आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तह निर्वाचन : भक्तपुरमा कुन दलको अवस्था कस्तो ?

बुधबार, ०९ चैत २०७८, ०६ : ०८
बुधबार, ०९ चैत २०७८

भक्तपुर । आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचनका लागि अन्य जिल्लामा जस्तै भक्तपुरमा पनि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटेका छन् । भक्तपुरमा नेकपा एमाले, नेपाली काँग्रेस, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी, राप्रपा नेपाललगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणामअनुसार भक्तपुरमा एमाले पहिलो, काँग्रेस दोस्रो र नेमकिपा तेस्रो शक्तिका रुपमा देखिन्छन् । त्यसैले आसन्न निर्वाचनमा एमालेलाई आफ्नो वर्चश्व जोगाउनुपर्ने चुनौती छ भने काँग्रेस लगायतका दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् ।

चाँगुनारायण नगरपालिका

२०७४ मा सम्पन्न निर्वाचनमा चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये एमाले र काँग्रेस ४/४ वडामा विजयी भएका थिए भने एउटा वडामा नेमकिपाका उम्मेदवारले जितेका थिए । मेयर पदमा भने एमालेले बाजी मारेको थियो । मेयरमा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र ८ हजार ५ सय १२ मतका साथ विजयी हुँदा काँग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ मत हासिल गरे भने राप्रपाका रविन्द्र प्रताप शाहले ५ हजार १ सय ९८, नेमकिपाका न्हुछेभक्त फोजुले ४ हजार ४ सय ४२ र एकीकृत नेकपा माओवादीका शिवप्रसाद अधिकारीले ७ सय ६ मत ल्याएका थिए ।

भक्तपुर नगरपालिका

यो नगरपालिकामा नेमकिपा बलियो मानिन्छ । यसै नगरको मतको कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक/एक सिट हासिल गरेको छ । अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार बिजयी भएका थिए । नगरप्रमुखमा नेमकिपामा सुनिल प्रजापतिले २५ हजार ७ सय ३० ल्याएर विजयी हुँदा काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५ सय ६०, एमालेका विष्णुप्रसाद सुवाले ४ हजार २ सय १८ मत ल्याएका थिए । यहाँ नेकपा माओवादी केन्द्रका सत्यलाल मुलले २ हजार ३ सय १३ मत ल्याएका थिए ।

सूर्यविनायक नगरपालिका

२०७४ सालको निर्वाचनमा सूर्यविनायक नगरपालिकामा १० वडामध्ये ७ वडामा एमालेका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा काँग्रेसले जितेको थियो । नगरप्रमुखमा एमालेका उम्मेदवार बासुदेव थापाले १२ हजार १ सय ३५ मत ल्याएर जित हासिल गर्दा काँग्रेसका विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत ल्याएका थिए ।

यस्तै, नेमकिपाकी उम्मेदवार मनशोभा सुवालले २ हजार २ सय ८०, राप्रपाका प्रविण शर्मा ढुंगेलले २ हजार १ सय ६९ र नेकपा माओवादीका जीवन तलले १ हजार ३ सय ८४ मत ल्याएका थिए ।

मध्यपुरथिमी नगरपालिका

२०७४ सालको निर्वाचनमा ९ वटा वडा रहेको यस नगरपालिकामा ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए । स्वतन्त्र, एमाले र नेमकिपाले १/१ वडा जितेका थिए ।

नगरप्रमुखमा एमालेका मदन सुन्दर (जुगुलु) श्रेष्ठले १४ हजार मत ल्याएर विजयी हुँदा काँग्रेसका अष्टकुमार कवेले १० हजार ८ सय ४६ मत हासिल गरेका थिए । यस्तै, नेकपा माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ हजार २ सय ३२ मत ल्याएकी थिइन् । यो नगरमा एमाले र नेमकिपाबीच तालमेल भएको थियो ।

काँग्रेसका उम्मेदवारले भने पार्टीको अन्तरघातको कारण आफू पराजय हुनु परेको बताएका थिए । नगरउपप्रमुखमा भने काँग्रेसकी अन्जनादेवी मधीकर्मीले जित हासिल गरेकी थिइन् ।

सहज छैन एमालेलाई

अघिल्लो निर्वाचनमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बहुमत सहित जितेको एमालेलाई आउँदो निर्वाचन त्यति सहज देखिएको छैन । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन ।

एमाले विभाजन भएर बनेको दल नेकपा एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ । नेकपा एकीकृत समाजवादीमा एमालेकै पूर्व कार्यकर्ता रहेका कारण पनि सो पार्टीले एमालेकै मत खोस्ने निश्चित छ । यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आँकलन गरिएको छ ।

काँग्रेसलाई घात र एमसीसीको त्रास

संसदबाट एमसीसी पास गर्न भूमिका खेलेको भन्दै काँग्रेसका कतिपय समर्थक रुष्ट देखिन्छन् । पार्टीको निर्णयविरुद्ध उनीहरु खुलेर बोल्न नसके पनि चुनावमा त्यसको असर देखिने धेरैको आँकलन छ ।

काँग्रेसमा अन्तरघात पनि पुरानै रोगका रुपमा देखिन्छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत वडा तथा नगर समितिका अधिवेशनको हिसाबकिताब बाँकी रहेको भन्दै केहीले नेताले स्थानीय तहको निर्वाचनलाई बदला लिने अवसरका रुपमा प्रयोग गर्न चाहेका छन् ।

३६४ दिन काँग्रेस बन्ने तर, मतदानको दिन अर्को पार्टीलाई सघाउने प्रवृत्ति कायम रहेमा पार्टीका उम्मेदवार जिताउन सकस हुने कतिपय काँग्रेस नेता बताउँछन् । राप्रपासँग मिलेर उपनिर्वाचन जितेकाले पनि चाँगुनारायण नगरमा राप्रपालाई मिलाउन काँग्रेसका लागि ठुलो चुनौती देखिन्छ ।

नेमकिपालाई भक्तपुर नगरमा ढुक्क

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) भक्तपुर नगरमा जित्नेमा ढुक्क देखिन्छ । विगतका निर्वाचनमा भने भक्तपुर जिल्लामा राम्रै उपस्थिति जनाएको यो पार्टीले अघिल्लो निर्वाचनमा चाँगुनारायण र मध्यपुरमा १/१ वडामात्रै जितेको थियो । भक्तपुरमा १० वटै वडामा जितेको यो पार्टी अन्य नगरमा भने तेस्रो शक्तिको रुपमा देखिन्छ ।

माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी जनाधार बनाउँदै

एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ । पार्टी विभाजनका समयमा भक्तपुरका निर्वाचित जनप्रतिनिधिमध्ये एक जना प्रदेश सांसद र एक जना वडा सदस्यले मात्र एमाले छाडेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।

नेकपा माओवादी केन्द्र भक्तपुरमा विगतदेखि नै सक्रिय भए पनि निर्वाचनमा भने जित हासिल गर्न सकिरहेको छैन । यस पटक गठबन्धन गरेर भए पनि केही सिट जित्ने दाउमा माओवादी केन्द्रका नेताहरु लागिपरेका छन् ।

राप्रपाको बलियो आधार क्षेत्र नै चाँगुनारायण नगरपालिका हो । विगतका निर्वाचनमा पनि केही वडामा प्रतिस्पर्धामा देखिएकाले राप्रपा यो पटक इतिहास रच्ने दाउमा छ । तर, कमल थापा नेतृत्वमा पार्टी विभाजन भएका कारण राप्रपाले पनि कुनै चमत्कार गर्नेमा आशंका देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप