शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीको विरोध गरेरै नेता बन्न सकिन्छ भन्ने मनोविज्ञान देखिन्छ : सुदर्शन बराल

‘एमाले होस् चाहे अन्य दलसँग तालमेल गर्ने ढोका खुला छ’
सोमबार, ०७ चैत २०७८, १५ : ३०
सोमबार, ०७ चैत २०७८

स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरुबीच चुनावी तालमेलको चर्चा चलिरहेको छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेल हुन सक्ने सम्भावना टरेको छैन । यद्यपि काँग्रेसका केही नेता एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने बताइरहेका छन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रले पनि आफ्नै बलबुतामा चुनाव जित्ने गरी तयारी थाल्न कार्यकर्तालाई जोड दिने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकर्ता प्रशिक्षणका क्रममा गठबन्धनले जिताइदेला भन्ने भरमा नपरी आफ्नै बुतामा चुनाव जित्नेगरी तयारी थाल्न निर्देशन दिएका छन् ।

त्यसो भए चुनावी तालमेलप्रतिको मोह हटेकै हो त भन्नेमा आम चासो बनेको छ । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

स्थानीय तहको निर्वाचनतर्फ दलहरु केन्द्रित हुन थालेका छन्, चुनावी तालमेलको सम्भावना कस्तो छ ?

हामी आफ्नै बलमा चुनाव लड्ने, सबै प्रकारका प्रतिस्पर्धाका लागि तयार हुने भनेर हाम्रो संगठनलाई पालिका, वडा र टोल कमिटीस्तरसम्म मजबुत पार्न लागेका छौं ।

यदि चुनावी गठबन्धन वा तालमेलको अवस्था बन्ने भयो भने अहिलेकै गठबन्धनलाई अगाडि लैजाने हाम्रो घोषित नीति हो । तर निर्वाचनसम्म जाँदा अरु सम्भावना, अरु विकल्प रहन सक्छन् । त्यसका लागि पनि हामी खुला छौं ।

माओवादी पार्टी कमजोर भएकाले चुनाव हार्ने डरले चुनावी तालमेल गर्न खोजिरहेको भनेर पनि प्रचार गरिँदैछ, तालमेलबिना जित्न सक्ने अवस्था छैन ?

माओवादी पार्टी कमजोर भएको छैन । संगठनात्मक रुपमा केही कम मानिए पनि मुल रुपमा एजेन्डाको हिसाबले सिङ्गो देशलाई नेतृत्व गर्ने, देशलाई निकास दिने, प्रतिगमनलाई परास्त गर्ने, संविधान, गणतन्त्र, लोकतन्त्रको रक्षा गर्नमा अग्रसरता देखाउँदै आएको र राजनीतिक परिवर्तनको नेतृत्व गरिरहेको माओवादी पार्टी नै हो । त्यसकारण हामीले परिवर्तनको मुद्दामा गठबन्धन गर्ने, सहकार्य गर्ने गरेका छौं । संघर्षको सवालमा पनि र सत्ताको सवालमा पनि त्यो गर्दै आएका छौं । आगामी दिनमा पनि देशलाई एकताबद्ध गर्न हाम्रो पार्टी लाग्ने नै छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन भयो भने कहाँ कुन पार्टीले उम्मेदवारी दिने भन्ने विवाद कसरी सल्टाउनु हुन्छ ?

त्यसबारे केही चर्चा भएको छैन । पहिलो कुराचाहिँ स्थानीय कमिटीहरुलाई त्यहाँको सम्भावना, वास्तविकताका बारेमा अध्ययन गर्न निर्देशन दिएका छौं । हाम्रो अवस्था, विपक्षीहरूको अवस्था, हाम्रो उम्मेदवारको अवस्था आदिबारे स्थानीय कमिटीबाट रिपोर्ट आउँछ । स्थानीय कमिटीको सुझावका आधारमा प्रदेश कमिटीले गठबन्धनका बारेमा छलफल गर्ने हाम्रो कार्यक्रम छ ।

काँग्रेसका केही नेताहरुले चुनावी तालमेल हुँदैन भनिरहेका छन् । काँग्रेससँग तालमेल नभएको अवस्थामा एमालेसँग तालमेल होला त ?

पहिलो कुरा त नेपाली काँग्रेसले आधिकारिक रुपमा तालमेल गर्दैनौं भनेको छैन । कतिपय विचार आएका छन् । उहाँहरुको व्यक्तिगत विचार देखिन्छ । माओवादीको विरोध गरेर नै  नेता बन्न सकिन्छ भन्ने मनोविज्ञान काँग्रेसका केही मानिसमा विकास भएको छ । केपी ओलीजीमा पनि त्यस्तै देखिन्छ । माओवादीको विरोध गरेरै केपी ओली ‘राइज्’ भएका हुन् । काँग्रेसका केही नेताहरुमा पनि त्यस्तै मनोविज्ञान देखिन्छ ।

तर जहाँसम्म गठबन्धनको कुुरा छ, हामी जसरी पनि काँग्रेससँग तालमेल गर्छौं भन्ने पक्षमा छैनौं । हामी हाम्रै बलमा लड्ने हो भन्ने चाहेका छौं र दृढ पनि छौं । र पनि भरसक राष्ट्रिय गठबन्धन नै कायम राखौं भन्ने हो । नेपाली काँग्रेसले एक्लै लड्छु भने एमाले होस् चाहे अन्य दलसँग तालमेल गर्ने ढोका खुला छ ।

लुम्बिनी प्रदेशमा पालिकास्तरको चुनावी तयारी के कस्तो भइरहेको छ ?

अहिलेसम्म हाम्रो वडा तहसम्मका सम्मेलन, अधिवेशन सम्पन्न भएका छन् । टोल कमिटीसम्म संगठनलाई व्यवस्थित बनाइएको छ । अहिले भर्खर लुम्बिनी प्रदेश कमिटीको सम्पन्न बैठकले ग्राउण्ड लेबलसम्म पुग्ने निर्णय गरेको छ ।

गत स्थानीय तहको निर्वाचनमा तपाईंहरुको पार्टीले लुम्बिनी प्रदेशबाट जम्मा १९ वटा पालिका जितेको थियो, यसपाली कति जित्ने आँकलन छ ? 

हामीले गत निर्वाचनमा हाम्रो अनुभवमा कमी भएकाले, उम्मेदवार छनौट आदिमा भएको कमजोरीले त्यति राम्रो नतिजा ल्याउन सकेनौँ । तर हामी अहिले त्यसबाट पाठ सिकेर अघि बढ्दैछौँ । जनमत पनि बढ्दो भएकाले यसपाली अघिल्लो चुनावको परिणामलाई दोब्बर बढाउने लक्ष्य राखेका छौं ।

२०६४ सालमा माओवादीको पक्षमा देशव्यापी जनलहर थियो, त्यस यता त्यस्तो जनलहर देखिएको छैन । कहाँ कमजोरी भयो भन्ने लाग्छ ?

पहिलो कुुरा त, पहिलो संविधानसभा निर्वाचनबाट हामीले संविधान निर्माण गर्न सकेनौं, जसका कारण संक्रमणकाल लम्बियो र त्यसले जनतामा अलिकति निराशा छायो । अर्को कुरा, हाम्रो पार्टी विभाजन भयो । त्यसले पनि कार्यकर्ता, जनताको मनोविज्ञानमा असर गर्‍यो ।

त्यस्तै, हामीले जुन एजेन्डा बोकेर देशमा संविधान, गणतन्त्र, संघीयता, समावेशी लगायतका परिवर्तन ल्यायौं, त्यसबारे जनतालाई सही ढङ्गले बुझाउन सकिएन, जुन कुराको समीक्षा गरिएको छ ।

पैसाको बलमा चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञान पनि छ, यसबारे तपाईंहरुको धारणा के छ ?

पैसाको कारणले निर्वाचन जितिन्छ, परिणामलाई प्रभाव पार्न सकिन्छ भन्ने कुरा जनताको विवेकको अवमूल्यन हो, अपमान हो । हामीले चाहिँ जनताको विवेकको सम्मान गर्दछौं । उहाँहरुको चेतना र विवेक मै विश्वास गर्दछौं ।

जहाँसम्म पैसा खर्च गरेर चुनाव जित्ने षड्यन्त्र अरु दलहरुले गर्छन्, उनीहरुलाई आमजनता परिचालन गर्दै हाम्रो संगठनले निगरानी बढाउँदै परास्त गर्नेछ ।

तपाईंकै पार्टीका कार्यकर्ता सडकमा  एमसीसीको विरोधमा उत्रिरहेको अवस्थामा नेताहरु भने संसदमा एमसीसी पारित गर्दै  गर्दै थिए । यस्तो दोहोरो चरित्रबाट कार्यकर्तामा असन्तुष्टि छाएको छ भनिन्छ नि ?

कसरी हाम्रो पार्टीको दोहोरो चरित्र भयो ? सुरुदेखि नै हाम्रो पार्टीले एमसीसीका केही बुँदा संशोधन नगरी पास गर्न हुँदैन भन्दै आएको थियो । राष्ट्रियता, राष्ट्रिय अखण्डता र हाम्रो स्वाधीनतालाई असर गर्ने बुुँदाहरुलाई संशोधन गर्ने गरी हामीले जुन अडान लियौं, त्यही नै भयो ।

हामीले अडान नलिएको भए काँग्रेस–एमालेहरु जस्ताको त्यस्तै पास गर्ने पक्षमा थिए । उनीहरु मुलुकलाई दुर्घटनातर्फ धकेल्दै थिए, जुन कुरा हाम्रो अध्यक्षले अस्ति बुटवलमा पनि कार्यकर्ताहरुलाई स्पष्ट पारिसक्नु भएको छ ।

तपाई गुल्मी जिल्लाबाट राष्ट्रिय राजनीतिमा उदाएको नेता हो, गुल्मीमा चुनाव तयारी कस्तो छ नि ?

गुल्मीको अवस्था अहिलेचाहिँ क्रान्तिकारीहरुको पक्षमा, माओवादी पार्टीको पक्षमा एउटा लहर सिर्जना भएको छ । जसलाई हामीले गाउँ गाउँमा संगठित पारेका छौं । हाम्रा कमीकमजोरीलाई सच्याउँदै जनसमुदायलाई सगठित गर्ने र फेरि पनि संविधान, गणतन्त्र उल्ट्याउने, कहीँ न कहीँ राजतन्त्रको निरन्तरता ल्याउन चाहने शक्तिलाई परास्त गर्न यसका विरोधी सबै राजनीतिक पार्टी, सामाजिक ब्यक्ति, शक्तिलाई गोलबन्द गर्दै आएका छौं र गरिरहने छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप