शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्घाटनको तयारीमा नेपालकै पहिलो तीनमुखे पुल

११ वर्षको उमेरमै फड्केबाट लडेका व्यक्ति मुख्यसचिव भएपछि बन्यो पुल
शुक्रबार, ०४ चैत २०७८, १५ : १९
शुक्रबार, ०४ चैत २०७८

रिडीमा निर्माणाधीन नेपालकै पहिलो तीनमुखे पुल यतिबेला आकर्षणको केन्द्र बनेको छ । निर्माण कार्य सम्पन्न नहुँदै यो पुल हेर्न आउनेको भिड बढ्दो छ । यो पुल हेर्नमा जति आकर्षक छ, यस क्षेत्रका बासिन्दाको दैनिक जीवनका लागि उत्तिकै आवश्यक पनि छ ।

गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष रामलाल विकका अनुसार यस पुलमा सेल्फी खिचेर, टिकटक बनाएर सामाजिक सञ्जालमा पोष्ट गर्न थालेपछि विभिन्न जिल्लाबाट हेर्न आउनेहरुको संख्या बढ्दै गएको हो ।

रिडी बजारका बासिन्दासमेत रहेका विक भन्छन्, ‘सम्पन्न नहुँदै हेर्न आउनेहरुको संख्या दिनहुँ बढ्दै जान थालेपछि रिडी र रुरु धार्मिक पर्यटकीय हव बन्ने आशा पलाएको छ ।’ उनका अनुसार पुल निर्माणको ९५ प्रतिशत काम सकिएको छ भने बाँकी ५ प्रतिशत काम छिटै सम्पन्न गरी उद्घाटनको तयारी गरिँदैछ ।

२०७० साल मंसिर १५ गते गुल्मी क्षेत्र नम्बर २ का तत्कालीन सांसद चन्द्र भण्डारी र नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौड्यालले यो पुलको संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

नयाँ बाटो रुबिना मना जेभीले नेपाल सरकारबाट २०७० साल असार १० गते एक हजार ९५ दिनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । उक्त कम्पनीले डिजाईनिङ्ग गर्न मै झण्डै दुई वर्ष समय लगायो भने चार वर्षसम्म निर्माण कार्य अलपत्र रह्यो ।

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा प्रदीपकुमार ज्ञवाली विजयी भएलगत्तै उक्त पुल र रेसुङ्गा विमानस्थल आफ्नै कार्यकालभित्रै निर्माण सम्पन्न गर्ने उद्घोष गरेका थिए ।

ठेकेदार कम्पनीले निर्माणमा ढिलासुस्ती गरेपछि तीन वर्ष अघि जलप नेपाल प्रालिलाई सो पुल निर्माणको जिम्मा दिइयो । निर्माण कम्पनीका साइट इन्चार्ज करणजित बर्मा भन्छन्, ‘निर्माण कार्य पहिल्यै सकिने थियो । तर कोभिडका कारण निर्माण सामग्री भित्र्याउन नसक्दा ढिलाइ भएको हो ।’

सो पुल यही चैत १५ गते उद्घाटन गर्ने लक्ष्य रहे पनि काठमाडौंबाट सरसफाई डिभिजन कार्यालयको टिम लाइटिङ्ग जडानका लागि आइनसकेकाले नयाँ वर्षको दिनसम्ममा उद्घाटन हुन सक्ने उनले जनाए ।

उनका अनुसार १४ करोडको टेन्डर भए पनि ९ करोड ८८ लाखको लागतमा पुल निमार्ण कार्य सम्पन्न हुँदैछ । कालीगण्डकी नदीमा पानीको सतहदेखि तल १४  मिटर गहिराइदेखि पिलर उठाएर तिनतिर जोड्ने पुल बनाइएको हो । त्यसमाथि दुई मिटर वेल क्याप पिलर छ भने पुल तर्नेभन्दा माथि २५ मिटर उचाईको भ्यूटावर छ । पुलदेखि माथि टावरमा जाने भ¥याङ्ग निर्माण भइरहेको छ ।

स्याङ्जा, पाल्पा र गुल्मी आवतजावत गर्ने यो पुलको तीनैतिर १७७ मिटर लम्बाई छ । उद्घाटन नहुँदै तीनैतिर आवत जावत खुला गरिएपछि सेल्फी खिच्ने, टिकटक बनाउनेहरुको भिड दिनहुँ बढेको बर्मा बताउँछन् ।

तीनमुखे पुलको परिकल्पनाकार भने गुल्मीको रुरुक्षेत्र गाउँपालिका बलेटक्सारका बासिन्दा पूर्व मुख्यसचिव पौड्याल नै हुन् । आफू सानो छँदा माध्यामिक तहको शिक्षाका लागि छिमेकी जिल्ला पाल्पा जानुपर्ने बाध्यता रहेको र त्यो बेला पाल्पा र गुल्मी आवतजावत गर्न नदीमा काठको फड्के रहेको उनले सुनाए । उनले भने, ‘कहिलेकाहीँ आवत जावत गर्दा मानिसहरु लडेर खोलाले बगाएको पनि मलाई हेक्का छ, म आफै २०३१ सालमा पाल्पाबाट पढेर घर फर्किने क्रममा लडेर खोलाले बगाएको थियो । त्यति बेला म ११ वर्षको थिएँ ।’

उनका अनुसार स्याङजातर्फ रहेको हनुमानको मुर्तिमा पुग्न पनि कालीगण्डकी नदी तर्न सक्ने अवस्था थिएन । उनले भने, ‘बाल्यपनको त्यो भोगाइ स्मरण गरेँ, तीन बेग्लाबेग्लै पुल बनाउने कि भनेर सोचेँ । यही क्रममा बीचमा पिलर राखेर एकैसाथ तीनैतिर पुल निर्माणको सोच आयो ।’

आफू मुख्यसचिव रहेकै समयमा तत्कालीन स्थानीय विकास मन्त्रालयमार्फत तीनमुखे पुलको योजना अगाडि सारे पनि इन्जिनियरहरूले डिजाईनिङ्ग गर्न नसकेपछि निर्माण कम्पनीले नै डिजाईनिङ्ग गर्ने गरी टेण्डर आह्वान गरिएको उनले सुनाए ।

तीनमुखे पुल निर्माण सम्पन्न हुन लागेकोमा खुशी ब्यक्त गर्दै उनले आफूले भोगेको र जिम्मेवार तहमा आफू पुगेपछि रुरुक्षेत्रको विकासमा केही गर्न सक्नु आफ्नो कर्तव्य रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप