलमा महाशिवरात्रिको अवसर पारेर स्थानीयले मंगलबार क्षमा पूजा गरेका हुन् ।

१२ बैशाख २०७८ मा पुल भत्किँदा पुल निर्माणमा काम गरिरहेका तीन कामदारको मृत्यु भएको थियो । आठ जना घाइते भएका थिए । फलामको ट्रसमा नटबल्ट कस्ने क्रममा पुल भत्किएपछि कामदार नदीमा खसेका थिए । त्यसअघि २४ चैत २०७७ मा पनि पुलको ८० मिटर ढलानको स्ल्याब भत्किएको थियो । पुल निर्माणका क्रममा दुई पटकसम्म भत्किएको र कामदारको मृत्यु समेत भएकाले पुल निर्माणस्थलमा क्षमा पूजा गरिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंक पौडेलले बताए । ‘राम्रो होस्, छिटो काम होस् भनेर महाशिवरात्रिको अवसर पारेर पुल निर्माणस्थल त्रिशुली नदीको किनारमा क्षमा पूजा, गंगा पूजा, रुद्री र हवन गरेका हौँ’, उनले भने ।

पुल निर्माणको काम तीव्र बनाएर छिटो सक्न पनि पुल निर्माण उपभोक्ता समितिले माग गर्दै आएको छ । पहिलो पटक पुल भत्किँदा पुलेको ढलानको स्ल्याब भुईमा खसेको थियो भने दोस्रो पटक भत्किँदा पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको थियो । ठेकेदारको लापरबाहीले नै पुल भत्किएको छानविन समितिले प्रतिवेदन दिएको थियो । त्यसअनुसार पुल भत्किँदा भएको क्षति ठेकेदारले नै व्यहोर्ने गरी पुलको पुनः निर्माणको काम थालिएको हो । चार वटा स्पान रहेको २२० मिटर लामो पुलको अहिले पुनः ढलानको काम गर्न लागिएको छ भने ट्रस पनि उठाइँदै छ ।

ठेकेदारले फटाफट काम गरे अबको छ देखि सात महिनासम्मका पुलको काम सकिने सडक डिभिजन भरतपुरका प्रमुख बाबुराम सापकोटा बताउँछन् । ‘पुल भत्किसकेपछि सरकारले नै चैतसम्मको म्याद दिएको हो । तर चैतसम्ममा सकिने त कुरै छैन’, सापकोटाले भने, ‘म्याद थप्नै पर्ने हुन्छ । ठेकेदारले सरासर काम ग¥यो भने छ देखि सात महिनासम्ममा चाँहि सक्छ ।’ समयमै काम सक्न सडक डिभिजनले ठेकेदारलाई ताकेता गरिरहेको उनले बताए । तीन वटा निर्माण कम्पनी ईलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले संयुक्त रुपमा २० कात्तिक २०७१ मा पुल निर्माणको जिम्मा पाएका हुन् ।

सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पु¥याइएको थियो । चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ६५ प्रतिशत हुँदा पहिलो पटक भत्किएको थियो । न्युज कारखाना
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप