आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी बिफिङ : आफू असुरक्षित रहेको प्रचण्डको संकेत, २ अर्बको रङ भित्र्याएर खेलियो होली

बिहीबार, ०३ चैत २०७८, २१ : ५२
बिहीबार, ०३ चैत २०७८

आज २०७८ चैत ३ गते बिहीबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा विदेशबाट २ अर्बको रङ भित्र्याएर खेलियो होली, आफूमाथि भौतिक आक्रमणको षड्यन्त्र भएको प्रचण्डको दाबी, अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता, स्थानीय तह निर्वाचनमा थप ७३ दलले आफ्नै चुनाव चिह्न पाउने, संगठन बुझ्न नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन गर्ने, रेल नचले पनि ६५ कर्मचारीलाई बसीबसी तलब लगायत छन् ।

१. विदेशबाट २ अर्बको रङ भित्र्याएर खेलियो होली
नेपालको हिमाली र पहाडी जिल्लामा बिहीबार होली मनाइएको छ । तराई मधेसमा शुक्रबार होली मनाइँदैछ भने तराई मधेसकै मिथिला क्षेत्रमा भने शनिबारमात्र होली मनाइने भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा करिब २ अर्ब रुपैयाँको रङ आयात भएको छ । होलीमा रङको खपत अत्यधिक हुने गर्दछ । होली सबैका लागि रमाइलोमात्र भएन, काठमाडौं उपत्यकामा होलीलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कडा तुल्याएको थियो भने प्रहरीले अमर्यादित गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको छ ।

​२. आफूमाथि भौतिक आक्रमणको षड्यन्त्र भएको प्रचण्डको दाबी
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि भौतिक आक्रमणको षडयन्त्र भइरहेको दाबी गरेका छन् । पहिलो संविधानसभा निर्वाचनमा आफूलाई सिरहामा भौतिक आक्रमण गर्न खोजिएको भन्दै उनले त्यो खतरा अहिले पनि कायमै रहेको बताएका हुन् । लुम्बिनी प्रदेशका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले पार्टीमाथि पनि बारम्बार आक्रमण भइरहेको बताए । उनले गठबन्धन बनाएर भन्दा पनि आफ्नै तागतले चुनावमा जाने विषयलाई प्राथमिकतामा राखेको पनि बताए । 

​३. अभिनेता पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता 
अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो । १५ वर्ष ८ महिना चार दिनकी बालिकालाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता गरिएको हो ।

४. स्थानीय तह निर्वाचनमा थप ७३ दलले आफ्नै चुनाव चिह्न पाउने
निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका ७३ वटा राजनीतिक दलहरूलाई आफ्नो दलको निर्वाचन चिन्ह प्रदान गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दल बाहेकका प्रतिनिधिहरुले स्वेच्छिक चिन्ह लिएर उठ्नुपर्ने प्रावधान थियो । 

५. संगठन बुझ्न नेकपा एकीकृत समाजवादीले सातै प्रदेशमा अनुगमन गर्ने
नेकपा एकीकृत समाजवादीले स्थानीय निर्वाचन अघि संगठनको वास्तविकता पहिचान गर्न सातै प्रदेशमा अनुगमन गर्ने भएको छ । यसका लागि टोलीसमेत गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले सातै प्रदेशमा पार्टीको वास्तविक अवस्था पहिचान गर्न केन्द्रीय अनुगमन टोली गठन गरेको हो ।

६​. कोभिड संक्रमण घटेसँगै विदेशिनेको संख्यामा भारी वृद्धि
कोभिड–१९ संक्रमण दर घटेसँगै वैदेशिक रोजगारीमा जानेको संख्यामा उल्लेख्य वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न श्रम गन्तव्य मुलुकमा काम गर्न जान ४ लाख ६ हजार ९५६ जनाले श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष माघदेखि असारसम्मको अवधिमा जम्मा एक लाख १८ हजार ९३७ जनाले त्यस्तो स्वीकृति लिएका थिए ।

७. रेल नचले पनि ६५ कर्मचारीलाई बसीबसी तलब
जनकपुर–जयनगर रेल सञ्चालन कहिले हुने भन्ने अझै प्रस्ट छैन । तर रेल सेवाका लागि भर्ना गरिएका ६५ कर्मचारीले काम बिनानै बसीबसी तलब पाइरहेका छन् । यस अतिरिक्त रेलको ‘ड्राइ रन’ जारी रहँदा आर्थिक भार पनि बढ्दो छ ।

८. कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने मुख्यमन्त्रीको दाबी
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाबारे गण्डकी र लुम्बिनीका नेताहरू विभाजित भइरहँदा मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीलाई नै विश्वसम्पदा सूचीमा राख्ने दाबी गरेका हुन् ।  

९. जसपा छाडेर सरावगी एमालेमा गएपछि एमाले छाडेर राजेशमान जसपामा फर्कँदै
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल त्यागेर एमालेमा प्रवेश गरेका राजेशमान सिंह जनता समाजवादी पार्टी नेपालमा फर्किने भएका छन् । जसपा विभाजन हुँदा लोसपामा बसेका राजेशमान मधेसवादी दलका शीर्ष नेताहरुले मधेसको मुद्दामा सौदावाजी गरेको कारण आफू एमालेमा प्रवेश गरेको बताएका थिए । 

१०. र यो पनि,
पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको हो ।

नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका सूर्यबहादुर शाहीले आफ्नै पार्टीभित्र ‘हरिया सर्प’ रहेको जनाएका छन् । उनले तिनै सर्पका कारण आफू पराजित भएको भन्दै सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक असन्तुष्टि जनाएका छन् ।

मोरङ जिल्लामा बिराटनगर महानगरपालिकासहित १७ स्थानीय तह छन् । ०७४ मा चुनाव जितेका १७ वटै तहका प्रमुखहरु पुनः उम्मेदवार बन्ने दौडधूपमा लागेका छन् । दोहो¥याउने ईच्छा नभएका पालिका प्रमुखहरु मोरङमा एकजना पनि भेटिएनन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप