शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरो नीतिमा माओवादी : एकल र तालमेलको रणनीति सँगसँगै !

बिहीबार, १० चैत २०७८, १५ : ३३
बिहीबार, १० चैत २०७८

नेकपा माओवादी केन्द्रले भौगोलिक र गैरभौगोलिक गरी सवै  प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रीत राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । फागुन चौथो सातामा बागमती प्रदेशबाट सुरु भएको सो पार्टीको प्रदेशस्तरीय प्रशिक्षण चैत ९ मा प्रवास समन्वय समितिमार्फत समापन भएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । ढकालका अनुसार सातै प्रदेशमा अध्यक्ष प्रचण्डले दिएको प्रशिक्षणले माओवादी नेता कार्यकर्तामा नयाँ उर्जा प्रदान गरेको छ भने निर्वाचन नतिजामा उल्लेख्य सुधार हुने आँकलन पार्टीको छ ।

‘केन्द्रबाट भएको प्रदेशस्तरीय प्रशिक्षण सकिएपछि अब प्रदेश, जिल्ला गाउँ, वडा र टोलसम्म आआफ्नै ढंगले पार्टी कमिटीले चुनावी अभियानलाई जारी राख्नेछन्’, मुख्यसचिव ढकालले रातोपाटीसँग भने, ‘माओवादीले चुनावका लागि एकल तयारीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

त्यसो त माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नै स्थानीय तहको चुनावमा माओवादी पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको भन्दै आफ्नै बलमा एकल ढंगले चुनाव लड्ने तयारीमा लाग्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिइसकेका छन् । साथै उनले माओवादीले लिएको नीति, विचार र सिद्धान्तप्रति पछिल्लो समय व्यापक आकर्षण बढेर पार्टी प्रवेश गर्ने लहर नै चलेकाले पहिलो पार्टी बन्न सकिन्छ भनेर ढुक्कका साथ अघि बढ्न निर्देशन समेत दिएका छन् ।

‘शान्ति प्रक्रियापछि २०६४ सालमा पनि माओवादीले जित्छ भनेर भन्न  सकेका थिएनन् । पुराना भनेका ठूला राजनीतिक दलले त ५ सिट आउँछ होला भनेर हेप्थे’, अध्यक्षले प्रशिक्षण र अन्तरक्रियाहरूमा विगतमा माओवादीप्रति अन्य दलले गर्ने व्यवहारको अनुभव सुनाएका थिए, ‘तर त्यसबेला जनताले हामीलाई बहुमत दिएर देखाइदिए । अहिले हामी स्थानीय निर्वाचनमा जाँदैछौ । देशभरीको स्थिति हेर्दा हामी पहिलो पार्टी बन्ने सम्भावनातिर अगाडि बढिसकेका छौं । त्यहीअनुसार तपाईंहरु पार्टीको निर्देशनअनुसार आआफ्नो क्षेत्रमा निर्वाचन जित्ने तयारीमा लाग्नुस् ।’

प्रशिक्षण क्रममा अध्यक्ष प्रचण्डले सवै लागि परे ०६४ को अवस्थामा पार्टीलाई पुर्याउन कुनै कठिनाइ नरहेको समेत बताउने गरेका छन् । उनले भनेजस्तै माओवादी नेता देव गुरुङ पनि अव सवै पार्टी कमिटीका नेताहरु पार्टीको निर्देशनअनुसार आफ्ना मुद्दा र एजेण्डासहित जनतामाझ पुग्ने र पार्टीलाई श्रेष्ठता हासिल गर्नतर्फ लाग्ने बताउँछन् ।

‘पार्टीका नीति निर्णयलाई जनतामाझ लगेर बुझाउने हाम्रो उद्देश्य हो, त्यही उद्देश्यअनुसार एकरूपताका साथ सिंगो पार्टी लाग्नेछ । महाधिवेशनपछि प्रदेशस्तरीय प्रशिक्षणसम्म आउँदा त्यो विषयमा पार्टी एक हदसम्म सफल पनि भएको छ,’ नेता गुरुङको भनाइ छ । उनले अहिलेसम्म चुनावी तालमेलबारे ठोस निर्णय भई नसकेकाले एकल तयारीलाई तीव्रता दिएको पनि बताए ।

‘अहिलेसम्म हामी एकल तयारीमै गइरहेका छौ । तर अरु घटकहरुले सहकार्य गरौं भने भने त्यसमा पनि हामी खुला छौं,’, सम्भावित चुनावी तालमेलबारे गुरुङको भनाइ छ ।

पहिलो प्राथमिकता पाँच दल, नभए विकल्प : शर्मा

माओवादी केन्द्रीय सदस्य हिमाल शर्मा महाधिवेशनपछि प्रदेशस्तरीय प्रशिक्षणसम्म आइपुग्दा माओवादीको पार्टी कमिटी चुस्त, दुरुस्त भएर आएको बताउँछन् । ‘पहिलाको तुलनामा माओवादी केन्द्रको संगठन संस्थागत र व्यवस्थित हुन पुगेको छ । यसले गर्दा अघिल्लो चुनावको तुलनामा यो चुनावमा हाम्रो पार्टी धेरै सिन्सियर भएको छ,’, शर्माको भनाइ छ । पार्टीले अवलम्बन गरेको नीति, विचार र सिद्धान्तले नेता कार्यकर्ताहरूको मनोवल उठ्न पुगेको भन्दै शर्माले आगामी निर्वाचन परिणामको हिसावले पनि ७४ को भन्दा धेरै राम्रो पोजिसनमा रहेको दावी गर्छन् ।

‘तैपनि हामी एकल तयारीकै हिसाबमा चुनावमा लागेका छौ । जितिएला हारिएला एउटा कुरा भयो, यो चुनावमा पहिलाको भन्दा स्थानीय तहमा दोव्वर गर्छौं भन्नेमा हामी विश्वस्त छौं,’, शर्माले चुनाव जित्ने आधारबारे खुलाउँदै भने, ‘हाम्रो संगठन विस्तारको दायरा र नेता कार्यकर्ताको सक्रियता धेरै बढेको छ । यस क्रममा माओवादीले पहिला थोरै मतले हारेका स्थानीय तहहरूलाई व्यवस्थित र सुदृढ गरेका छौं ।’ उनले अघिल्लो निर्वाचनमा दोस्रो भएका स्थानमा पहिलो हुने प्रयासहरु भएको र अव उम्मेदवार तय गर्ने कुरामा पनि ख्याल गर्ने नीति लिएको बताए । ‘व्यवस्थापकीय विषयमा पनि सचेत छौं । हामी एकल हिसाबमै पनि अघि बढ्न सक्छौं भनेर तयारी गरेका छौं । यद्यपी तालमेलको नीति पनि खुला नै छ’, शर्माको भनाइ छ । उनले तालमेलका लागि पहिलो प्राथमिकता ५ दलीय गठबन्धनमै हुने भन्दै  यदि त्यो नभए सत्ता गठबन्धनबाहेकका अन्य दलहरुसँग पनि तालमेलका लागि बाटो खोल्नुपर्छ भन्ने कार्यकर्ताको आवाज रहेको बताए ।

‘यो आवाज नेतृत्वसमक्ष पुगेको छ । किनभने अहिलेको गठबन्धनको कुरा केन्द्रीय लेबलबाटै विधि बनाएर गर्नुपर्छ, जानुपर्छ तर त्यसो हुन नसकेको खण्डमा अर्थात् अहिलेको गठबन्धनमा तालमेलका लागि कम्फरटेवल भएन भने तल अन्य दलसँग पनि तालमेलका लागि छुट दिनुपर्छ भन्ने मेरो पनि धारणा छ’, शर्माले रातोपाटीसँग भने, ‘अघिल्लो स्थानीय निर्वाचनमा तालमेलको कुरा आमरुपमा खुला थिएन, नेताहरुले एकाध जिल्लामा गर्नु अर्को कुरा होे ।’

प्रदेशस्तरीय प्रशिक्षणमा अध्यक्षले दिएको प्रशिक्षणबाट राष्ट्रिय महाधिवेशनले लिएको नीति, विचार र भावको सञ्चार भएको माओवादीको निश्कर्ष छ । ‘अव हामी जाने बाटो शान्तिपूर्ण तरिका र प्रतिस्पर्धाको माध्यमबाटै श्रेष्ठता हासिल गर्दै अघि जाने मुख्य उदेश्य हो भन्नेमा हामी प्रस्ट भएका छौं, महाधिवेशनले लिएको नीति विचार र सिद्धान्त तलैसम्म सञ्चार भएको छ’, शर्माले प्रदेशस्तरीय प्रशिक्षणको प्रभाव र सन्देशबारे खुलाउँदै भने, ‘त्यसकारण माओवादी आफ्नै खुट्टामा उभिन्छ र उभिन सक्छ भन्ने सन्देश प्रवाह भएको छ । यी कारणले चुनावमा पार्टीको रिजल्टमा सकारात्मक परिवर्तन र परिणाममुखी हुन्छ भन्नेमा दुविधामा छैनौं, जसको आधार जनताको विश्वास र कार्यकर्ताहरूको मनोवल बढ्नु नै हो ।’

सत्ता गठबन्धनमा ढिलाई

यता चुनावको मिति नजिकिदै गर्दा निर्वाचनका लागि सत्ता साझेदार ५ दलबीच चुनावी तालमेल हुने/नहुने अझै निश्चित भइसकेको छैन । यद्यपी सत्ता गठबन्धन चुनावी तालमेलबारे चाँडो निर्णयमा पुग्नुपर्ने काँग्रेस बाहेकका दलहरुको जोड रहँदै आएको छ । शीर्ष नेताबीचको छलफलमा काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारबाट सुरु हुने पार्टी केन्द्रीय समिति बैठकमार्फत् तालमेलबारे ठोस निर्णयमा पुग्न सकिने बताउँदै आएका छन् । काँग्रेसको मुुल नेतृत्व चुनावी तालमेलको विपक्षमा नभएपनि केही नेता कार्यकर्ताले तालमेलविनै स्थानीय तह निर्वाचनमा जानुपर्ने आवाज उठाएकाले नेतृत्वलाई यसबारे तत्काल निर्णय गर्न असहज भैरहेको नेताहरुको भनाइ छ ।

तालमेलबारे काँग्रेसले निर्णय गर्न ढिलाई गरेपनि सवै दलले चुनावी तयारीलाई भने तीव्रता दिएका छन् । काँग्रेस, एमाले, माओवादी, नेकपा समाजवादी र जनता समाजवादीदेखि अन्य सवै दल चुनावी तयारीमा होमिइसकेका छन् । काँग्रेस एक महिने अभियानमा छ भने एमाले केन्द्रीय समितिमार्फत् चुनावकेन्द्रीत रणनीति बनाएर चुनावमा होमिदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप