बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

हेटौंडा उपमहानगरपालिकाका मेयरको ४ वर्ष : कागजमै सीमित बन्यो घोषणापत्र

शुक्रबार, ११ चैत २०७८, १६ : २३
शुक्रबार, ११ चैत २०७८

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेविरुद्ध नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन थियो । गठबन्धनका बीच एक्लै चुनावमा होमिएको एमाले हेटौंडामा बलियो साबित भयो । संगठन र कार्यकर्ताको भरमा एक्लै चुनावमा होमिएका एमालेका उम्मेदवारहरू गठबन्धनका उम्मेदवारलाई पराजित गर्न सफल भए ।

हेटौंडा उपमहानगरपालिकाको नेतृत्व २०७४ को निर्वाचनबाट एमालेको हातमा पुग्यो । हेटौंडाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवारले सफलता पाए । एमालेका उम्मेदवारहरुले उपमहानगर प्रमुख, उपप्रमुख र १२ वटा वडा अध्यक्ष पदमा जित हात पारे ।

हेटौंडाको मेयरमा गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका आनन्दराम पराजुलीलाई हराउँदै एमालेका हरिवहादुर महतले चुनाव जिते भने उपमेयरमा एमालेकी मीनाकुमारी लामाले माओवादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै जित हासिल गरिन् ।

२०४९ र २०५४ सालको स्थानीय चुनावमा २ पटक तत्कालीन हेटौंडा नगरपालिकाको उपमेयर निर्वाचित भएका महत २०७४ सालको स्थानीय चुनावमा काँग्रेस–माओवादी गठबन्धनका साझा उम्मेदवारलाई हराएर एमालेबाट निर्वाचित भएका थिए । पञ्चायतकालको नगर पञ्चायत चुनावमा वडाध्यक्षसमेत जितेका उनी आफूलाई राजनीतिकर्मीभन्दा पनि समाजसेवी भन्न रुचाउँछन् ।

यस्तो रह्यो मेयर महतको कार्यकाल

मेयर हरिबहादुर महतको नेतृत्वमा हटौंडामा विकासका कामले गति लिएको एमाले नेताहरुको दाबी छ । महतको कार्यकालमा हेटौंडाले काँचुली फेरेको उनीहरु बताउँछन् । तर, मेयर महतले आफ्नो कार्यकालमा बृहत योजना भने ल्याउन सकेनन् । उनले साना विकासे योजनाहरुमा काम गरे पनि हेटौंडाले सदैव सम्झना लायक बृहत योजना भने ल्याउन सकेनन् ।

उनको घोषणापत्र अनुसार काम भएको भए हेटौंडामा विकासको क्षेत्रमा कायापलट हुने थियो । तर, ५ वर्षे कार्यकालको अन्त्यसम्म आइपुग्दा पनि घोषणापत्र अनुसारका काम भने हुन सकेनन् । विकासका नाममा केही भित्री सडकमा स्ल्याव ढलान भएका छन् तर, सेवा प्रवाह, ठुला योजना, रोजगारीको अवस्था र जनताले स्वास्थ्य सुरक्षाको अनुभूति हुने गरी काम हुन सकेको छैन ।

जनताको आर्थिक तथा सामाजिक विकासमा पनि मेयर महतको ५ वर्षको कार्यकालले छुन सकेन । आर्थिक उपार्जनको लागि हेटौंडाका जनताहरु वैदेशिक रोजगारीमै जानुपर्ने अवस्था छ । रोजगारीको अवसर निर्माणतर्फ मेयर महतको प्राथमिकता कम देखिएको छ ।

उनको घोषणा पत्रमा रोजगारीको अवसर सिर्जना, आर्थिक समृद्धि, बृहत योजनाको कार्यान्वयन जस्ता विषय समेटिएको थियो । तर, ५ वर्षसम्म उनले आफ्नै घोषणापत्रमा समेटिएका योजनामासमेत काम गर्न नसक्दा उनको चुनावी घोषणापत्र कागजमै सीमित बनेको छ ।

यस्तो थियो उनको चुनावी घोषणापत्र

२०७४ को स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले हेटौंडाका विभिन्न क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र तयार पारेको थियो । त्यसैको आधारमा हेटौंडा उपमहानपरपालिकाको मेयरमा महत विजयी भएका थिए ।

पार्टीले तयार पारेको घोषणापत्रमा उल्लेख्य योजना समेटिएका थिए । श्रमको सम्मान र श्रमिकमैत्री नगरको स्थापना, श्रमजीवी वर्गको प्रतिनिधित्व र पहुँचमा विस्तारजस्ता योजना उनको चुनावी घोषणापत्रमा समेटिएका थिए ।

सुनिश्चितता, विकास निर्माणका लागि आवश्यक जनशक्तिको व्यवस्थापनका लागि नीजि क्षेत्रसँगको सहकार्यमा प्राविधिक शिक्षालयको स्थापना र युवालाई रोजगारीको अवसर प्रदान, नगर क्षेत्रका सार्वजनिक अतिक्रमित जमिनलाई  छुट्याइने, सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण गर्ने उनको घोषणा थियो ।

बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान, हेटौंडाका विभिन्न क्षेत्र समेटेर चक्रपथ निर्माणको योजना, कर्रा कोरिडोर निर्माण, अत्याधुनिक बस स्टेशन तथा टर्मिनल भवन निर्माण, सुविधा सम्पन्न सपिङ कम्प्लेक्स तथा सभागृह निर्माण, कृषि प्रयोगशाला स्थापना, सिंचाई प्रणालीमा सुधार गर्दै डिप बोरिङ, लिफ्ट प्रणालीको विकास, नियमित पशु स्वास्थ्य शिविर, कृषि प्रदर्शनी, कृषि बजारीकरण तथा भण्डारणको व्यवस्था, पशु तथा बाली बिमा गर्ने, रासायनिक मलको उचित व्यवस्थापन, कृषि उपज थोक बजार निर्माणका योजना मेयर महतको चुनावी नारा थिए ।

हेटौंडा बजार क्षेत्रको सडकलाई विस्तार गरेर ८ लेन बनाउने पनि उनको चुनावी घोषणा थियो । यसका साथै स्वरोगजारका लागि वर्षमा २ पटक मेलाको आयोजना, हेटौंडालाई डिजिटल बनाउँदै स्मार्ट सिटीको रुपमा विकास गर्ने, विश्वको जुनसुकै कुनाबाट हेटौंडाको सेवा प्राप्तिका लागि ई–गभर्नेन्स, ई–कमर्श, ई–मेडिसिन, ई–टुरिजम, ई–एग्रिकल्चर, ई–विजनेश कार्यक्रम कार्यान्वयन गर्ने, एकीकृत अटो भिलेज स्थापना, बजार क्षेत्रको पार्किङ व्यवस्थापनका लागि ट्राफिक लाइटको प्रयोगसहित अन्य कामहरु गरिने, फोहोर व्यवस्थापन तथा त्यसका लागि नयाँ स्थानको छनौट र फोहोरबाट ऊर्जा शक्ति उत्पादनजस्ता योजना उनको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै रुग्ण उद्योग सञ्चालनका लागि विशेष नीति तर्जुमा, खेतीयोग्य जमिनमा भइरहेको प्लटिङको नियन्त्रण गरी उचित व्यवस्थापन, विद्युतीय ऊर्जा उत्पादनमा जोड दिने लगायतका योजना उनको चुनावी घोषणापत्रमा उल्लेख थियो ।

 भौतिक पूर्वाधार विकासको काम देखिनेगरी

मेयर महतको नेतृत्व अवधिमा हेटौंडामा थोरबहुत भौतिक पूर्वाधार विकासको काम भने भएको देखिन्छ । करिब पाँच वर्षको अवधिमा हेटौंडा उपमहानगरपालिकाको क्षेत्रमा १२८ किलोमिटर कच्ची सडक स्तरोन्नति तथा स्ल्याव ढलान गरिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले सो अवधिमा विभिन्न वडाको १ हजार ४८ स्थानका सडक स्तरोन्नति गर्दै स्ल्याव ढलान गरेको हो । उक्त कार्यका लागिमात्र उपमहानगरपालिकाले ५ वर्षको अवधिमा कुल १ अर्ब २२ करोड ५७ लाख ३४ हजार रुपैयाँ खर्च गरेको छ ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाका १७ स्थानमा २ किलोमिटर ६७१ मिटर सडक कालोपत्रे गरिएको छ । उपमहानगरपालिकाका १९ वटै वडामा १७ स्थानमा ३ करोड १६ लाख ३६ हजार रुपैयाँ खर्च गरेर कालोपत्रे गरेको हो ।

त्यस्तै, उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा मात्र हेटौंडाका विभिन्न वडामा ३० किलोमिटर कच्ची सडक कालोपत्रे गर्ने काम गरिरहेको छ । 

उपमहानगरपालिकाको योजना महाशाखाका अनुसार उपमहानगरपालिका क्षेत्रका ९९ स्थानमा ८४ किलोमिटर ९०६ मिटर सडक मर्मतको काम गरिएको छ । उपमहानगरले पाँच वर्षको अवधिमा सडक मर्मतमा मात्र कुल ११ करोड ९७ लाख ४९ हजार रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै सेवा प्रवाह, सामाजिक विकास तथा स्वास्थ्य सुरक्षाको क्षेत्रमा भने खासै सुधार भने भएको छैन । कर्रा कोरिडोर निर्माण, चक्रपथ निर्माण, सभाहल निर्माण, पार्किङ तथा ट्राफिक व्यवस्थापन, बहुउद्देश्यीय व्यापारिक भवन, बसपार्कको टर्मिनल भवन निर्माण लगायत योजनाहरु हालै सुरु भएका छन् । उनको कार्यकालमा ती योजनाहरु सम्पन्न हुनेपर्ने थियो । तर, समयमै काम सुरु नगर्न ती योजनाहरु मेयर महतको कार्यकालको अन्तिम समयमा शिलान्यास तथा सुरुवात गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप