बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेसका कार्यकर्तालाई समाजवादीका नेताको प्रशिक्षण !

मङ्गलबार, ०८ चैत २०७८, २२ : ०७
मङ्गलबार, ०८ चैत २०७८

स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसले देशव्यापी अभियानलाई तीव्र पारेको छ । पछिल्लो समय अभियानकै रुपमा काँग्रेसले घरदैलो अभियान चलाइरहेको छ । अभियानकै क्रममा काँग्रेसले ‘घरघर जाऊ, काँग्रेस जिताऊ’ नाराका साथ जनतासम्म गएर भोट मागिरहेको छ । 

यस्तैमा काँग्रेस बागमती प्रदेशले मंगलबार हेटौँडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । रोचक त के रह्यो भने कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा एकीकृत समाजवादी पार्टीका नेता खिमलाल देवकोटासमेतले प्रशिक्षण दिएका छन् । काँग्रेसलाई समाजवादीका नेताले प्रशिक्षण दिएको भन्दै काँग्रेसका केही नेताले असन्तुष्टि समेत जनाएका छन् । पार्टीभित्र उल्लेख्य प्रशिक्षण दिन लायक नेताहरु हुँदाहुँदै पनि अन्य पार्टीका नेतालाई बोलाएर प्रशिक्षण दिइनु गलत भएको बागमती प्रदेशका एक नेताले बताए । 

‘स्वतन्त्र हैसियतमा राष्ट्रियसभा सदस्य रहेपनि उनी समाजवादीका नेता हुन् । उनले नेपाली काँग्रेसका कार्यकर्तालाई संघीयता र संघीय व्यवस्थापन तथा स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रशिक्षण दिनु कति व्यवहारिक हुन्छ’, उनले भने, ‘बागमती प्रदेशले राम्रो प्रशिक्षण दिने प्रशिक्षक पनि नपाएर समाजवादीको सांसद बोलाएर प्रशिक्षण दिएर जग हसाउने काम भएको छ ।’ सो क्रममा देवकोटाले प्रशिक्षणका क्रममा स्थानीय तहका सन्दर्भमा डाटा नै प्रस्तुत गरेर चुनावमा काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिल्नुको विकल्प नरहेको बताएका थिए । 

देवकोटालाई प्रशिक्षक बनाएको विषयमा काँग्रेस बागमती प्रदेशको सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीले पनि असन्तुष्टि पोखे । ‘नेपाली काँग्रेसभित्र स्थानीय निकायसम्बन्धी र संघीयताबारे विज्ञता हासिल गरेका एक से एक विज्ञहरु छन् । नेपाली काँग्रेससँग सम्बन्धित विज्ञहरुलाई नै बैठकमा सहभागी गर्दा राम्रो हुन्थ्यो’, उनले भने । उनले नेतृत्वले ढंग नपुर्याएको आरोप लगाउँदै आफूलाई यसबारे धेरै बोल्नु नरहेको बताए । 

सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको प्रशिक्षणमा देवकोटा एक  प्रशिक्षक रहेका थिए भने साथसाथै काँग्रेसकै नेताहरु गोविन्द पोख्रेल, रामबहादुर लामालगायतले पनि प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले भने एमसीसीबारे कम्युनिष्टले फैलाएको भ्रमलाई चिर्दै आम मतदातामा काँग्रेसको विचार र सिद्धान्त तथा आफूले गरेका राम्रो कामको प्रचार गर्न लाग्नुपर्ने बताएका थिए । बानियाँले प्रशिक्षणबाट सिकेको कुरा आफू प्रतिनिधि भएको जिल्लाको टोलटोलमा गई प्रचार गर्न पनि निर्देशन दिएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप