बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंका १९ सार्वजनिक ठाउँमा होली कार्यक्रम, १५ सय प्रहरी परिचालन गरिने

इच्छाविपरीत रंग दल्नेलाई मुद्दा, चेकिङमा कडाइ
मङ्गलबार, ०१ चैत २०७८, २० : ००
मङ्गलबार, ०१ चैत २०७८

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २०७७ मा फागु पूर्णिमाको अवसरमा भिडभाड गरेर होली खेल्न रोक लगाएको थियो । संक्रमण दर घटेसँगै यसवर्ष सरकारले ‘होली नखेल्नु’ भनेको छैन । प्रहरीले फागु पूर्णिमामा हुने भीडभाडपूर्ण कार्यक्रममा सुरक्षा दिनेगरी सुरक्षा योजना तयार गरेको छ । 

काठमाडौं जिल्लाका १९ सार्वजनिक ठाउँमा होली खेल्ने कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंमा आयोजित होलीका कार्यक्रममा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न १ हजार ५ सय प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई जानकारी दिए ।  

होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको काठमाडौं प्रहरीले प्रहरीले जबर्जस्ती रंग नदल्न र इच्छाविपरीत लोला नहान्न आग्रह गरेको छ । चैत ३ मा पहाडी र ४ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा जबरजस्ती लोला हान्ने कामलाई रोक्न प्रहरीले माइकिङ शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले होलीमा १५ सय प्रहरी परिचालन गर्ने सुरक्षा योजना बनाएको छ । 

चिनजान नभएका र काम विशेषले हिँडेका मानिसलाई जबरजस्ती लोला हान्ने र रंग दल्ने गरेको भेटिए पक्राउ गरेर मुद्दा चलाउने परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने, ‘अनिच्छुकलाई लोला हान्ने र अवीर दलेको भेटिएमा कानुन बमोजिम नियन्त्रणमा लिन्छौं ।’ 
होलीको नाममा जबर्जस्ती लोला हान्नेलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाउने अधिकारी प्रहरीलाई छ । सो मुद्दामा १ वर्ष कैद र १० हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

१९ ठाउँमा कार्यक्रम, १५ सय प्रहरी परिचालन
काठमाडौंको बसन्तपुर, भृकुटीमण्डप, सानो गौचरन, ठमेलस्थित कर्मचारी संचय कोष भवन अगाडी, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्ट, नर्सिङ चोक र असन चोक लगायत १९ ठाउँमा ‘होली कार्यक्रम’ आयोजना गरिएको छ । 
वसन्तपुरमा आयोजित होली कार्यक्रममा डीएसपीको कमाण्डमा ८५ जना प्रहरी परिचालन गर्ने सुरक्षा योजना तयार गरिएको छ । भृकुटीमण्डपमा ३५ जना, सानो गौचरनमा ४० जना, त्रिदेवीमार्ग स्थित कर्मचारी संचयकोष अगाडी ४० जना, लाजिम्पाट स्थित त्रिसारा रेष्टुरेण्टमा २० जना, नर्सिङचोक ठमेलमा ३५ जना, असनचोकमा ४० जना र क्षेत्रपाटी चोकमा २० जना प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।  
सामाखुसी, गोंगबु, बसपार्क, लैनचौर, नयाँबजार, रानीबारी, कुलेश्वर आवासक्षेत्र, टोखा नगरपालिका, भुँइखेल चउर (स्वयम्भु) र नयाँ बानेश्वरमा हुने कार्यक्रमहरुमा १०४ जना प्रहरी परिचालन हुनेछन् । 

चेकिङमा कडाइ
होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउनेहरु बढ्ने आकलन गरेर  चेकजाँचमा कडाइ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहान देखी चेकजाँचमा कडाइ गरिने एसपी मैनालीले बताए । 

होलीमा काठमाडौंका ९६ ठाउँमा पिकेट ड्युटी परिचालन गरिने छ । एउटा पिकेटमा ५ जनाको दरले चोकहरुमा ४८० जना प्रहरी खटिन्छन् । त्यस्तै, १४० जना प्रहरीले मोबाइल गस्ती (भ्यानमार्फत) गर्नेछन् । 
फागुन ३ मा काठमाडौंका ५० भन्दा बढी ठाउँमा प्रहरीले बिहानैदेखि चेकजाँच गर्नेछन् । १५ जनाको दरले तीनवटा स्ट्राइकिङ टोली परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । 

मोटरसाइकल मार्फत गरिने गस्ती ‘क्यूरआरटी’ मा काठमाडौंका १४ वटा वृत्त र प्रभागबाट करिब ३ सय जना प्रहरी खटिने छन् । १ सय २० जनाको रिजर्भ टोली तयार गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । परिसर काठमाडौंले बनाएको योजना अनुसार करिब १५ सय जना प्रहरी परिचालित हुनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप