बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

७ महिनामा ११ खर्ब ४७ अर्बको आयात, व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो

चीनतर्फ निर्यात घट्यो, भारततर्फ बढ्यो
शुक्रबार, २७ फागुन २०७८, १६ : २७
शुक्रबार, २७ फागुन २०७८

चालू आर्थिक वर्षको साउदेखि माघसम्म वस्तु आयातमै देशबाट ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बाहिरिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा पछिल्लो अवधिमा वस्तु आयात ४२.७९ प्रतिशतले बढेको हो । नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको पहिलो सात महिनाको आर्थिक तथा वित्तीय स्थिति तथ्याङ्क सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

सात महिनामा कूल वस्तु आयात ४२.८ प्रतिशत वृद्धि भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धि नगन्य अर्थात् ०.०१ प्रतिशतमात्रै बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश: ३०.९ प्रतिशत, ४२.३ प्रतिशत र ८३.८ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाबिन तेल, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायत वस्तु आयात घटेको छ ।

याे अवधिमा नेपालबाट हुने निर्यात पनि बढेको छ । निर्यात ८८.३ प्रतिशतले वृद्धि भई १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ निर्यात क्रमश: ११३ र २७७ प्रतिशतले वृद्धि भएको छ ।

चीनतर्फ निर्यात घट्यो, भारततर्फ बढ्यो

चीनतर्फको निर्यात १२.४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, धागो (पोलिष्टर तथा अन्य), जुस लगायतका वस्तुको निर्यात बढेको छ । अलैंची, चिया, जडीबुटी, तार लगायतका वस्तुको निर्यात घटेको छ । कन्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको केन्द्रीय बैंकले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।

आर्थिक वर्ष २०७८/७९ को सात महिनामा कूल वस्तु व्यापार घाटा ३८.४ प्रतिशतले वृद्धि भई १० खर्ब १५ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात ११.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.७ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब २८ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ४ अर्ब १३ करोड रुपैयाँ बराबरको भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप