बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय चुनाव आउन ६७ दिन बाँकी, के–के गर्दैछ निर्वाचन आयोग ?

सोमबार, २३ फागुन २०७८, १३ : १०
सोमबार, २३ फागुन २०७८

आउँदो बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको मिति आउन अब ६७ दिनमात्र बाँकी छ । गत माघ २५ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया रोकेको आयोगले यतिबेला प्रत्येक जिल्ला निर्वाचन आयोगका कार्यालयहरूमा मतदाता नामावलीमाथि दावी विरोधको प्रक्रिया चलिरहेको छ । दावी विरोधको प्रक्रिया सकेपछि आगामी चैत १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले रातोपाटीलाई जानकारी दिए । 

प्रवक्ता पौडेलले भने– ‘जिल्ला जिल्लामा, पालिका–पालिकामा नामावली टाँस भएर दावी विरोधको निवेदन लिने काम भइरहेको छ । निर्वाचन आयोगमा दर्ता कायम रहेका १ सय ११ राजनीतिक दलमध्ये ८० दलले स्थानीय तहको निर्वाचनमा भाग लिने प्रयोजनमा लागि आफ्नो निवेदन दिएका छन् । फागुन ५ देखि १५ गतेसम्म निवेदन लिने समय तोकेका थियौं । सो क्रममा यी दल दर्ता भएका हुन् । दलहरुले दिएका ति निवेदन उपर जाँच बुझको काम भइरहेको छ । कुन दल निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने वा नगर्ने यही फागुन २६ गते आयोगले निर्णय गर्छ ।’

यस्तै निर्वाचन सञ्चालनका लागि आवश्यक पर्ने निर्देशिका बनाउने काम भइरहेको छ । जनशक्ति र आर्थिक परिचालन सम्बन्धी दुईवटा निर्देशिका बनिसकेको छ भने अन्य निर्देशिका बनाउने काम पनि भइरहेको प्रवक्ता पौडेलले जानकारी दिए । 

यस्तै निर्वाचन सामग्री खरिद अन्तर्गत मतपत्र छपाइका लागि कागज खरिदका लागि गोरखापत्रमा सार्वजनिक सूचना निकालेर प्रतिस्पर्धाको माध्यमबाट खरिद प्रक्रिया अघि बढाइएको छ । अहिले ठेकेदार कम्पनी कागज ल्याउने प्रक्रियामा रहेको उनले बताए । अन्य विभिन्न सामग्रीहरु खरिदका लागि विभिन्न १० वटा प्याकेज बनाएर सार्वजनिक बोलपत्र आह्वान गरेको र त्यसको अहिले मूल्याङ्कनको काम भइरहेको छ । दुई तिन दिनभित्रै आयोगले खरिदकर्ता छनौट गरेर सम्झौता गर्ने तयारी भइरहेको प्रवक्ता पौडेलको भनाई छ । 

यस्तै निर्वाचनका लागि कर्मचारी व्यवस्थापनका सन्दर्भमा आयोगले केन्द्रबाट ७ सय ५३ र थप जगेडा गरी ८ सय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता पौड्यालले भने–‘त्यसका लागि सम्बन्धित निकायबाट नाम प्राप्त भएको छ । ती नामहरूबारे अध्ययन हुँदैछ । त्यसका आधारमा केही दिनभित्र निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतहरुको नियुक्ति गर्छ । यसरी आयोगका विभिन्न महाशाखा र शाखाहरूले द्रुत गतिमा काम गरिरहेका छन् । आयोगले कार्यतालिका अनुसार काम गरिरहेको छ ।’

अगामी चैत १३ गते मतदाताको अन्तिम नामावली प्रकाशन भएपछि मतपत्र छपाइका लागि गृहकार्य सुरु गर्ने आयोगको तयारी छ । कागज खरिदकर्तालाई मतपत्र छाप्ने कागज १ महिनाभित्र आयोगलाई उपलब्ध गराउने गरी सम्झौता गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप