आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचनमा भूमिका नदिएकोमा जसपाका नेताको आपत्ति

आइतबार, २९ फागुन २०७८, १५ : २६
आइतबार, २९ फागुन २०७८

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यहरुले स्थानीय तहमा केन्द्रीय सदस्यलाई कुनै भूमिका नदिएको भन्दै आपत्ति जनाएका छन् । स्थानीय तह निर्वाचन निर्देशिकामाथी छलफल गर्ने क्रममा केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका हुन् ।  

स्थानीय तहको चुनावका लागि जसपाले उम्मेदवार छनौटलगायत निर्वाचनमा पार्टीको सक्रियता लगायतका विषयमा निर्देशिका तयार गरेको छ । सो निर्देशिका आजदेखि सुरु भएको बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । त्यसमाथि आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रमोद साहले पार्टीका लागि केन्द्रीय कमिटी मुख्य हुन्छ तर त्यसमा कुनै भूमिका नदिएको गुनासो गरे । उम्मेदवार चयन लगायतका विषय स्थानीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै एकैपटक केन्द्रीय कार्यकारिणीमा जान्छ बीचमा केन्द्रीय सदस्यको कुनै भूमिका नदिएको प्रति उनले आपत्ति जनाए ।

त्यस्तै, केन्द्रीय समिति सदस्य मुरली सिंहले पनि ५०० सयभन्दा बढी केन्द्रीय सदस्य भएपनि स्थानीय तहको चुनावमा कुनै भूमिका नदिनु केन्द्रीय कमिटीको अपमान रहेको धारणा राखे । पार्टी कार्यकारिणीले मात्र चलाउने होइन, केन्द्रीय कमिटीले चलाउने हो, त्यसमा सबैको त्यतिकै भूमिका हुन आवश्यक रहेको उनले बताए । उम्मेदवार छनौटदेखि लिएर चुनावका अन्य गतिविधिमा कार्यकारिणीको मात्र भूमिका रहने हो भने टिकट वितरण पारदर्शितामा प्रश्न उठ्ने उनले बताए । उनले भने, केन्द्रीय सदस्यहरुलाई कुनै भूमिका दिनुपर्छ, नत्र चुनाव प्रभावकारी हुँदैन ।’


विशेश्वर रजक, सिमा सिंह लगायतले पनि स्थानीय तहको चुनावमा केन्द्रीय सदस्यको भूमिका हुनुपर्ने कुरामा जोड दिए । सिमा सिंहले चुनावमा महिलाको उपस्थिति ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने धारणा राखिन् । उनले कम्तीमा ३३ प्रतिशत महिलाले स्थानीय तहको चुनावमा टिकट पाउनुपर्ने र महिलालाई उपाध्यक्षमा मात्र सिमित गर्न नहुने बताइन् । निर्देशिकामाथि हालसम्म २० जनाले आफ्नो धारणा राखि सकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप