आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लेटाङमा प्रहरीकै ज्यान जाने स्थिति कसरी निम्तियो ?

नगरपालिका प्रमुख भन्छन्, 'घटनालाई राजनीतिक इस्यु नबनाऔँ'
सोमबार, ०७ चैत २०७८, ०९ : ४१
सोमबार, ०७ चैत २०७८

मोरङको लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले आइतबारको घटनालाई राजनीतिक रंग दिन नहुने बताएका छन् । लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए । घटनामा प्रहरीमाथि समेत आक्रमण भएको थियो । 

आइतबार दिउँसो भएको उक्त घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने २५ जना प्रहरी घाइते भएका छन् । ७ जना सर्वसाधारण पनि घाइते भएका छन् । घाइतेमध्ये १४ जना प्रहरीहरूको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरूको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

नगरपालिकाका प्रमुख शंकर राईले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकबाटै गल्तीको सुरुवात भएको दाबी गरे । घटनामा संलग्न शिक्षक, उनलाई बचाउन खोज्नेहरू तथा प्रहरीको हत्यामा संलग्न सबैलाई जुनसुकै अवस्थामा पनि पक्राउ गरेर कानुनी दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए । 

घटनालाई शान्त बनाउन र अरु अप्रिय घटना हुन नदिनका लागि लेटाङमा रहेका राजनीतिक दल, प्रहरी प्रशासनसहितको बैठक आयोजना गरिएको बताउँदै राईले अराजक समूहले कसैको कुरा नसुन्दा घटना भएको पनि बताए । 

प्रस्तुत छ राईसँग टेलिफोनमा गरिएको कुराकानी: 

मेरो दाइ बिरामी भएर भरतपुरमा हुनुहुन्थ्यो । म त्यता गएको थिएँ । घटनाको विषयमा अपडेट थिएँ । लेटाङमा प्रजिअसहित जनप्रतिनिधि बसेर छलफल भइरहेको थियो, म पनि फोनमा निरन्तर कन्ट्याक्टमा थिएँ । घटना चाहिँ एउटा शिक्षकले एउटा विद्यार्थीलाई होलीको समयमा पनि र त्यसअगाडि पनि पटक–पटक जबरजस्ती गर्न खोजेको रहेछ । एक पटक मात्रै होइन धेरै पटक त्यस्तो घटना भएको रहेछ । 

नानीले विद्यालय व्यवस्थापन समिति र हेडसरलाई भनेको पनि रहेछ । तर, उनीहरूले शिक्षकको बेइज्जत हुने भयो भनेर लुकाउने प्रयास गरेका रहेछन् । पटक पटक भन्दा पनि कुनै कारबाही नभएपछि छात्राहरूले अभिभावकलाई भनेछन् । त्यसपछि हल्ला फैलियो । धेरै हल्ला फैलिएपछि अभिभावक र विद्यार्थीले ती शिक्षकलाई जुत्ताको माला, कालो मोसो दल्ने, कारबाही गर्नुपर्ने भन्ने माग गरेर प्रदर्शन गरेका थिए । त्यही अवस्थामा भीड कन्ट्रोल हुन सकेन । महिला प्रहरीले ज्यान गुमाउन पुग्नुभयो । 

यो ठुलो आपराधिक काम भयो, अराजकता भयो । हामीले शिक्षकलाई कारबाहीको दायरामा ल्याऊँ भनेका थियौँ । वडाध्यक्ष तथा उपप्रमुखहरू पनि घटनास्थलमा जानुभएको थियो । तर, स्थानीय युवाहरूले बोल्ने जनप्रतिनिधिलाई, शिक्षकलाई, अगुवा युवाहरूमाथि नै जाइलाग्ने अवस्था थियो । धेरैले हिजो कुटाइ पनि खाए । अहिले लेटाङमा कर्फ्यु लागेको छ । सम्बन्धित अपराधीलाई जहाँ भए पनि नछोड्ने गरी छलफल भइरहेको छ । 

हिजो म यहाँ नभएकोले गर्दा सूचना धेरै आएको छैन । तर, के हो भने विद्यार्थी बालिकालाई पटक पटक आक्रमण गरेको सूचना हेडसर र व्यवस्थापन समितिलाई सूचना दिँदा पनि मिलाउने प्रयत्न गरेको देखियो । तर, शिक्षकले नै आपराधिक गतिविधि जारी राखेको कारण यस्तो घटना भएको छ । त्यो पनि गलत भयो । हामीले त्यस खालको घटनालाई ढाकछोप गर्नेलगायत सबैलाई कारबाही हुनुपर्छ भनेका छौँ । 

अपराधी जोसुकै भए पनि सजाय हुनुपर्छ । गल्ती गरेकोलाई कारबाही हुनुपर्छ । घटनालाई राजनीतिक इस्यु बनाउनु हुँदैन । जो अपराधी छ त्यो अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्छ । हामी सबै राजनीतिक दलहरू बसेर घटना न्यूनीकरण र यस खालका घटना पुनः दोहोरिन नदिनका लागि छलफल गरिरहेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप