शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महासंघले गर्‍यो वस्तुगत संघका नवनिर्वाचित टिमलाई स्वागत, निजी क्षेत्रका समस्या समाधानमा जोड

मङ्गलबार, ०८ चैत २०७८, १८ : ३२
मङ्गलबार, ०८ चैत २०७८

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघका पदाधिकारीहरूले  आफ्ना क्षेत्रका समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन् । महासंघको वस्तुगत परिषदद्वारा नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा आयोजना गरिएको कार्यक्रममा वस्तुगत संघका पदाधिकारीले समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका हुन् ।

हालै निर्वाचन सम्पन्न भएका महासंघका वस्तुगत सदस्य संघहरू नेपाल निर्यात परिषद्, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल वोटल वाटर उद्योग संघ, नेपाल मुद्रा विप्रेषक संघ, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन, नेपाल र नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष एवं पदाधिकारीहरूलाई एक कार्यक्रमका बीच स्वागत एवं बधाई दिइएको थियो ।

कार्यक्रममा आफ्ना क्षेत्रका वारेमा कुरा राख्दै निर्यात परिषदका अध्यक्ष रेशमबहादुर पोखरेलले वस्तु विकास गरौं र निर्यात बढाऔं भन्ने कुरालाई एक अभियानका रुपमा अगाडी लैजान एक्लै नसकिने बताए । त्यसैले यसमा महासंघको बलियो साथ आफ्नो संस्थाले खोजेको उनले बताए । कच्चा पदार्थमा लाग्ने भन्सार महसुल, चर्को बैंक व्याजदर, ट्रान्जिटका लागि पाउने सुविधाहरु लगायतका विषयहरूमा पनि महासंघले पहल गरिदिन उनको जोड छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले आफ्ना हक, हितको संरक्षण एवं समस्याहरूको समाधान गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले महासंघको साथ एवं सहयोग जरुरी भएको बताए । हाल निर्माण सामाग्रीमा भएको मूल्य वृद्धिलाई सम्बोधन गर्न सरकारसंग अनुरोध गरिएको र यसमा नेपाल उद्योग वाणिज्य महासंघको पहलको आवश्यकता रहेकोमा जोड दिए । साना उद्योगी व्यवसायीको हितका लागि सामूहिक ऐक्यबद्धता आवश्यक रहेकोमा पनि उनले बताए ।

नेपाल बोटल वाटर उद्योग संघका महासचिव गोकुल थापाले उद्योग संचालन गरेवापत फौजदारी अभियोगमा मुद्दा खेप्नु परेको अवस्था रहेकाले समस्या समाधानमा महासंघले पहल गर्नुपर्ने सुझाव राखे । हाल राष्ट्रिय सभामा रहेको खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी विधेयक जस्ताको तस्तै पारित भए मुलुकभित्र खाद्य सम्बन्धी कुनै पनि उद्योग व्यवसाय गर्न नसकिने अवस्था आउने पनि बताए ।

महिला उद्यमी महासंघ नेपालका अध्यक्ष निरु रायमाझी खत्रीले महासंघसँगको सहकार्यले महिला उद्यमी महासंघ, नेपालले उचाई लिन सफल भएको बताइन । नीतिगत व्यवस्था, वित्तिय पहुँच, बजार प्रवद्र्धन, क्षमता अभिबृद्धि लगायतका विषयहरूमा सरकारसंग पहल गर्न महासंघको साथ र सहयोग आवश्यक भएकोमा जोड दिइन् ।

नेपाल विप्रेषण संघका अध्यक्ष चन्द्र टण्डनले विप्रेषण भित्र्याउन निजी क्षेत्रको ठूला भूमिका रहेकाले यसलाई सबल बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने सुझाव राखे । अर्थतन्त्रको महत्वपूर्ण आधार रेमिट्यान्स क्षेत्रलाई सरकारले महत्व दिन थालेको उहांले बताए , सरकारले दिने सानो सेवा सुविधा पनि यो क्षेत्रका लागि ठूलो अवसर हुने भएकाले यस किसिमका धेरै कुराहरूमा महासंघसँग सहकार्य गरी अगाडी बढ्नु पर्नेमा जोड दिए ।

रेष्टुरेन्ट एण्ड वार एसोसिएसनका अध्यक्ष अरनिको राजभण्डारीले दैनिक १०÷१२ करोडको कारोबार हुने रेष्टुरेन्ट एण्ड वार व्यवसायलाई सरकारले उद्योगको मान्यता नदिएकोमा दुखेसो पोखे । कतिपय समयमा सरकारको कमजोर नीतिगत निर्णयका कारण श्रमिक र रोजगारदाता बीचको सम्बन्धमा यदाकदा समस्या आउने गरेको बताए । सदस्यहरूका समस्यालाई समयमै संवोधन गर्न पनि महासंघलाई आग्रह गरे ।

नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका अध्यक्ष पूर्णचन्द्र सापकोटाले पशुपक्षीको औषधि व्यवसायमा आवद्ध उद्यमी व्यवसायीहरू समस्यै समस्याको भूमरीमा फसेको अनुभूती भएकाले महासंघको ठूलो साथ र सहयोगको खा“चो रहेको बताए । सरकारका सम्बन्धित निकायहरू बीच सहकार्य एवं सामन्जस्यता नहुँदा निजी क्षेत्र मर्कामा परेको भन्दै पशुपक्षीको सुरक्षाका औषधिहरूमा लाग्ने कर छुट हुनु पर्ने, औषधि ऐन २०३५ को तत्काल खारेज गरी नयाँ ऐन ल्याउनु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप