बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

आज नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन हुँदै, नेतृत्वको लागि ३ जना भिड्दै

शुक्रबार, २७ फागुन २०७८, ११ : १०
शुक्रबार, २७ फागुन २०७८

नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन आजबाट सुरु भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आजबाट जिल्ला अधिवेशन सुरु भएको हो । विभिन्न कारणले पटक–पटक तय भएर पनि हुन नसकेको अधिवेशन आजबाट सिन्धुपाल्चोकको चौतारामा हुँदैछ । अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम हुने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिए ।

अधिवेशन अन्तर्गतको निर्वाचनका लागि कार्यक्रम तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको निर्वाचन अधिकृत देव बहादुर महतले बताए ।

यस्तो छ निर्वाचन कार्यतालिका

जिल्ला सदरमुकाम चौतारास्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रवार मनोनयन दर्ताका कार्यक्रम रहेको छ । शुक्रबार दिउँसोबाट मनोनयन दर्ता सुरु हुने निर्वाचन अधिकृत महतले बताए ।

उनका अनुसार शुक्रबार विहान १०ः३० बजदेखि १२ः३० बजेसम्म सरोकारवालासँग छलफलको कार्यक्रम रहेको छ भने त्यसपछि लगत्तै मतदाता नामावली सार्वजनिक गरिने छ ।

दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम संचादन गर्ने कार्यतालिका रहेको उनको भनाई छ । ४ः१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५ः४५ बजेसम्म उम्मेदवारी माथि दावी विरोधको समय रहेको उनले बताए । साँझ ६ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महतले बताए ।

अधिवेशन अन्तर्गत मतदानको कार्यक्रम भने शनिवार हुनेछ । बिहान ८ बजेबाट मतदान सुरु हुने र अपरान्ह ३ः३० बजेसम्म चल्ने उनले बताए । अपरान्ह ४ः१५ बजेबाट मतगणना हुने उनको भनाई छ ।

नेतृत्वको लागि ३ जना भिड्दै

जिल्ला नेतृत्वका लागि ३ जना चुनावी दौडमा रहेका छन् । नेतृत्व हत्याउने दाउमा वंशलाल तामाङ, डा. प्रेमध्वज लामा र जंगबहादुर लामा निर्वाचनमा होमीएका छन् । तामाङ संस्थापन इतर पक्षका हुन् भने अन्य दुई उम्मेदवार प्रेमध्वज लामा र जंगबहादुर लामा संस्थापन पक्षका मानिन्छन् ।

तामाङ सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका निर्वाचित अध्यक्ष हुन् भने प्रेमध्वज लामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक थिए । सिन्धुपाल्चोक काँग्रेसमा यसअघि संस्थापन इतर पक्षको पकडको भएको जिल्ला हो । तर, क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्याका आधारमा भने जिल्लामा संस्थापन पक्षले बलियो देखिन्छ ।  

संस्थापन इतरका सभापतिका लागि चुनावी माहोलमा होमिएका तामाङ गाउँपालिका महासंघका महासचिवसमेत हुन् । उनलाई जिल्ला सभापति विकास लामा र सचिव बिलबहादुर तामाङले पनि सहयोग गरेको बुझिएको छ ।

यता जिल्लाको क्षेत्र नम्बर १ मा एकछत्र राज गर्दै मोहन बहादुर बस्नेतले पनि सभापति पदमा आफ्नो निर्णायक भूमिका खेल्ने देखिएको छ । उनले सार्वजनिक नगरेपनि सभापतिमा जंगबहादुर लामालाई साथ दिएको स्रोत बताउँछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप