शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुरामा पनि रूस–युक्रेन युद्ध प्रभाव !

आकासियो मासुको मूल्य, खतिवडाले लादेको करभार अर्को समस्या
शुक्रबार, ०४ चैत २०७८, २१ : २६
शुक्रबार, ०४ चैत २०७८

हाल बजारमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । कुखुरापालकबाट प्रतिकिलो ३०० रुपैयाँमा जिउँदो कुखुरा लिएर व्यवसायीहरूले ४२० रुपैयाँमा तयारी मासु बेचिरहेका छन् । यसो हुनुमा रूस–युक्रेन युद्धदेखि मौसमसम्मले काम गरेको छ ।

गत फागुन मध्यसम्म उपभोक्ताहरूले खुद्रा बजारमा कुखुराको मासु प्रतिकिलो ३५० रुपैयाँसम्ममा पाउँथे । तर, केही दिनयता मासुको मूल्य प्रतिकिलोमा ७० रुपैयाँसम्म बढेको छ । यो वृद्धि साविक मूल्यमा १६.६७ प्रतिशतसम्म बढी हो ।
हाल मुलुकमा दैनिक ६० देखि ८० टन मासु खपत हुने गरेको छ । काठमाडौं उपत्यकामै दैनिक ५० टन माग रहेको छ । तर, उपभोक्ताहरू बढ्दो महँगीको मारमा परेका छन् ।

दानामा रूस–युक्रेन युद्धको प्रभाव 
रूस–युक्रेन युद्धबीच कच्चा पदार्थ आपूर्तिमा दबाब पर्दा दानाको मूल्य नै बढेको दाना उत्पादक व्यवसायीहरूले दाबी गरेका छन् । दानाका लागि अत्यावश्यक पिना, ढुटो, मकै र भटमासको आपूर्ति युद्ध र रुसमाथिको प्रतिबन्धका कारण कम भइ अत्यधिक मात्रामा मूल्यवृद्धि भएको छ ।

त्यसको प्रभाव उत्पादनमा पर्न गई मूल्य वृद्धि भएको नेपाल दाना उद्योग संघका अध्यक्ष रवीन पूरीले रातोपाटीसँग बताए । ‘रूस–युक्रेन युद्धकै कारण मकै, भटमास, तेल लगायतका कच्चा पदार्थको आपुर्ति रोकिएको छ । सीमित आपूर्तिमा पनि अत्यधिक ३० प्रतिशतसम्मले मूल्य बढेर आएको छ । यसले गर्दा दाना उत्पादनमा नै समस्या परिरहेको छ’ अध्यक्ष पुरीले भने । 

उनका अनुसार अहिले २५ देखि ३० प्रतिशत मकै, गहुँ र भटमास लगायत आपूर्ति गर्ने युक्रेन युद्धमा छ । त्यहाँबाट निर्यात हुने वस्तुहरू रोकिएका छन् । जसको प्रभाव दानामा समेत परेको छ ।

‘उत्पादन लागतको हिसाबमा अहिले दानामा प्रतिकिलोमा नै १० रुपैयाँ घाटा छ । घाटा पूर्ति गर्न दानामा न्यूनतम १० रुपैयाँ मूल्यवृद्धि गर्नुपर्ने हो, तर प्रतिकिलो ४ रुपैयाँ मात्र वृद्धि गरिएको छ । यसको प्रभाव आंशिक रूपमा बजारमा परेको छ,’ पुरीले भने । 

पुरीका अनुसार हाल नेपालले युक्रेनबाट वार्षिक १८ देखि २० अर्ब रुपैयाँ बराबरको भटमासको पीना आयात गर्दै आएको छ । यस्तै, मकै पनि सोही परिमाणमा आयात गर्दै आएको अध्यक्ष पुरीको भनाइ छ । तर, यसपटकको बढ्दो रूस–युक्रेन तनाकाबीच बढ्दो डलरको मूल्यवृद्धि प्रभाव पनि कुखुराको मासुमै परेको छ । पीना आयात गर्दा  ४० देखि ४५ अर्ब रुपैयाँ हाराहारी रकम बाहिरिनसक्ने उनले बताए ।

डा.खतिवडाको करभार पनि मासुमै
पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कृषिउपज आयातमा समेत कर बढाएका थिए । आर्थिक वर्ष २०७४/७५ अघिसम्म कृषिउपज मानिने गहुँ, मकै, भटमासलगायत आयातमा न्यूनतम १.०६ प्रतिशतमात्र भन्सार शुल्क (कर) लगाउने गरिएको थियो । तर, डा. खतिवडाले यी वस्तुहरूमा समेत करवृद्धि गर्दै ९ प्रतिशत पुर्याइदिए । मकैमा ५ प्रतिशत र भटमासको पिनामा अधिकतम ९ प्रतिशत कर पुर्याइदिएपछि दाना महँगिएको पुरीको भनाइ छ । 

‘कृषिमा आत्मनिर्भर हुन भन्दै अर्थमन्त्री खतिवडाले गहुँ, मकै र भटमासलगायत अत्यावश्यकीय कच्चा पदार्थमा कर बढाइदिए । तर, यता अपेक्षित उत्पादन हुन सकिरहेको छैन । दानाका लागि आवश्यक पर्ने ७० देखि ८० प्रतिशत मकै अझै पनि बाहिरबाटै आयात हुन्छ,’ पुरीले भने, ‘भटमास त झन् शतप्रतिशत नै बाहिरबाट आयात गर्ने गरिन्छ । आफ्नो उत्पादन त भुटेर खान पनि पुग्दैन ।’

मौसम पनि कारक
राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेलवासे मासुको मूल्य बढ्नुको प्रमुख कारण मौसम नै रहेको बताउँछन् । मौसमका कारण कुखुराको उत्पादन नै कम हुँदा त्यसको दबाब मागमा परेको र मूल्य वृद्धि भएको उनको भनाइ छ । 

‘यो मौसममा हरेक वर्ष कुखुराको मासुको मूल्य बढ्छ । जाडोमा कुखुराको उत्पादन नै कम हुन्छ । अधिकांश कृषकहरूले जाडोमा चल्ला हाल्दैनन् । यता खपतको बजार घटेको हुँदैन, अझ बढ्छ । उत्पादन नहुने, तर बजार बढ्ने हुँदा स्वतः यसको दबाब आपूर्तिमा पर्दा मूल्य बढेको हो,’ बेलवासेले भने । उसो त अहिले पनि बजारमा कृषकहरूले आवश्यक चल्ला हालिनसकेकाले मासुको मूल्य अझै केही दिनसम्म नघट्ने उनले बताए । 

‘उत्पादन बढ्यो भने मूल्य घट्ने हो । तर, अहिले पनि कुखुरा उत्पादक अधिकांश कृषकहरूले चल्ला हालेका छैनन् । यसमा दानाको मूल्यवृद्धिले थप समस्या पारेको छ । सोहीकारण मासुको मूल्य प्रतिकिलोमा अझै ५ देखि १० रुपैयाँसम्म बढ्न सक्छ,’ बेलवासेले रातोपाटीसँग भने ।

उत्पादक भन्छन् : ‘प्रतिकिलो ३२० रुपैयाँ पाउनुपर्‍यो’
यता कुखुरापालक कृषकले मासुको मूल्य बढेपनि कृषकले पाउने मूल्य कम भएको जिकिर गरेका छन् । कुखुराको मूल्य प्रतिकिलो (जिउँदो) ३०० रुपैयाँ पुगे पनि अझ अपर्याप्त रहेको उत्पादक, कृषकहरूको भनाइ छ ।

‘मासुको खुद्रा मूल्य बढेर प्रतिकिलो ४२० रुपैयाँसम्म पुगेको छ । यता जिउँदो कुखुराको मूल्य पनि बढेर ३०० रुपैयाँ पुगेको छ । तर, यो अझै पर्याप्त छैन,’ नेपाल पोल्ट्री महासंघका अध्यक्ष टीका पोखरेलले रातोपाटीसँग भने, ‘दाना, चल्ला र औषधीलगायत अन्य लागत तुलनामा सो मूल्यले खर्चसमेत धान्दैन । उत्पादन खर्च उठाउन पनि कृषकले कम्तिमा जिउँदो कुखुराको मूल्य प्रतिकिलो ३२० रुपैयाँ पाउनुपर्छ,’ उनले भने ।

पोखरेलका अनुसार पछिल्लो समय दानाको भाउ अत्यधिक बढेको छ । केही समय अघिसम्म प्रतिबोरा (५० केजी) ३ हजारदेखि ३५ सय रुपैयाँमा पाइने दानाको मूल्य अहिले ४२ सय रुपैयाँदेखि ४५ सय रुपैयाँसम्म पुगेको छ । यस्तै चल्लाको मूल्य प्रतिगोटा ८० रुपैयाँदेखि ९० रुपैयाँ पर्न थालेको र औषधि उपचार थप खर्चिलो भएका कारण उत्पादन लागत बढेको पोखरेलको भनाइ छ ।

यी सबै खर्च धान्न पनि कृषकले जिउँदो कुखुराको मूल्य कम्तिमा प्रतिकिलो ३२० रुपैयाँसम्म पाउनुपर्ने पोखरेल बताउँछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप